डा. कनोडियाको नेतृत्वमा भोलिदेखि नेपालगन्जमा बैकुण्ठधाम आध्यात्मिक महोत्सव, तयारी पूरा

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०८१, बुधबार

नेपालगन्जः नेपालगन्जमा भोलिदेखि बैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु हुने भएको छ । बैकुण्ठधाम आध्यात्मिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव आयोजक मूल समितिका संयोजक डा.सुरेश कुमार कनोडियाले जानकारी दिए । कार्तिक ३० गतेसम्म चल्ने महोत्सवको उद्घाटन अघि महोत्सवस्थल रामलिलाबाट विहान भव्य कलासयात्रा निकालिनेछ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लामो समयसम्म व्यवस्थापकीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका डा. कनोडियाको नेतृत्वमा बैकुण्ठधाम आध्यात्मिक महोत्सव हुन लागेको हो । बाँके र यस आसपासका नागरिकबाट वर्षौदेखि भोग्दै आएको दाहासंस्कार गर्दा भोग्नुपरेको समस्या र दाहसंस्कारमा सहभागिहरुले ब्यहोर्नुपरेको दुःखलाई मध्यनजर गर्दै परिकल्पना गरिएको बैकुण्ठधाम सिधनियाघाटको योजनालाई सार्थक बनाउन बैकुण्ठधाम आध्यात्मिक महोत्सव आयोजना गरिएको डा.कनोडियाले बताए ।

महोत्सवलाई व्यवस्थित बनाउन सबै वर्ग, क्षेत्र, धर्म र समुदायलाई समेटेर दुई हजार बढी सदस्य रहेको मूल समिति र त्यसअन्तर्गत रहनेगरी एक सय १० बढी उपसमितिहरु गठन गरिएको संयोजक डा.कनोडियाले बताए । डुडुवा गाउँपालिका–५ सिधनियाघाटमा प्रस्ताव गरिएको बैकुण्ठधाम सिधनियाघाटको प्रसारप्रसार तथा धाम निर्माणलाई सबैको संलग्नता प्रदान गर्न बाचन शिरोमणी पं दीनबन्धु पोख्रेलको प्रमुख बाचन सहित उहाँको संगीतमय टोलिबाट १० दिनसम्म नेपालगन्जको रामलिला मैदानमा भागवत प्रवचन हुनेछ ।

महोत्सव तथा भागवत बाचनका बीचमा इच्छुक भक्तजनहरुबाट ब्रतबन्ध, चौरासीपुजा, तुलादान, गोप्यदान, रुद्री पूजन जस्ता अनुष्ठानहरु गर्ने गरी व्यवस्था मिलाइएको छ । पण्डित पोख्रेलले पूर्वीय संस्कार र विज्ञानलाई जोडेर संगीतमय बाचन गर्ने र सबै धर्मलाई समेट्ने बताए । महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन महोत्सवस्थललाई पूर्णरुपमा सिसि क्यामेरा जडान गरिएका छन् भने खानेपानी, शौचालय, बिश्राम स्थलसहित प्रसाद वितरण, व्यवस्थित बसाई र वाटरप्रुफ पाण्डालको व्यवस्था गरिएको छ ।

महोत्सवमा दान गर्न चाहने इच्छुक दाताहरुलाई मर्यादा अनुसार रथारोहणदेखि विशेष सम्मान प्रदान गरिने भएको छ । दानकर्ताको नाम बैकुण्ठमधामको शिलालेखमा लिपिबद्ध गरि दानकर्ताहरुको योगदानमा स्मरणीय बनाइने छ । महोत्सवको तयारीकै क्रममा दाताहरुबाट दान प्राप्त हुनेक्रम पनि सुरु भइसकेको छ । अहिलेसम्म करिव ५० लाख संकलन भइसकेको छ । दानलाई पारदर्शी बनाउन क्युआर, नगदी रसिद र बैंक खातामा सिधै जम्मा हुने व्यवस्था गरिएको छ ।

  • २१ कार्तिक २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech