डाक्टर गोपाल–नीना दम्पतीको उपचार अनुभवः गोपाल बेहोस बनाउँथे, नीना शल्यक्रिया गर्थिन्

    • नवीन गिरी

  • ९ कार्तिक २०८१, शुक्रबार

नेपालगन्जः सत्तरीको दशकको उत्तरार्धमा छन्, डा. गोपाल श्रेष्ठ । श्रीमानको उमेर पछ्याइरहेकी डा. नीना श्रेष्ठ गोपालकै छेउँमा बसिन्, हँसिलो चेहराका साथ । पंक्तिकार, श्रेष्ठ निवासमा पुग्दा श्रीमान श्रीमतीको न्यानो स्वागतसंगै भलाकुसारी अगाडि बढ्यो । ती दिन (विगत) सम्झाउन खोज्दा श्रेष्ठ दम्पत्ति प्रफुल्लित मुद्रामा पंक्तिकारलाई रोमाञ्चित बनाउँदै थिए । भारतको लखनउमा मेडिकल साइन्स पढ्दै गर्दा आफू भन्दा एक ब्याच जुनियरसंग प्रिति गाँसेका डा.गोपालले पछि उनै डा. नीनासंग लगनगाँठो कसे । पाल्पा तानसेनका गोपाल र भारत दिल्लीकी निनाको अन्तरजातीय प्रेम विवाह हो । निनाको जन्म बुवा श्यामसुन्दर पन्त र आमा पदमा पन्तको कोखबाट भयो । ब्राहमण परिवारकी निना र नेवार समुदायका गोपाल दम्पत्ति यो क्षेत्रकै चर्चित र अनुकरणीय चिकित्सक जोडी हुन् । २००३ सालमा बुवा जमुना प्रसाद श्रेष्ठ र आमा नयन कुमारी श्रेष्ठको कोखबाट जन्मिएका गोपालले २०१८ सालमा तानसेनकै जनता विद्यालयबाट एसएलसी गरे । गोपालहरु तीन भाई र एक बहिनी हुन् ।

उनी बन्दिपुरमा हुँदा नै निनासंग विहे भएको थियो । बन्दीपुरमा रहँदा उनीहरुसंग मिठो सम्झना छ । ‘केटी मान्छे पनि डाक्टर हुन्छ र ? भनेर त्यहाँका मान्छे मलाई देखेर छक्क परे’ डा. नीनाले विगत कोट्याउँदै भनिन्–‘केटी डाक्टर देखेपछि उनीहरु छक्क परेका थिए ।’

त्यसपछि २०२० सालमा उनी काठमाण्डौ पढ्न गए । २०२२ सालमा आइएस्सी सकेका गोपालले सरकारको छात्रबृत्तिमा किंग जर्ज मेडिकल कलेज (हालको केजीएमयु) मा एमबीबीएस पढे । लखनउ अध्ययनका ती दिन सम्झँदै श्रेष्ठ दम्पत्तिले आफ्नो जीवनका स्वर्णीम क्षणहरु सिलसिलाबद्ध गरे । गोपाल त्यस कलेजमा सन् १९६६ ब्याचका विद्यार्थी थिए भने निना त्यसको एक बर्ष पछाडि सन् १९६७ को । डा. गोपालले सन् १९७१ (वि.सं.२०२८) मा एमबीबीएस उत्तीर्ण गर्दा डा. नीनाले सन् १९७२ मा पास गरिन् । त्यसपछि सन् १९७४ मा उनीहरुको विहेबारी भयो दिल्लीमा । त्यसअघि छात्रबृत्तिमा पढेको विद्यार्थीले पाँच बर्ष सरकारले पठाएको ठाउँमा काम गर्नुपर्ने भएका कारण उनी पोखरा पुगिसकेका थिए । पोखरापछि डा. गोपाल तनहुँको बन्दिपुर पुगे । उनी बन्दिपुरमा हुँदा नै निनासंग विहे भएको थियो । बन्दीपुरमा रहँदा उनीहरुसंग मिठो सम्झना छ । ‘केटी मान्छे पनि डाक्टर हुन्छ र ? भनेर त्यहाँका मान्छे मलाई देखेर छक्क परे’ डा. नीनाले विगत कोट्याउँदै भनिन्–‘केटी डाक्टर देखेपछि उनीहरु छक्क परेका थिए ।’ नीनाको बोलीमा बोली मिलाउँदै गोपालले थपे–‘यिनीले यति राम्रो नेपाली बोल्न त्यहीँबाट सिकिन्, त्यहाँ एक जना स्विट्जरल्याण्डका नागरिक रेडियोग्राफर थिए उनैबाट नेपाली सिकिन् आज म भन्दा राम्रो र प्रष्ट बोल्छिन् (हाँस्दै…) ।’

डा.गोपाल-डा.नीना दम्पती ।

एक पटक त कस्तोसम्म घटना भएछ भने गर्भवती महिलाको अपरेशन गर्न १६ ग्राम रगत चाहिनेमा जोखिम मोलेर २ ग्राम रगत भएको अवस्थामा पनि अपरेशन गरिछन् । जबकि १० ग्राम भन्दा कम भएको अवस्थामा चिकित्सकले अपरेशन गर्न नै मान्दैनन् । ती गर्भवति र बच्चा दुवैको ज्यान जोगियो ।

गोपालको कुरा नसकिँदै नीनाले फेरि थपिन्–‘म उनलाई अंग्रेजी सिकाउँथे अनि उनी मलाई नेपाली ।’ करीब डेढ घण्टाको बसाइँमा पंक्तिकारले भारतमा जन्मे–हुर्केकी डा. नीनाको नेपाली भाषाको प्रष्टताबारे जिज्ञासा राख्दा श्रेष्ठ दम्पत्तिले बन्दिपुरको बसाइँको स्मरण गरेका थिए । डा. गोपाल फिजिसियन हुन् भने डा. नीना स्त्री रोग विशेषज्ञ हुन् । पोखरा बन्दिपुरपछि डा. गोपालले लमजुङको बेशीसहर र काठमाण्डौमा पनि काम गरे । त्यो बेला मेडिकल अफिसरमा १० जना माग भएकोमा गोपालसहित ८ जनाले मात्र आवेदन दिएको पनि उनी स्मरण गर्छन् । नीनाले नेपालमा पहिलोपटक भने काठमाण्डौस्थित तत्कालीन शान्त वन मिसन अस्पताल (हालको पाटन अस्पताल) मा सन् १९७४ देखि सन् १९७५ सम्म काम गरेकी थिइन् । त्यहाँदेखि नै उनले नेपाली सिक्न थालेको विगत स्मरण गरिन् । पहाडी परिवेशमा जन्मे–हुर्केका गोपालको त्यसपछिको पाइला गर्मीको पर्याय मानिने नेपालगञ्ज सहरतर्फ मोडियो । जतिबेला नेपालगञ्ज आइपुग्न निकै सकस हुन्थ्यो । पूर्व पश्चिम राजमार्ग नै बनेको थिएन । एमडी गरिसकेका डा. गोपाल २०३८ सालमा भेरी अस्पतालमा जागिरेका रुपमा आइपुगे ।

‘नेपालगञ्ज आउन कहाँ सजिलो थियो र त्यतिबेला ?’ विगत खोतल्दै गोपालले भने–‘काठमाण्डौबाट भैरहवा आएँ अनि त्यहाँबाट साथीको जीपमा चढेर नेपाल–इण्डिया बोर्डरै बोर्डर यहाँ आइपुगेको हुँ ।’ सुरु सुरुमा नेपालगञ्जको गर्मीले उनलाई निकै अत्याएछ । तर, नेपालगञ्जको बसाइँमा उनले पूर्णविराम लगाउन सकेनन् । निरन्तर यहीँको माटोमा उनको चिकित्सकीय कर्म अविराम अगाडि बढिरह्यो । त्यसमा श्रीमती डा. नीना पनि सहयात्री नै थिइन् । उनी पनि भेरी अस्पतालमै जागिरे थिइन् । श्रीमान श्रीमतीको सहयात्रा र सहकर्म विरामीको सेवामा समर्पित थियो । उति बेला विहान १० बजे ओपिडी खुल्थ्यो अनि मध्यान्ह १२ बजे बन्द हुन्थ्यो । एक्स–रे भेरीमा हुँदैनथ्यो, भारतको बहराइच पुग्नु पथ्र्यो । स्रोत साधनको अभावका बीच पनि उनीहरु स्तरीय सेवाका लागि प्रतिबद्ध थिए । भेरी अस्पतालमा वि.सं.२०३९ सालमा एक्स–रे हुन थालेपछि केही सहज भएको गोपाल स्मरण गर्छन् ।

छोरा डा.गौरव श्रेष्ठसँग गोपाल-नीना दम्पती ।

त्यतिबेला ओपिडीमा डा. गोपाल, डा. नीना, डा. उषा शाह, डा. अरुण कोइराला थिए । डा. गोपालले मेडिसिन, डा. नीना र डा. उषाले प्रसूति र स्त्री रोग (गाइने) र डा. अरुणले बच्चाहरुको जाँच गर्थे । तर पछि बालरोग विशेषज्ञका रुपमा डा. दुर्गा प्रधान भित्रिए । ‘त्यतिबेला काम गर्न गाह्रो त थिएन तर गर्मी धेरै लाग्थ्यो’ उति बेला काम गर्न कति सहज थियो भन्ने प्रश्नमा श्रेष्ठ दम्पत्तिले विगत स्मरण गर्दै भन्छन् । जनशक्तिको समस्या त्यो बेला यतिसम्म थियो कि सुरुवाती बर्षहरुमा त डा. गोपालले नै एनेस्थेसिया (शल्यक्रिया गर्नु अघि बेहोस बनाउने काम) को काम गर्थे अनि डा. निनाले अपरेशन गरेर बच्चा निकाल्थिन् । गोपाललाई डा. प्रधानले साथ दिन्थे ।

‘जस्तो विरामी आए पनि हेरिन्थ्यो, गाह्रो भएन,’ डा. नीनाले विगत सम्झिन् । भेरी अस्पतालमा रातीको समयमा पहिलोपटक अपरेशन गर्ने पनि नीना नै थिइन् । त्यो बेला डा. उषा विदामा थिइन् । श्रेष्ठ दम्पत्तिले यो काम संगसंगै फत्ते गरेका थिए । एकै रातमा त्यतिबेला तीन वटासम्म अपरेशन गरेको डा. नीना अहिले पनि सम्झन्छिन् । एक पटक त कस्तोसम्म घटना भएछ भने गर्भवती महिलाको अपरेशन गर्न १६ ग्राम रगत चाहिनेमा जोखिम मोलेर २ ग्राम रगत भएको अवस्थामा पनि अपरेशन गरिछन् । जबकि १० ग्राम भन्दा कम भएको अवस्थामा चिकित्सकले अपरेशन गर्न नै मान्दैनन् । ती गर्भवति र बच्चा दुवैको ज्यान जोगियो । त्यो बेला पनि डा. गोपाल र डा. दुर्गाले एनेस्थेसिस्टको काम गरेका थिए ।

डा. गोपालले नेपालगञ्जमा बसेर यतिसम्म पहिचान बनाए कि उबेला यो क्षेत्रका लागि डाक्टर भनेकै गोपाल थिए । मेडिसिन विभाग भएका कारण पनि सुरुमा सबै प्रकृतिका विरामी उनी कहाँ ठोक्किन्थे । एकातिर विशेषज्ञ चिकित्सक निकै कम थिए भने अर्कोतर्फ सबैखाले समस्या लिएर फिजिसियनकहाँ जाने अवस्था (बाध्यता समेत) थियो । अहिले उनी क्लिनिकमा बस्न छाडेको दुई तीन बर्ष भइसक्यो तर आज पर्यन्त पनि उनको नाम लिएर मान्छे आउँछन् । उनलाई भेट्न खोज्छन् । डा. नीना भने अहिले पनि आफ्नो क्लिनिकमा बस्छिन् । गोपालको विँडो भने उनका छोरा ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा. गौरबले थामिरहेका छन् । छोराको काँधमा जिम्मेवारी सुम्पेका छन् ।

भेरीको ओपिडीमा दैनिक सय जना जति विरामी हेरेको उनीहरु सम्झन्छन् । ‘त्यो बेला मलेरिया, जापानिज इन्सेफ्लाइटिस, पेटजन्य रोगहरुको बढी समस्या हुन्थ्यो,’ डा. गोपाल भन्छन् ।

भेरीमा कार्यरत रहँदा बीच बीचमा उनको सरुवा सुर्खेत, महेन्द्रनगर पनि भयो । तर, उनले नेपालगञ्ज छोडेनन् । किन यति धेरै अनुराग त नेपालगञ्जसंग ? श्रेष्ठ दम्पत्ति भन्छन्–‘छोराछोरी लखनउमा पढ्थे, ससुराली पनि त्यतै अनि नेपालगञ्जमा भिजेपछि त अन्त जान मनै लागेन नि ।’ फस्र्ट क्लासको बढुवा छाडे तर डा. गोपालले नेपालगञ्ज छाड्न सकेनन् । भेरीमा काम गर्दागर्दै २०४१-४२ सालतिर श्रेष्ठ दम्पत्तिले सदरलाइनमा निजी क्लिनिक खोलिसकेका थिए । अस्पतालको समय बाहेक बाँकी समय उनीहरुको त्यहीँ वित्थ्यो । विरामीहरुको चाप दिनप्रति दिन बढ्दो थियो । भेरीको ओपिडीमा दैनिक सय जना जति विरामी हेरेको उनीहरु सम्झन्छन् । ‘त्यो बेला मलेरिया, जापानिज इन्सेफ्लाइटिस, पेटजन्य रोगहरुको बढी समस्या हुन्थ्यो,’ डा. गोपाल भन्छन् । उनी केही दिनलाई भेरीको प्रमुख प्रशासकीय जिम्मेवारीमा पनि बसेका थिए । वि.सं. २०४७ सालमा श्रेष्ठ दम्पत्तिले भेरी अस्पतालको जागिर छोडे अनि उनीहरुको पूरा समय क्लिनिकमा वित्न थाल्यो । तर, गज्जबको कुरा उनीहरुको राजीनामा स्वीकृत हुन एक बर्ष लागेछ । डा. अरुण, श्रेष्ठ दम्पत्तिलाई सम्झाउन घरमै आइपुगे । तर, उनीहरु आफ्नो निर्णयबाट टसमस भएनन् । क्लिनिकमा उनीहरुको ब्यस्तता अझै बढ्दै जान थाल्यो । विस्तारै विकासले कोल्टे फेर्दै गर्दा बाटोघाटो, यातायातका साधनको सहजता हुन थालेपछि यो भेगका लागि डा. श्रेष्ठ दम्पत्ति जिउँदा भगवान कहलिँदै गए ।

‘विरामीहरु निको भएपछि खुसी भएर घिउ लिएर भेट्न आउँथे,’ डा. गोपाल ती दिन मानसपटलमा ताजा बनाउँदै भन्छन्–‘कतिपय ठाउँमा शिविर लिएर गएको बेला त मानिसहरु मलाई चेकजाँच गराउन भन्दा पनि हेर्न समेत आएको स्मरण छ ।’ केही भावुक हुँदै उनी अगाडि थप्छन्–‘अहिले पनि मेरै नाम लिएर समेत विरामीहरु आउनुहुन्छ, भेट्न खाज्नुहुन्छ तर अब सेवा गर्न सकिँदैन, छोरोले हेर्छ,’ छेउँमै बसेका छोरा डा. गौरवतिर पुलुक्क हेर्दै गोपालले भने । यौवन, बयश्क र बुढ्यौली अवस्था समेत विरामीको सेवामा समर्पण गरेका श्रेष्ठ दम्पत्ति आफ्नो कर्मबाट सन्तुष्ट छन् । के पाए त यो सेवाबाट ? ‘सबैभन्दा ठूलो कुरा त नाम पाएँ, अनि माया…समाज त्यसपछि आर्थिक पाटो त छँदैछ,’ डा. गोपाल भन्छन् । चिकित्सकीय कर्ममा उनीहरुको एउटै मन्त्र थियो–‘पेसेन्ट फस्र्ट प्रायोरिटी अर्थात पहिलो प्राथमिकता विरामी ।’

डा. गोपाललाई जीवन के हो भनेर सोधिरहँदा उनी जीवन रहस्यमय भएको ठान्छन् । ‘जीवन कहाँ बुझ्न सकिन्छ र ?, जीवन त रहस्यमय छ,’ गोपाल जीवनबारे आफ्नो धारणा सुनाउँछन् । त्यो बेला स्रोतसाधनको कमी भएपनि निर्वाधरुपमा काम गर्न सहज भएको उनको अनुभव छ । अहिले त काम गर्न बस्ने वातावरण नभएको उनको बुझाई छ ।

डा. गोपालले चिकित्सक उत्पादन र स्वास्थ्य सेवा प्रवाहमा यस क्षेत्रकै गौरब नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा करीब १६ बर्ष प्राध्यापन समेत गरे । एमबीबीएस र एमडी धेरै चिकित्सक उत्पादनमा योगदान दिए । करिव ३ वर्ष अघि त्यहाँबाट अवकाश लिए । अहिले उनले आफ्नो क्लिनिकको सम्पूर्ण जिम्मेवारी छोरा गौरबलाई सुम्पेर घरमै ‘विश्राम’ गरिरहेका छन् । पूजापाठमा औधी रुची र अनुराग राख्ने धार्मिक प्रवृत्तिकी निना भने क्लिनिकमा अझै बस्छिन् । भन्छिन्–‘जति सकिन्छ अझै सेवा गर्छु ।’

कुराकानीका दौरान पंक्तिकारले डा. गोपाललाई जीवन के हो भनेर सोधिरहँदा उनी जीवन रहस्यमय भएको ठान्छन् । ‘जीवन कहाँ बुझ्न सकिन्छ र ?, जीवन त रहस्यमय छ,’ गोपाल जीवनबारे आफ्नो धारणा सुनाउँछन् । त्यो बेला स्रोतसाधनको कमी भएपनि निर्वाधरुपमा काम गर्न सहज भएको उनको अनुभव छ । अहिले त काम गर्न बस्ने वातावरण नभएको उनको बुझाई छ । ‘पोलिटिकल इन्फुलुयन्स (राजनीतिक प्रभाव) अहिले धेरै देख्छु,’ डा. गोपाल भन्छन्–‘कर्ममा विश्वास गर्ने इमान्दारहरुका लागि अहिले समय त्यति ठिक देख्दैन ।’

श्रेष्ठ परिवारले जति कमाई गर्दछ, त्यसको दश प्रतिशत सामाजिक सेवामा खर्च गर्ने उद्देश्य राखेर २०७९ सालदेखि ‘गोपाल निना फाउण्डेशन’ क्रियाशील छ । यसको अध्यक्ष डा. गौरब हुन् । परोपकारी कर्ममा यो फाउण्डेशन समर्पित छ ।

सडक, विजुली र पानी भएपछि स्वास्थ्य क्षेत्र आफैं सुध्रिएर जाने उनको तर्क छ । ‘कागजमा बनाइएका योजना खराब छैनन्,’ उनी भन्छन्–‘तर, त्यसको व्यवहारिक कार्यान्वयन पक्ष निकै फितलो छ ।’ सामाजिक सेवा भावले पनि उत्तिकै ओतप्रोत पूरै श्रेष्ठ परिवार चिकित्सकीय कर्ममा तल्लीन छ । छोरी तनुश्री पनि डाक्टर छिन् । उनी टर्की बस्छिन् । छोरा गौरब नेपालगञ्जमै विरामीको सेवामा लागिपरेका छन् । श्रेष्ठ परिवारले जति कमाई गर्दछ, त्यसको दश प्रतिशत सामाजिक सेवामा खर्च गर्ने उद्देश्य राखेर २०७९ सालदेखि ‘गोपाल निना फाउण्डेशन’ क्रियाशील छ । यसको अध्यक्ष डा. गौरब हुन् । परोपकारी कर्ममा यो फाउण्डेशन समर्पित छ ।

यसमार्फत निरन्तर मानवीय सेवाका कामहरु भइरहेका हुन्छन् । ‘सामाजिक उत्तरदायित्व बहन गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट मान्यता छ, त्यसैले यसमार्फत पनि सामाजिक सेवाका कामहरु गरिरहेका छौं,’ डा. गोपाल र डा. नीना भन्छन् । डा. गोपाल नेपाल चिकित्सक संघ (एनएमए) बाँकेको अध्यक्ष समेत भए । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० गणेशमान चोक नजिकै सडकको छेउँ (सुर्खेतरोड) मा क्लिनिक र अलि भित्रपट्टी आवासीय भवन बनाएर बसेको श्रेष्ठ परिवार स्वास्थ्य सेवाको क्षेत्रमा यो भेगकै एक ‘आइकन’ परिवार हो ।

  • ९ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech