नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन्। उनले १६ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका छन्। मन्त्री पौडेलले १६ बुँदे प्रगति विरणमा अन्य विविध कामहरुका विषयमा पनि उल्लेख गरेका छन् ।
मन्त्री पौडेलले पहिलो पटक विषयगत समितिको बैठक राखेको, समायोजनमा रहेको अलमल हटाएको पहिलो प्रगतिका बुँदामा उल्लेख गरेका छन् । यसैगरी, जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास दोस्रो प्रगतिका रुपमा उल्लेख गरिएको छ ।
मन्त्री पौडेलको प्रगति विवरणमा आगामी पुस्ता निरोगी पुस्ताको लक्ष्यमा विभिन्न कामहरु गरिएको उल्लेख छ । यसैगरी, उपचारात्मक सेवा विस्तार र विकासमा विभिन्न कामहरु भएको देखाइएको छ ।
चिकित्सा शिक्षाको खुडकिलोका रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गरिएको, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा चिकित्सा विज्ञान, नर्सिङ र एलाइड साइन्सतर्फ ४०० सिटको पिजी फ्याकल्टी थपिएको, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र रेलन ट्रान्सप्लान्ट मेडिसिन र सर्जरीमा फेलोसीप कार्यक्रम सुरु गरिएको उल्लेख छ ।
मन्त्री पौडेलले विशेषगरी सघन जलन उपचार सेवा निःशुल्क गर्नेदेखि संघीय अस्पतालहरूमा दुई सिफ्ट ओपीडी सेवा विस्तारसम्मका महत्वपूर्ण निर्णय कार्यान्वयनमा ल्याएको बताएका छन् ।
वीर अस्पतालमा १५ शय्याको जलन उपचार वार्ड पुनः सञ्चालनमा ल्याई विपन्नका लागि निःशुल्क सेवा सुरु गरेको छ ।
सातै प्रदेशका प्रमुख अस्पतालमा आर्थिक रूपमा कमजोर नागरिकका लागि कस्मेटिक बाहेकको सघन जलन उपचार निःशुल्क गरिएको मन्त्रीले सार्वजानिक गरेको विवरणमा उल्लेख छ ।
त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नारायणी अस्पताल वीरगञ्ज, कीर्तिपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल नेपालगञ्ज, सुर्खेत प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पताल जलन सेवा विस्तार गरिएको छ ।
समायोजनका क्रममा फाजिलमा परेका र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरूको व्यवस्थापन सुरू गरिएको मन्त्रीले बताए । ‘एम.डी./एम.एस. गरेका स्थानीय तहका चिकित्सकहरूलाई प्रादेशिक अस्पतालहरूमा काममा लगाइएको छ’, मन्त्री पौडेलले भने, ‘सबै संघीय अस्पतालहरूमा दुई सिफ्ट ओपीडी सेवा र टोकन प्रणाली विस्तार गरिएको छ ।’
‘आगामी पुस्ता निरोगी पुस्ता’ अभियान अन्तर्गत जीवनशैली प्रवद्र्धन, क्यान्सर र नसर्ने रोगको स्क्रिनिङ तथा सडक दुर्घटना न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिएको बताए । १०–१४ वर्षका सबै किशोरीहरूलाई निःशुल्क एचपीभी खोप दिने कार्ययोजना तयार पारिएको मन्त्रालयले जनाएको छ ।
सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिएको मन्त्री पौडेलले जानकारी दिए । भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गराउने व्यवस्था मिलाइएको छ ।
हरेक प्रदेशमा कम्तीमा एक अस्पतालबाट मुटु रोग उपचार सेवा सुरु गर्ने योजना अनुरूप मधेश र गण्डकी प्रदेशमा सेवा सुरू भएको उनले बताए ।
संघीय अस्पतालका उपकरणहरूको मर्मतसम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी हालसम्म ४०० भन्दा बढी उपकरणको मर्मत गरिएको उनले बताए ।
यसैगरी, मन्त्रालयको पहलमा यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरका करिब ५२ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई जिल्लाभित्र निःशुल्क यातायात सेवा दिने व्यवस्था गरेको प्रगति विवरणमा उल्लेख छ ।
‘हामीले १६ वटा महत्वपूर्ण क्षेत्रहरूमा योजनाबद्ध रूपमा काम गरेका छौं’, मन्त्री पौडेलले भने, ‘यसले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने विश्वास लिएका छौं ।’