अव्यवस्थित जीवनशैली, तनाव आदिले ग्यास्ट्रिक गराउँछ । निद्रा नियमित नहुँदा पनि ग्यास्ट्रिक हुन सक्छ । बिहान–बिहान टन्नै पानी पिउने बानी कतिपयमा हुन्छ, जो गलत छ । त्यस्तै, पेट खाली हुँदा ग्यास बन्छ, केही न केही खाइरहनुपर्छ भन्ने भ्रम पनि कतिपयलाई छ । कतिपय खाना खाएलगत्तै सवारीसाधन प्रयोग गरी काममा हिँड्ने, गर्छन् । यी क्रियाकलापले ग्यास्ट्रिक गराउन सक्छ ।
रोकथाम : पानी बिस्तारै–बिस्तारै तिर्खा लागेका वेला पिउनुपर्छ अर्थात् आवश्यकताअनुसार पानी पिउनु राम्रो हो । शरीरको आवश्यकताभन्दा बढी पानी पिउँदा उल्टै समस्या देखिन सक्छ ।
खाना पनि आवश्यकताभन्दा धेरै लिनुहुँदैन । भोक लागेका वेला खाना खानु तथा खानासँगै थोरै पानी लिनु राम्रो हुन्छ । खानेबित्तिकै लामो समय हिँड्नु स्वास्थ्यका लागि राम्रो होइन । खानेबित्तिकै किलोमिटरको सोचाइमा हिँड्नु, तनावमा रहनु, दुव्र्यसन गर्नु आदि धेरै कारण वात प्रकोप हुन्छ, जुन ग्यास्ट्राइटिसजस्ता रोगहरूको उत्पत्तिमा प्रमुख कर्ता हुन् । आयुर्वेदमा खाना खाएपछि धेरैमा सय पाइलासम्म हिँड्न निर्देश गरिएको छ, साथै राजावत आसन अर्थात् आराम गर्नुपर्छ । झन्डै आधा घण्टा आराम गरेर त्यसपछि मात्रै काममा जानु राम्रो हो ।
घरेलु औषधि ः खाना खानुभन्दा पहिले सुप खाँदा खानाप्रति रुचि बढ्छ । खानामा थोरै हिङ प्रयोग गर्न सकिन्छ । सुठोको प्रयोग गर्दा ग्यास्ट्राइटिसका लागि लाभदायक हुन्छ । यसलाई पानीमा उमालेर पनि खान सकिन्छ ।
गाईको शुद्ध घिउ तताएर (न थोरै तातो, न चिसो) एक चम्चा खानामा हालेर खाँदा राम्रो हो । ज्वानोले पनि ग्यास्ट्रिक कम गर्छ । दाललाई जिरा वा ज्वानोले झानेर खाँदा उपयोगी हुन्छ ।
व्यक्तिविशेष अनुरूपको आहार सेवन तथा कार्यसम्पादन गर्नु, आवश्यकताअनुसार उचित समयमा दिनचर्याको पालन गर्नु, अधारणीय वेगहरूको धारण नगर्नु आदि जस्ता कुराले पेटसम्बन्धी समस्यालाई निम्त्याउँदैन ।
समयमै ग्यास्ट्राइटिसजस्ता समस्यालाई आयुर्वेद चिकित्साको विभिन्न माध्यमद्वारा समाधान गर्न सकियो भने अन्य समस्याबाट बाँच्न सकिन्छ । अतः खानपान तथा जीवनशैलीसम्बन्धी जिज्ञासामा आयुर्वेदका विज्ञसँग छलफल गर्नु राम्रो हो ।