ढकमक फूलेका सयपत्री फूलमा पाइन्छ औषधीय गुण

    • डा. राजेन्द्र ज्ञवाली/वनस्पति विज्ञ

  • ११ कार्तिक २०८१, आईतवार

दशैं-तिहारमा अधिकांश नेपालीको घरआँगनमा फुल्ने फूल हो सयपत्री । चाडपर्व, पूजापाठ तथा कुनै उत्सवमा सजाउन होस् वा अन्य कार्यमै किन नहोस् सयपत्रीको धेरै प्रयोग हुन्छ । तिहारमा त यसको माग झनै उच्च हुन्छ । सयपत्री फूल हेर्दा सुन्दर मात्रै हैन, धेरै औषधीय गुणले समेत भरिपूर्ण हुन्छ ।

सयपत्री फूल एस्ट्रेयसी वनस्पति परिवारमा पर्छ र विश्वभर यसका १५३ प्रजाति पाइन्छन् । सदियौंदेखि सजावट उद्देश्यका लागि लगाउँदै आइएको सयपत्री फूलमा एउटा विशेष तत्त्व हुन्छ जसलाई लुटिन भनिन्छ । लुटिन भन्ने तत्त्व एन्टिअक्सिडेन्ट हो । सयपत्री फूलमा डिटोक्सिफाइङ र एन्टिअक्सिडेन्ट गुण पनि  हुन्छ ।

सयपत्री फूलमा पोलिफेनोल समूहका लाभकारी रासायनिक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छन् । साथै यसमा थियोफिन नामक रासायनिक तत्त्व पाइने भएकाले फूलको रसलाई जैविक कीटनाशक औषधिको रुपमा पनि प्रयोग गरिन्छ भन्ने कुरा पिइयस विश्वविद्यालय भारतका वैज्ञानिकहरूले जनाएका छन् ।

यस फूलमा पाइने अर्को महत्वपूर्ण तत्त्व लुटिन क्यारोटिनोइड अत्यन्त लाभकारी एन्टिअक्सिडेन्ट हो । यो तत्व एक पौष्टिक पदार्थको रूपमा, न्युरोलोजिकल विकार, आँखासम्बन्धी रोग आदिमा लाभदायक हुन्छ । यसले छालाको सुरक्षा गर्नुका साथै घामको नकारात्मक असरबाट समेत जोगाउँछ । आँखाको ज्योतिका लागि  पनि सयपत्री फूल राम्रो मानिन्छ । महत्वपूर्ण औषधीय गुण पाइने भएकाले यो फूललाई नेपालीहरूले घरेलु औषधिको रुपमा प्रयोग गर्दै आएको पाइन्छ ।

छालाको घाउ निको पार्न उपयोगी

सयपत्री फूलको प्रयोग छालाको समस्या जस्तै- जलेको, घाउ र दागको उपचारमा प्रयोग गरिन्छ । लुटिन तत्त्वले छाला चिलाउने, सुन्निएको,  एलर्जी,  बिमिरा आउने, सुक्खा हुने समस्याहरुमा लाभदायक मानिन्छ । सयपत्री फूलको लेप बनाएर छालामा लगाउँदा यसले सुन्निएको, रातोपन, संवेदनशीलता, सुक्खापन कम गर्छ । यसको लेप प्रभावित भागमा लगाउनाले घाउ र जलनको समस्याबाट मुक्ति मिल्छ । सयपत्री फूलबाट बनेको लेप घाउ, सुक्खा छाला, घामले डढेको छाला निको पार्न प्रयोग गर्न सकिन्छ । साथै यसको प्रयोगले छालासम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

शरीरलाई डिटोक्सिफिकेसन गर्छ

सयपत्रीको फूलले शरीरमा जम्मा भएका सबै विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरको डिटक्सिफिकेसन प्रक्रियामा मद्दत गर्छ । यो डिटक्सिफिकेसनले हाम्रो पाचन प्रणालीलाई फाइदा पुर्‍याउनुका साथै लिम्फ नोड्स दुखाइ र सुन्निने प्रक्रिया कम गर्न मद्दत गरेर लिम्फेटिक प्रणालीलाई पनि फाइदा पुर्‍याउँछ ।

क्यान्सरको लक्षण कम गर्छ

सयपत्रीमा पाइने फ्लेभोनोइड्सले कोलोन क्यान्सर, ल्युकेमिया र मेलानोमा कोषिकाहरु विरुद्ध साइटोटोक्सिक, एन्टि–इन्फ्लेमेटरी गरेर यसका लक्षणलाई कम गर्न पनि सहयोग गर्छ  भन्ने कुरा हालै स्पेन तथा मेक्सिकोका  अनुसन्धानकर्ताहरुले पुष्टि गरेका छन् ।

एन्टिफङ्गल गुणले भरिपूर्ण

सयपत्री फूलमा हुने एन्टिफङ्गल गुणहरूका कारण योनी सङ्क्रमणको उपचारमा पनि प्रयोग गर्न सकिन्छ । चार हप्ता यस फूलको लेप प्रभावित क्षेत्रमा लगाएमा दुखाइ, चिलाउने, पिसाब गर्दा जलन हुने र सुक्खापन  जस्ता समस्या कम गर्न मद्दत पुग्छ ।

महिनावारी गडबडीमा उपयोगी

सयपत्री फूलले महिला प्रजनन् प्रणालीमा हुने प्रक्रियाको उचित नियमनका लागि फाइदा पुर्‍याउँछ । यो फूलको चिया सेवन गर्दा महिनावारीको दुखाइ र पीडाबाट राहत प्रदान गर्छ । यसको चियाले ग्यास्ट्राइटिस, एसिड रिफ्लक्स र अल्सरको उपचारका साथै पेट वा महिनावारीको क्र्याम्प कम गर्न पनि राहत पुर्‍याउँछ ।

कसरी प्रयोग गर्ने ?  

सयपत्री फूललाई पिसेर लेदो बनाई वा सुकाएर धुलो बनाई चूर्णको रुपमा प्रयोग गर्न सकिन्छ । सयपत्री फूललाई चियाको रुपमा पनि सेवन गर्न सकिन्छ । विदेशमा पनि सयपत्रीको चिया पिउने चलन छ । यसको चिया पिउनाले रोगप्रतिरोधात्मक क्षमता बढ्नुका साथै शरीरमा जम्मा भएका सबै विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरको डिटोक्सिफिकेसन पनि हुन्छ । यसको चिया बनाउन सुकेको फुललाई मनतातो पानीमा १५ देखि २० मिनेटका लागि डुबाएर  राख्ने । त्यसपछि चियाको रूपमा सेवन गर्न सकिन्छ । सयपत्री आधारित जडिबुटी चिया बनाउन स्वादअनुसार मरिच, जेठी मधु, अमला, लगायत अन्य जडिबुटीहरु समेत मिसाएमा अझ प्रभावकारी हुन्छ । जाडो मौसममा छालाको सुरक्षाका लागि सुकेको फूललाई ग्लिसरिनमा डुबाएर एक हप्ता राख्ने र त्यसपछि त्यो ग्लिसरिन छालामा लगाउन सकिन्छ ।

 

  • ११ कार्तिक २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech