बालरोग विशेषज्ञ डा.विष्णु थापाले हाँकेको केयर सिटी हस्पिटल

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०८१, आईतवार

नेपालगन्जः नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्तगर्त नेपालगन्ज उपमहानगरपालिका–१८ भुजईमा छ ‘केयर सिटी हस्पिटल ।’ वि.स २०७८ असोजबाट १५ शैया क्षमताको आफ्नै लगानीमा बालरोग विशेषज्ञ डा.विष्ण थापाले ‘केयर सिटी हस्पिटल’ सञ्चालनमा ल्याएका हुन् । मुलतः सुरुमा शिशुलाई मात्रै उपचार गर्ने लक्ष्यका साथ क्लिनिकका लागि आवश्यक पूर्वाधार बनाएका थिए । तर बिरामीहरुको आवश्यकता र सहजता लागि अन्य सेवाहरुलाई पनि विस्तार गर्दै लगे । र, अहिले केयर सिटी हस्पिटललाई विशिष्टिकृत सेवा दिने हस्पिटलका रुपमा विस्तार गर्दै लगिएको डा.थापा बताउँछन् ।

चौविसैं घण्टा इमरजेन्सी सेवासँगै, फिजिसियन, पेडियाट्रिक, प्रसूति तथा स्त्रीरोग, ल्याव र फार्मेसी सेवा केयर सिटीले प्रवाह गरिरहेको छ । ‘केयर सिटी हस्पिटलमा बाल रोग विशेषज्ञ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ र फिजिसियन सेवा सहितफूल टाइम र पार्ट टाइम गरेर करिब एक दर्जन चिकित्सक कार्यरत छन् उनी भन्छन्–‘ तीमध्ये अधिकांश चिकित्सकहरु विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) तथा भारतको पिजीआई र एम्समा पढेका छन् ।’ करिब ५ करोड लगानीमा सुरु भएको केयर सिटीमा अहिले ३० करोड बढीको लगानी भइसकेको छ । ६ कठ्ठा जग्गामा हस्पिटलका सुविधान सम्पन्न संरचना बनेको छन् । योसँगै एक विघा जग्गा अझै छ ।

अपुग भए त्यसलाई पनि अस्पतालले जोड्न सक्ने आधार छन् । आइसीयू, एनआइसीयू, एचडियूलगायतका सुविधा छ । डिजिटल एक्स रे र भिडियो एक्स रे लगायतका सेवा हस्पिटलले दिइरहेको छ । इन्डोस्कोपीसँगै नाक, कान र घाँटी रोगलाई लक्षित गरी अडियोमेट्री सेवा पनि सुरु भएको छ । भेन्टिलेटर सहितको आइसीयू, ल्याप्रोस्कोपी सेवा पनि तत्काल थप्ने योजना डा.थापाको छ । ‘बिरामीको विश्वास र चाप बढ्दै गएपछि अस्पतालमा विशेषज्ञ चिकित्सकहरुको संख्या र सेवा पनि थपिदै गएको छ,’ डा. थापाले भने–‘राम्रो टिम र लगानी थपेर एक सय बेडको अस्पताल बनाउने लक्ष्यका साथ हामीले तयारी गरिरहेका छौं । ५० वेडका लागि प्रक्रिया अगाडि बढिसकेको छ ।’

ख्यातिप्राप्त मेडिकल कलेजबाट दीक्षित भएर गृहनगरमा फर्किएका डा. थापा नेपालगन्जका उदीयमान बाल रोग विशेषज्ञमा पर्छन् । भन्छन्– ‘हामीले हाम्रो योग्यता र क्षमताले भ्याएसम्म आफ्नै सहरमा योगदान गर्नुपर्छ ।’

नेपालगन्जमा भइरहेको उपचार सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन ब्यवसायिक सोचसँगै अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरुको राम्रो टिम आवश्यक रहेको उनले भनाइ छ । डा. विष्णुले एउटा चिकित्सकका अतिरिक्त टिम लिडरको रुपमा युवा पुस्ताका विशेषज्ञ चिकित्सकहरुको टिम बनाएर उपचार सेवालाई थप प्रभावकारी बनाउन लागिरहेका छन् । अझै पनि नेपालगन्ज लगायत यस क्षेत्रका वासिन्दाहरुमा नेपालगन्जका अस्पतालहरुमा राम्रो उपचार हुँदैन् भन्ने सोच छ । त्यस्तो सोचका पछाडि केही सत्यता पनि होलान् तर पछिल्ला दिनहरुमा नेपालगन्जमा नेपाल र भारतका ख्याति प्राप्त मेडिकल कलेजबाट पढाइ पूरा गरेका दक्ष विशेषज्ञ चिकित्सकहरुको संख्या निकै बढेको छ ।

चिकित्सककै कुरा गर्ने हो भने लखनउ र काठमाडौंकै अस्पतालमा कार्यरत चिकित्सकहरुले नै पढेका कलेजमा पढेका र उनीहरुकै बराबर योग्यता भएका केही चिकित्सकहरु नेपालगन्जमा सेवा दिइरहेका छन् । उनीहरुले नेपालगन्जको स्वास्थ्य उपचार सेवाको गुणस्तरमा सुधार गरिरहेका छन् । आफ्नै सहरका सक्षम चिकित्सकहरुलाई पनि विश्वास नगर्ने मानसिकता पनि क्रमसः बदलिदै जाने विश्वास डा. विष्णुको छ । उनको सोच अन्य अस्पतालका संचालक र क्लिनिसियन भन्दा अलि फरक छ । ‘बिरामीले डाक्टरलाई घण्टौ पर्खनुपर्ने अवस्था हुनु हुँदैन डा. विष्णु भन्छन्–‘अस्पतालवा स्वास्थ्य संस्थामा पुगेको एक घण्टाभित्रै बिरामीले उपचार सेवा पाउनु पर्छ । डाक्टरलाई भेटन नै घण्टौ पर्खनुपर्ने अवस्था हुनु हुँदैन् ।’

यही बाध्यतालाई ध्यान दिएर केयर सिटी हस्पिटलले अस्पतालमा उपचारका लागि पुगेका बिरामीले कुनु नपर्ने गरी प्रतिष्ठित संस्थाबाट जनरल मेडिसिनमा एमडी गरेका डाक्टरलाई फुलटाइम राखेको छ । ख्यातिप्राप्त मेडिकल कलेजबाट दीक्षित भएर गृहनगरमा फर्किएका डा. थापा नेपालगन्जका उदीयमान बाल रोग विशेषज्ञमा पर्छन् । भन्छन्– ‘हामीले हाम्रो योग्यता र क्षमताले भ्याएसम्म आफ्नै सहरमा योगदान गर्नुपर्छ ।’

डा.विष्णु थापा

डा. थापा नेपालगन्जमा जन्मिएका हुन् । नेपालगञ्जको जय बागेश्वरी बोर्डिङ स्कुलबाट एसएलसी गरे । काठमाडौंको ह्वाइट हाउस कलेजबाट प्लस टु गरेका उनले छात्रवृत्तिमा नाम निकालेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएस गर्ने अवसर पाए । सन् २०१० मा एमबीबीएस अध्ययनका लागि उनी धरान पुगे । त्यहाँबाट सन् २०१६ मा उनले एमबीबीएसको अध्ययन पूरा गरे । एमबीबीएस अध्ययन पूरा गरे लगत्तै भारतको ख्यातिप्राप्त मेडिकल कलेज पोस्ट ग्राजुयट इन्स्टिच्युट अफ मेडिकल एजुुकेशन रिसर्च (पिजीआई) चण्ढीगढमा उनले विशेषज्ञता हासिल गर्ने छात्रवृत्ति पाए ।

पिजीआईको छात्रवृत्ति पाएपछि सन् २०१७ मा उनी बाल रोगमा विशेषज्ञता हासिल गर्न चण्ढीगढ गए । त्यहाँबाट उनले सन् २०२० मा बाल रोगमा विशेषज्ञता हासिल गरे । डा. थापाले पढाइ पूरा गर्दा कोभिड—१९ महामारीको जारी थियो । कोभिड—१९ महामारीकाकारण डा. थापा पढाइ पूरा हुना साथ गृहनगर नेपालगन्ज फर्किए । र, नेपालगन्जको भेरी अस्पतालमा बाल रोग विशेषज्ञका रुपमा काम सुरु गरे । करिब एक वर्ष काम गरेपछि डा. थापाले सरकारी अस्पतालको उपचार सेवाका बारेमा राम्रोसँग बुझे ।

भेरीमा अनेकौ समस्याहरु देखेपछि उनी नवजात शिशुलाई गुणस्तरीय उपचार सेवा फरक वातावरणमा दिने सोच बनाउन थाले । त्यही सोचले जन्मियो केयर सिटी हस्पिटल । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी करिव ६० जनाको नेतृत्व डा.थापाले गरिरहेका छन् । दक्ष जनशक्ति, चिकित्सक र उपकरणको अभाव चुनौतिपूर्ण छ । अनियमित विद्युत नियमित सेवा प्रवाहका लागि बाधक बनिरहेको छ । तर पनि उनी गुणस्तरीय सेवा बिरामीको आवश्यकता ठान्दै आफ्ना चुनौतिहरुलाई सम्भावनामा परिणत गर्ने पाइलामा अगाडि बढेका छन् ।

  • ११ कार्तिक २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech