सुशील कोइराला क्यान्सर अस्पताल दरवन्दी विना नै चलेको सुन्दा मुख्यमन्त्री आचार्य आश्चर्य

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०८१, बुधबार

नेपालगन्जः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सहयोगको आश्वसन दिएका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकमात्र क्यान्सर अस्पतालको आज निरीक्षण गर्दै मुख्यमन्त्री आचार्यले संघीय सरकार मातहतको अस्पताल भए पनि प्रदेशले नियमले दिने सहयोग उपलब्ध गराउने आश्वासन समेत दिए ।

प्रदेश सरकारले गर्नसक्ने योजनाहरू लिएर प्रदेश राजधानी आउन आग्रह गर्दै उनले दरबन्दी थप गर्ने विषयमा आफूले संघीय सरकारमा पहल गर्ने बताए । बिना दरबन्दी अस्पताल सञ्चालन भएको प्रति उनले आश्चार्य समेत प्रकट गरे ।

त्यसअघि अस्पतालका कार्यकारी निर्देशक डा प्रकाशप्रसाद साहले विगत नौ वर्षदेखि दरबन्दी बिना काज र दैनिक ज्यालादारी कर्मचारी र चिकित्सकहरूबाट अस्पताल सञ्चालन भइरहेको, अस्पतालको जनशक्तिलाई निजामती कितावखानामा दर्ता नगरिँदा स्वास्थ्यकर्मीहरू टिकाउन असहज बनेको, चिकित्सक तथा नर्सहरूको आवास नहुँदा सेवा प्रभावित भएको जानकारी गराएका थिए । डा.साहले प्रविधि, स्रोत, साधन हुँदाहुँदै पनि जनशक्तिको व्यवस्थापन नहुँदा अस्पताल सञ्चालनमा असहजता उत्पन्न हुँदै आएको समेत गुनासो गरे ।

अस्पताल निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले बिरामीहरूसँग अस्पतालले दिएको सेवा सुविधाका बारेमा जानकारी लिएका थिए । मुख्यमन्त्री आचार्यसँगै लुम्बिनी प्रदेशसभाका सदस्य रत्न खत्री, लुम्बिनी प्रदेशका मुख्यसचिव महादेव पन्थ लगायत उच्च सरकारी अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech