कब्जियतको समस्याले वयस्कलाई मात्र नभई बालबालिकालाई पनि सताउने गर्छ । यदि बच्चाले शौचालयमा गएर लामो समयसम्म बस्छ भने उसलाई दिसा गर्न गाह्रो भइरहेको छ भनी बुझ्नुपर्छ ।
सामान्यतया खानपान नमिल्दा वा फाइबरयुक्त खानेकुराको कमीले बच्चामा कब्जियतको समस्या देखा पर्छ । साथै अक्सर बच्चा नियमित शौच गर्दैनन् वा त्यस्ता काममा अभिभावकले अभ्यस्त गराउँदैन । यसले पनि उनीहरूको पेट सफा हुँदैन, जो कब्जियत बन्न सक्छ ।
बच्चामा कब्जियत
एक वर्षको बच्चाले दिनमा एक वा दुई पटक दिसा पास गर्छ । बच्चाले दिनमा एक पटक पनि दिसा गरेको छैन वा दिसा गर्न कठिनाइ भइरहेको छ वा अत्यधिक दबाब दिनुपर्ने भएमा बच्चालाई कब्जियत भएको हुनसक्छ ।
कहिलेकाहीं यो समस्या यतिसम्म बढ्छ कि बच्चाले पाँचदेखि छ दिनसम्म दिसा गर्दैन । यस्तो अवस्थामा बच्चालाई दिसा पास गर्दा दुखाइ महसुस हुन्छ, त्यसैले बच्चा दिसा पास गर्नबाट बच्न प्रयास गर्न थाल्छ । पेट सफा नहुनुका कारण बालबालिकामा चिडचिडापन र मुड स्विङ हुने गर्छ ।
लगातार कब्जियतको साइड–इफेक्ट
लगातार कब्जियतका कारण मलद्वार (दिसा जम्मा हुने भाग) को आकार बिस्तारै बढ्न थाल्छ, जसकारण आन्द्राको काम कम हुँदै जान्छ । मलद्वार आफ्नो मूल स्थितिमा फर्किन लामो समय लाग्छ, जसले गर्दा बच्चाले असुविधाको सामना गर्नुपर्ने हुनसक्छ ।
कब्जियत हुनुका मुख्य दुई कारण
कब्जियत हुनुमा जीवनशैली र खानपानको मुख्य भूमिका हुन्छ । ९० प्रतिशत बालबालिका खानपान वा जीवनशैलीसँग सम्बन्धित कब्जियतबाट पीडित हुन्छन् । जस्तो कि सही आसनमा शौचालय प्रयोग नगर्ने, धेरै जंकफुड खाने आदि । यसलाई गैरजैविक कब्जियत पनि भनिन्छ ।
रोग वा प्रकृतिसँग सम्बन्धित कारणले पनि बच्चामा कब्जियतको समस्या हुन्छ । १० प्रतिशत बालबालिकामा कब्जियत प्रकृतिका कारण वा ‘सेलियाक’ जस्ता समस्या अर्थात् गहुँबाट एलर्जी, दूधमा एलर्जी, हाइपोथाइराइड वा शारीरिक संरचनाको कुनै समस्याले हुनसक्छ । यसलाई अर्गानिक कब्जियत पनि भनिन्छ ।
किन कब्जियत आम समस्या बन्दैछ ?
जंकफुडको अत्यधिक प्रयोग, परिष्कृत पीठोबाट बनेका खानेकुराको अत्यधिक सेवनले कब्जियतको समस्या निम्ताउँछ । हरियो सागसब्जी र फाइबरयुक्त खानेकुरा नखाने बालबालिकामा पनि यो समस्या निम्तन्छ ।
आजभोलि बालबालिका घर बाहिर खेल्नुको सट्टा घरमै बस्ने र लामो फोन प्रयोग गरेर समय बिताउँछन् । कम शारीरिक व्यायामका कारण आन्द्राको काम सुस्त हुन्छ र कब्जियतको समस्या हुन्छ । आमाबाबु आफैं ढिलो सुत्छन् र ढिलो उठ्छन्, त्यसपछि बच्चा पनि ढिलो उठ्छन् र उनीहरूसँग शौचका लागि पर्याप्त समय हुँदैन र समस्या पैदा हुन्छ ।
धेरै पटक बच्चाले स्कुलमा शौचालय जानबाट बच्न दिसा रोक्छन् जसले पनि कब्जियत निम्त्याउन सक्छ ।
निदान र रोकथामका विधि
बालबालिकामा फलफूल र तरकारी बढी खाने बानीको विकास गर्नुपर्छ । विशेषगरी हरियो तरकारी जस्तै पालुङ्गो, मेथी, बन्दा, काउली, काँक्रो, हरियो मटर आदि । मौसमी फलफूल पनि नियमित खानुपर्छ ।
यदि बच्चालाई कब्जियतको गुनासो छ भने, खराब खानपानको बानीलाई बिस्तारै परिवर्तन गर्नुपर्छ । पिज्जा, चाउचाउ, बर्गर, पास्ता, मःम जस्ता खानेकुरा दिनुअघि बच्चालाई एक कचौरा सलाद, फलफूल वा स्मूदी खुवाउनुपर्छ । यसो गर्दा उसले फास्टफुड कम खान्छ र शरीरमा फाइबर पनि पाउँछ ।
यदि बच्चाले धेरै दूध पिउँछ र ठोस खानेकुरा कम खान्छ भने उसको आहारमा दूध घटाएर सलाद र ठोस खाना बढाउनुपर्छ । भातसँगै बराबर मात्रामा तरकारी, दाल र सलाद पनि खुवाउनुपर्छ ।
चिसो पेय पदार्थ, बिस्कुट, चकलेट आदि थोरै मात्रामा खान दिनुपर्छ, किनकि यसले कब्जियतको समस्या बढाउन सक्छ । बच्चाले दैनिक एकदेखि दुई लिटर पानी पिउनुपर्छ । तरल खानेकुरा जस्तै तरल पदार्थको सुप, कागती पानी आहारमा दिनुपर्छ ।
बच्चाको बानी सुधार्न अभिभावकले आफैंलाई परिवर्तन गर्नुपर्छ । बच्चालाई फलफूल र सलाद खुवाउन चाहनुहुन्छ भने बच्चासँग बसेर आफूले पनि खानुपर्छ । बच्चालाई बिहान एक गिलास मनतातो पानी पिउन सिकाउन चाहनुहुन्छ भने आफैं पिउनुपर्छ । मोबाइलबाट टाढा रहन सिकाउने हो भने आफूले पनि मोबाइल चलाउनु हुँदैन ।
‘छिटो गर, विद्यालय जान ढिलो भयो’, अभिभावकहरूले आफ्ना बच्चालाई प्रायः शौचालयबाट बाहिर आउन आग्रह गर्छन् । यसले बच्चालाई असहज बनाउँछ । यसबाट बच्न बच्चा बिहान उठ्ने समय र विद्यालय जाने समयबीच एक घण्टाको अन्तर राख्नुपर्छ । यसबाट बच्चाले १० देखि १५ मिनेट ट्वाइलेटमा बिताउन पाउँछन् । ट्वाइलेट सिट प्रयोग गर्ने तालिम तीन वर्षपछि दिनुपर्छ ।