जाडो मौसम सुरु भएसँगै बिहानबेलुकी चिसो बढेको छ। चिसो बढ्ने क्रम दिनप्रतिदिन बढ्दै छ। यस्तो वातावरणमा शरीरको ताप घट्छ ।कहिलेकाहीँ शरीरलाई बढेको चिसोलाई शरीर अनुकुल बनाउन समय लाग्न सक्छ, जसले गर्दा विभिन्न स्वास्थ्य समस्या बढ्न सक्छ ।
जाडो मौसममा मानिसहरू आराम गर्न र आफ्नो शरीरलाई न्यानो राख्न घरभित्रै बस्न रुचाउँछन् । जसले गर्दा शारीरिक गतिविधि कम हुने र आवश्यक पर्ने व्यायाम गरिँदैन। शरीर निष्क्रिय भएका कारण पनि विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छन् ।
रोगको हकमा जाडो मौसम कठोर मौसमको रुपमा लिइन्छ । दीर्घ रोग भएका, वृद्धवृद्धा र बालबालिकालाई पनि चिसो मौसमले सताउँछ । उनीहरुको यो मौसममा विशेष हेरचाह भएन भने जाडोकै कारण ज्यान समेत जाने जोखिम नआउला भन्न सकिन्न।
कतिपयको थाहै नपाई मृत्युसमेत हुन सक्छ । सबैभन्दा बढी बाथ रोग, मुटुजन्य रोग, श्वास-प्रश्वास र छालामा आउने समस्याले यो समय बढी सताउँछ ।
के कस्ता स्वास्थ्य समस्या देखिन्छ ?
मौसमी रुघाखोकी
जाडोयाममा देखिने मुख्य समस्या मध्ये एक हो, रुघाखोकी । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । सिजनल भाइरसका कारण जाडो मौसममा रुघाखोकीका बिरामी अत्याधिक बढ्ने गरेको पाइन्छ ।
किनभने जाडोमा इन्फ्लुएन्जाका कीटाणु र भाइरसहरू बढी सक्रिय हुन्छन् । जसका कारण प्रतिरोधात्मक कम भएका, बालबालिका, वृद्ध र चिसोमा काम गर्नेलाई रुघाखोकी लाग्ने सम्भावना रहन्छ ।
दम
जाडो मौसममा धेरैमा दम बढेको महसुस भएको हुन सक्छ । यस्तोमा चिसो र सुख्खा हावाले मुख हुँदै फोक्सोमा जाने वायुमार्गलाई कस्न थाल्छ र श्वासप्रश्वासलाई अझै खराब बनाउँछ ।
निमोनिया
यो मौसममा खास गरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ ।
फोक्सोमा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ ।
छाला सुख्खा हुने
चिसो समयमा सामना गर्ने सबैभन्दा आम समस्यामध्ये एक छाला चिलाउने र सुख्खा हुने पनि हो । चिसोमा कम आद्रताको कारणQ छाला चिलाउन र सुख्खा हुन थाल्छ ।
जोर्नी दुखाई
चिसो मौसममा जोर्नीको दुखाईबाट धेरै मानिसहरू पीडित हुन्छन् । यसबाट राहत पाउनको लागि सबैभन्दा पहिले आफ्नो शरीर र खुट्टालाई न्यानो राख्नुपर्छ ।
साइनसाइटिस
जाडोमा पिनास अर्थात साइनसाइटिसको समस्याले सताउँछ। पिनास भइराख्नेहरुमा चिसोले टाउको दुख्ने, रुघाखोकी लागिरहने हुन सक्छ।
यो समस्या त्यतिखेर हुन्छ जब घरको झ्याल ढोका बन्द भई गुम्म पारेर राखिन्छ। यस्तोमा कुनै उचित भेन्टिलेसन हुँदैन ।
टन्सिलाइटिस
टन्सिल पनि जाडोमा निम्तिने समस्या हो । चिसोका कारण टन्सिलको समस्या बढ्न सक्छ ।
हृदयघात
जाडोमा हृदयघातको जोखिम पनि बढ्छ । विशेषत मुटु तथा उच्च रक्तचाप भएकाहरुमा तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ ।
यही जोखिमका कारण विज्ञहरूले मोटपन भएका र वृद्धवृद्धालाई जाडो मौसममा मर्निङ वाक गर्न सुझाव दिँदैनन् ।
कसरी बच्ने ?
—चिसोबाट बच्न अनावश्यक काम बाहेक अन्य बेला घरबाट बाहिर ननिस्कन र निस्कनुपरेमा न्यानो लुगा लगाएर हिँड्नुपर्छ ।
—मौसम परिवर्तन हुने बित्तिकै शरीरले तापक्रम समायोजन गर्न नसक्ने भएकाले जाडोमा अत्याधिक चिसो वा तातो स्थानमा बस्नु हुँदैन ।
—एसीमा बसेर बाहिर निस्किदा शरीरले बाहिरको चिसो मौसमसँग समायोजन गर्न नसक्ने भएकोले धेरै तापक्रममा बस्नु हुँदैन ।
—फुस्रो छालाबाट बच्न हरेक रात सुत्नुअघि मोस्चराइजर वा नरिवलको तेल लगाउनुपर्छ ।
—जाडोमा चिसो हुने र पानी धेरै खाएमा पिसाब बढी आउने हुँदा कतिपयले पानी कम पिउने गर्छन् । जुन गलत हो । जुनसुकै मौसम होस् पानी प्रशस्त पिउनुपर्छ ।
—जाडोमा छातीसम्बन्धी समस्या देखिन सक्छ । त्यसैले विशेषगरी, मोटरसाइकल, स्कुटर चलाउनेहरूलाई सिधा छातीमा असर गर्ने हुँदा छाती बचाउन चेस्ट गार्ड र हावा नछिर्ने, ज्याकेटको प्रयोग गर्नुपर्छ ।
—बालबालिका र ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बिहान-बेलुका विशेष ध्यान दिनुपर्छ ।
—कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण जाडोसँग सम्बन्धित विभिन्न रोगले आक्रमण गर्छ ।
—सन्तुलित र स्वस्थ खानेकुरा खाएर प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ । सन्तुलित खानाले मानिसलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ ।
—जाडो याममा बढी एलर्जी हुन्छ । त्यसैले, धूलो,धूवाँमा हिँड्दा मात्रै होइन अरू बेला पनि मास्क लगाउनुपर्छ ।
—बिहानीको घाममा बस्नु एकदमै राम्रो हुन्छ । बिहानको घाममा भिटामिन डी पाउनुको साथै चिसो लाग्न दिंदैन। हाडजोर्नीको स्वास्थ्यलाई राम्रो बनाउँछ।
—जाडोयाममा इन्फ्लुएन्जा र खोप लगाएर इन्फ्लुएन्जा र निमोनियाको जोखिमबाट बच्न सकिन्छ ।