नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले डेंगी रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा पछिल्लो समय डेंगी संक्रमण झन बढ्न थालेपछि स्वास्थ्य महाशाखाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।
वडा नम्बर ४ स्थित बसपार्क क्षेत्रबाट लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक सरोज रिमालले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले अभियानको सुरुवात गरेका हुन् । नगर प्रमुख विष्टले डेंगीबाट बच्न सचेतनासंगै वरिपरिको वातावरण सफा राख्नुपर्नेमा जोड दिँदै लार्भा नष्ट गर्ने अभियानलाई २३ वटै वडामा सञ्चालन गरिने बताए ।
नगर प्रमुख विष्टले बसपार्क क्षेत्रमा मानिसहरुको आवातजावत बढी हुने र टायरहरुमा लामखुट्टेका लार्भा हुर्किने भएका कारण बसपार्क क्षेत्रबाट अभियान थालिएको बताए । वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले वडा नम्बर ४ पहिलेदेखि नै डेंगीको ‘हटस्पट’का रुपमा रहेकाले सचेतनासंगै लार्भा नष्ट गर्ने अभियान थालिएको बताए ।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले नेपालगञ्ज उपमहानगरपालिकामा तीन महिनाको अवधिमा १९५ जना संक्रमित भइसकेको जानकारी गराउँदै डेंगी नियन्त्रण अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए ।
अभियान सुरुवात कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेकी किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायत जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, नगर प्रहरीको उपस्थिति थियो ।
लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण गत वर्ष भन्दा यो वर्ष देशभरी घटेको तथ्यांकले देखाए पनि बाँकेमा भने अस्वभाविक ढंगले बढेको किटजन्य रोग फोकल पर्सन गौतमले जानकारी दिइन् । बाँकेमा ३४८ जना संक्रमित भएका छन् । किटजन्य रोग फोकल पर्सन गौतमका अनुसार स्थानीय लामखुट्टेले टोकेर डेंगी संक्रमण समुदायस्तरमै फैलिएकाले बाँकेमा अवस्था भयावह बनेको हो ।
गएका वर्षहरुमा मानिसहरु वाहिर जिल्ला गएका बेला लामखुट्टेले टोक्ने र डेंगी संक्रमण लिएर बाँके आउने गरेका थिए । उनीहरु बाँकेकै भए पनि वाहिर जिल्लामा गएका बेला लामखुट्टेले टोक्दा डेंगी संक्रमण हुने गरेको थियो । तर, यो पटक भने स्थानीय लामखट्टेले नै टोकेर संक्रमण फैलिएकाले देशभर संक्रमणदर घटे पनि बाँकेमा भने बढ्दै गएको हो ।