गर्भ बसेको पहिलो महिना गर्भवती महिलाका लागि अनौठौं र नयाँ अनुभव हुने समय हो । गर्भमा सन्तान छ भन्ने थाहा भएपछि महिला भावनात्मक रूपमा पनि कमजोर महसुस गर्न थाल्छन । उनीहरु स-साना कुरालाई समेत गम्भीर रुपले सोच्न थाल्छन् । मनमा अनेक विचार आउँछन् । सुरुको एक महिनामा गर्भवती महिलाले केही लक्षण अनुभव गर्छन् ।
मुडमा परिवर्तन
गर्भावस्था सुरु भएपछि हर्मोनको स्तर नाटकीय ढंगले उच्च हुन्छ । जसले कहिले अन्य समयभन्दा अत्यधिक भावुक, कुनैबेला अति उत्साहित, त कहिले निराश बनाउँछ ।
वाकवाकी लाग्नु
हर्मोनकै कारण खाना खानेबित्तिकै वा खाइसकेपछि वाकवाकी लाग्न सक्छ । यस्तोमा अत्यधिक फाइबर र दैनिक हल्का व्यायाम गर्दा ठीक हुन्छ ।
महिनावारीको जस्तो पेट दुखाइ
केही महिलाले यो समयमा महिनावारीको जस्तो पेट, कम्मरको दुखाइ अनुभव गर्न सक्छिन् । दुखाइ बढ्दै गयो भने चिकित्सकलाई भेट्नुपर्छ ।
दाग देखा पर्न सक्छ
यदि पेन्टीमा रगतको दाग जस्तो लागेको छ भने त्यो भ्रूण विकास हुन लागेको रक्तस्राव हुनसक्छ ।
पटक–पटक पिसाब लाग्नु
गर्भवती भएपछि शरीरमा रगतको मात्रा बढ्न थाल्छ । यसको मतलब मिर्गौलालाई तरल पदार्थ प्रशोधन गर्न थप समय लाग्छ । यो सिलसिला समयसँगै कम हुन्छ ।
स्तन दुख्नु
यो समयमा स्तन संवेदनशील हुन्छ । र, हल्का दुखेको वा सुन्निएको अनुभव हु्न्छ ।
थकान
अन्य समयभन्दा यो समयमा बढी थकाइ लाग्न सक्छ । कारण भनेको प्रोजेस्टोरोन हर्मोनको परिवर्तन हो ।
खानेकुरामा मन नलाग्नु
गर्भवती हुने बित्तिकै कुनै महिलालाई मनपर्ने खानेकुरा पनि मन नपर्न सक्छ । तर सबैको हकमा त्यस्तो नहुनसक्छ ।
सन्तानको विकास कति हुन्छ ?
गर्भधारण गर्ने बित्तिकै निषेचन भएको अण्डा डिम्बाहिनी नलीसम्म पुग्छ । अण्डा कोषिकाहरुमा विभाजित हुन्छ, जसमा केही भ्रुण बन्छन् । केही प्लासेन्टा बन्छ । प्लासेन्टाले बच्चाको लागि पोषण तयार गर्छ ।
यी सावधानी अपनाउनुहोस्
गर्भावस्थाको पहिलो महिनामा स्वस्थ गर्भावस्थाका लागि केही सावधानी अपनाउनु महत्वपूर्ण छ ।
– चिकित्सकको परामर्श लिई फोलिक एसिड र अन्य भिटामिन खानुपर्छ ।
– गर्भावस्थामा आराम होइन, सक्रिय रहनुपर्छ । यसो भन्दैमा भारी काम गर्ने, भारी सामान उचाल्नु कार्य भने गर्नुहुँदैन ।
– व्यक्तिगत स्वास्थ्य र गर्भावस्थामा पर्ने आवश्यकताबारे स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्नुपर्छ ।
चेक लिस्ट
– पहिलो महिना सही चिकित्सक र अस्पताल छनोट गर्ने बेला हो । किनकि पहिलो महिनादेखि नै नियमित चेकजाँच तथा चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ ।
– चिकित्सकलाई पोषणको सूची माग्न सकिन्छ । चिकित्सकले के खाने ? के नखाने ? कति मात्रा खाने सूची दिन्छ्न ।