भैलो खेलेर सङ्कलन गरिएको एक लाख रुपैयाँ क्यान्सर पीडितलाई

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०८१, शनिबार

घोराहीः देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सर पीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका–१० दाङको प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर सङ्कलन गरेको रु एक लाख क्यान्सर पीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो ।

घोराही–१० नारायणपुरकी थापा स्तन क्यान्सर रोगका कारण बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचाररत छन्। बिरामीको उपचारमा सहयोग पुगोस् भनेर भैलोबाट सङ्कलन गरिएको रकम सहयोग गरिएको सो क्लबका अध्यक्ष आशिष पुनले बताए।

भैलोबाट सङ्कलित रकम प्रत्येक वर्ष सामाजिक कार्यमा लगाउने गरेको उनको भनाइ छ । गत वर्ष भैलोबाट सङ्कलन गरिएको रु एक लाख बराबराका सामग्री क्लबले घोराही–१० मा रहेको सेवाघर, वडा नम्बर १६ मा रहेको वृद्धाश्रम र तुलसीपुरमा रहेको मानव सेवाघरलाई सहयोग गरेको थियो।

क्लबले बिरामी थापाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । उहाँको उपचारमा रु ४३ लाख लाग्ने बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण थापाको उपचारमा समस्या भइरहेको क्लबका अध्यक्ष पुनले बताए।

  • २४ कार्तिक २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech