भाइमसला भएका पौष्टिक आहार कति र कसरी खाने ?

    • योगिता सापकोटा / पोषणविद्

  • १५ कार्तिक २०८१, बिहीबार

भाइमसला भनेपछि यसमा विभिन्न खानेकुरा समावेश हुन्छ । भाइमसलामा सुकेका फलहरू जस्तै– काजु, पिस्ता, ओखर, बदाम, पान, कटुस दाना, सुकमेल, मखाना, ल्वाङ, दालचिनी, नरिवल र छोकडा हुन्छ । यी फलहरूमा प्रोटिन हुने भएकाले खाएपछि मानिसलाई शक्ति प्रदान गर्न मद्दत गर्छ । यो सन्तुलित र असन्तुलित दुई किसिमको हुन्छ । असन्तुलित दानाले विशेषगरी रक्तचाप, मुटु र पेटसम्बन्धीको स्वास्थ्यका लागि राम्रो गर्छ । विभिन्न अनुसन्धानका अनुसार दाना खाएमा दिमागको स्वास्थ्यलाई ठीक राख्छ ।

नेपालमै उत्पादन हुन्छ भाइमसलाका फल

नेपालमा ओखर, चुच्चे ओखर (पिकानट), आल्मोन्ड, कटुस, नरिवल, सुपारी, पेस्ता र काजु व्यावसायिक रूपमा खेती हुन्छ । तर तिहारमा धेरैजसो हामीले विदेशबाट आयात गर्छाैँ । नेपालमै उत्पादन भएका खानेकुराको प्रयोग भएको छैन । हामीलाई यसको महत्त्व थाहा नभएको देखिन्छ । यही कारणले नेपालमै पाइने खानेकुरा महँगाे भएको हुन्छ । महँगाे भएपछि खानेकुरा मूल्यवान् भएको हामीलाई लाग्छ । भाइमसलामा पौष्टिक आहार हुने भएकाले यही अवधारणाबाट तिहारमा भाइलाई दिने गरिएको हो । यसको महत्त्व स्वास्थ्यको दृष्टिकोणले पनि छ । हामीलाई महँगाे खानेकुरा किन्यो भने राम्रो हुन्छ भन्ने छ । तर महँगाे किन भयो त ? हामीले नेपालमै उत्पादन गर्न नसकेर हो । हाम्रै घर वरिपरि थुप्रै पाैष्टिक आहार पाइने फल फलिरहेका हुन्छन् । त्यसलाई अलिकति मेहनत गरेर सुकाएर बाह्रमासे खानयोग्य बनाउन सकिन्छ । तर हामी पसलमा गएर महँगाे मूल्यमा किन्छौँ ।

भाइमसलामा पाउने सबै खानेकुरा नेपालमा नपाए पनि केही फलहरू नेपालमै फल्छ । काठमाण्डौमै ओखर फलेको देखिन्छ । यहीँ फलेका फललाई हामीले प्रवर्द्धन गर्न सकिरहेका छैनौँ । मुस्ताङमा स्याउ धेरै फलेर कुहिएको समाचार सुनिन्छ । त्यो स्याउलाई सुकाएर ल्याउन सकियो भने भाइमसलामा प्रयोग गर्न सकिन्छ । हाम्रै गाउँघरमा फल्ने नरिवल, आलस र तिलबाट लड्डु अथवा मिठाई बनाएर प्रयोग गर्न सकिन्छ । पछिल्लो समय भाइमसलामा चकलेट, रक्सी पनि प्रयोग भएको पाइन्छ जसले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर गरिरहेको हुन्छ ।

भाइमसला भएका पौष्टिक आहार कति र कसरी खाने ?

भाइमसलामा दानेदार फलहरू हुन्छन् । ठ्याक्कै यति नै खाने भन्ने हुँदैन । १५ ग्राम दानेदार फलले ८० देखि एक सय क्यालोरी, केही मात्रामा फ्याट र प्रोटिन दिन्छ । अब अत्यधिक खायौँ भने अनावश्यक तौल बढ्न सक्छ । खाना राम्रोसँग नपच्ने हुन सक्छ । त्यसैले दानेदार फल दिनमा १५ देखि ३० ग्राम खाँदा स्वास्थ्यका लागि ठीक हुन्छ । दानेदार फल कति खाइन्छ थाहै पाइन्नँ, खाँदाखाँदै धेरै खाइन्छ । जे कुरा पनि धेरै खाएपछि त्यसको नकारात्मक असर पर्न जान्छ । फल खाँदा यही समयमा खाने भन्ने छैन तर सन्तुलित मात्रामा खानुपर्छ । खाँदा दानेदार फल मात्र खानु हुँदैन ।

दानेदार फल चिल्लो पदार्थको स्रोत हो । जस्तै– घिउमा दानेदार फल हालेर खाने होइन । जुन खानेकुरामा चिल्लो पदार्थ कम हुन्छ त्यसमा मात्रै यसको प्रयोग गर्नुपर्छ । भाइमसलामा हुने दानेदार फल फरक–फरक ठाउँबाट आएको हुन्छ । यो कतिको सफा छ वा छैन भन्ने थाहा हुनुपर्छ । त्यसैले खुला रूपमा पाइने यस्ता दानेदार फल सफा पानीले धोएर खानुपर्छ । सफा खालको प्याकेजिङ, ढुसी नलागेको, बनाएको मिति सकिएको छ वा छैन हेरेर खानुपर्छ । दानेदार फललाई भिजाएर खाने गरिन्छ । दानेदार फलमा विरोधी पोषण कारक अर्थात् फाइटेट हुन्छ । फाइटेटले शरीरमा भएका अन्य पोषक तत्त्वलाई सोस्छ र बाधा पुर्‍याउँछ । फललाई पानीमा भिजाउँदा फाइटेट भन्ने घटक निस्किन्छ । भिजाएको पानी फालेपछि फाइटेट फलको बोक्रामा टासिन्छ । बोक्रा निकालेर फल खायो भने आइरन र अन्य पोषण तत्त्वलाई बाधा पुर्‍याउँदैन ।

तिहारका बेला खानेकुरामा ध्यान दिनुपर्ने कुरा

चाडपर्व भव्य रूपमा मनाउँदै गर्दा खानेकुरामा अनियन्त्रित हुनुहुँदैन । यो बेला खानेकुरा नियन्त्रण गरेर नखाँदा पछिसम्म दुःख दिन सक्छ । जुन चाडपर्व आए पनि सबै पोषण तत्त्व भएका खानेकुरा सन्तुलित रूपमा खानुपर्छ । जस्तै– कार्बोहाइड्रेटका लागि अन्न समावेश गर्ने, भिटामिनका लागि फलफूल, प्रोटिनका लागि दाल, गेडागुडी, दूध, माछामासु सबै कुराको संयोजन गरेर मात्र खानुपर्छ । तिहारका बेलमा विशेषगरी पिठो, तेल र चिनी मिश्रित परिकार धेरै हुने गर्छ । जस्तै– सेल रोटी, अर्सा रोटी, मिठाईका परिकार बढी प्रयोग हुन्छ । यी परिकारमा चिनीको मात्रा धेरै हुन्छ । तिहारका परिकारमा पाइने सरल कार्बोहाइड्रेट खाएपछि शरीरले सजिलै सोस्छ जसले गर्दा मोटाउने समस्या हुन सक्छ । मिठाई बनाउँदा मैदा, डाल्डा घिउ र रङको प्रयोग भएको हुन्छ । यसले मुटुको स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

नेपालमा खानेकुरामा कति रङ प्रयोग गरेको हुन्छ भनेर खासै जाँच भएको हुँदैन । त्यसैले हामी आफैँले खानेकुरामा ध्यान दिनुपर्छ । तिहारमा चिल्लो, गुलियो खानै हुँदैन भन्ने होइन तर सबै खानेकुरा मिलाएर खाँदा शरीरलाई पनि फाइदा होस् चाडपर्व पनि उल्लासमय होस् भन्ने हो । यो समयमा विशेषगरी दीर्घरोग भएकाले ध्यान दिनुपर्छ । दीर्घरोगीले बढी खाँदा आजको भोलि नै असर देखिन सक्छ । कुनै खानेकुरा बढी खायो, त्यसलाई सन्तुलन राख्न अर्को खानेकुरा खाने गरिन्छ । यो आम बुझाइ पनि हो । तर यस्तो गर्नु हुँदैन । कसैले बोसो खाएपछि घिउ खाने अनि कागती खाएर त्यसलाई पचाउँछ भन्ने सुनिन्छ यस्तो गर्नुहुँदैन । यसमा कुनै आधार पनि भेटिएको छैन । सन्तुलित खानलाई सकेसम्म खानामा विविधता हुनुपर्छ ।

  • १५ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech