भेरी अस्पतालबाट ५८८ जना एचआइभी संक्रमितले लिइरहेका छन् नियमित औषधि

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०८१, शुक्रबार

नेपालगन्जः भेरी अस्पतालमा रहेको एआरटी युनिटबाट ५८८ जना एचआइभी संक्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । ती मध्ये २९१ पुरुष, २५८ महिला, १५ जना बालक, १४ जना बालिका र १० जना अन्य छन् । त्यसमा नेपालगन्ज उपमहानगरपालिकाका सबैभन्दा बढी ११४ जना छन् भने सबैभन्दा कम जानकीमा १९ जना रहेको एआरटी काउन्सेलर इन्द्र सैनीले बताए । यस्तै कोहलपुरमा ८३, खजुरा ५४, बैजनाथ ४२, नरैनापुर ४१, डुडुवा ३७ र राप्तीसोनारीका ३५ जना छन् । नेपालगन्ज उपमहानगरपालिकामा पनि सबैभन्दा बढी वडा नम्बर ४ मा छन् । एआरटी युनिटका अनुसार हालसम्म १७ सय जनालाई एआरटी सेवा दिइएको छ ।

सन् २००४ मा स्थापना भएको एआरटी युनिटले अहिलेसम्म १९ सय जनाको रोग पहिचान गरेको छ भने २ लाख जनाको एचआइभी परीक्षण गरिएको छ । भेरी अस्पतालका एचआइभी फोकल पर्सन समेत रहेका कन्सल्टेन्ट फिजिसियन डा. संकेत कुमार रिसालले एआरटी सेवा प्रभावकारी देखिएको बताए । डा. रिसालका अनुसार एआरटी सेवा लिइरहेका एचआइभी संक्रमित आमाबुवाबाट जन्मेका सन्तानमा ’पोजिटिभ’ देखिएको छैन । उनले एचआइभी एड्सलाई पनि अन्य रोग सरह नै मानेर चेकजाँच गराउन सचेतना बढाउन आवश्यक रहेकोमा जोड दिए ।

जुनकिरी महिला समूहले शुक्रबार नेपालगन्जमा उपमहानगरपालिकाका जनप्रतिनिधिसंग आयोजना गरेको वैठकमा बोल्दै उपप्रमुख कमरुद्दिन राईले एचआइभी पहिचान, उपचार प्रक्रिया र उपचारमा आमनागरिकको पहुँच वृद्धिका लागि सबैको हातेमालो, सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले नेपालगन्ज उपमहानगरपालिका यसमा गम्भीर र संवेदनशील रहेको उल्लेख गरे । स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले नेपालगन्ज उपमहानगरपालिकाले पनि एचआइभी संक्रमित बालबालिकालाई मासिक ५ हजार रुपैयाँ अनुदान उपलब्ध गराइरहेको बताए ।

वैठकमा जुनकिरी आमा समूहका कार्यक्रम संयोजक रविन्द्र सिंह राठौरले संस्थागत परिचय तथा संस्थाद्वारा संचालित कार्यक्रम, एचआइभी सम्बन्धि सेवा सुविधा, उपचार हेरचाह तथा स्याहारका बारेमा जानकारी गराएका थिए । जुनकिरीले सामुदायिक स्याहार केन्द्रमार्फत २४० जनालाई सेवा दिइरहेको राठौरले बताउनुभयो । ती मध्ये १२४ पुरुष, ११२ महिला र ३ जना तेस्रो लिंगी छन् । यसमा बाँकेका ९४, बर्दियाका ४८ र अरु अन्य जिल्लाका हुन् ।

जुनकिरीले घर भेट कार्यक्रम पनि गर्दै आएको छ । यस्तै ९१७ जनाको एचआइभी जाँच गर्दा ६ जनामा ’पोजिटिभ’ देखिएको छ । कार्यक्रम संयोजक राठौरले एचआइभी संक्रमित बालबालिकाहरुको लागि सामाजिक संरक्षण अनुदान पनि उपलब्ध गराइरहेको जानकारी दिए । मासिक १ हजार रुपैयाँ पाउने गरी मासिक ३४ जनालाई नियमित अनुदान उपलब्ध गराइएको छ । त्यसमा बाँकेका १९ जना छन् । राठौरले एड्स प्रभावितलाई हेर्ने नजर अझै नबदलिएको भन्दै हेला गर्ने प्रवृत्ति कायमै रहेको अनुभव सुनाए । यसमा समाजको दृष्टिकोण बदल्नुपर्नेमा उनको जोड छ ।

  • ९ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech