प्युठानः प्युठान जिल्लाको कुल जनसंख्याको ३० प्रशितशत नागरिक मात्र स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । कुल जनसंख्याको ३० प्रतिशत नागरिक मात्र बीमा कार्यक्रममा सहभागी भएर सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालय प्युठानको तथ्याङ्क छ ।
२०७८ को जनगणना अनुसार जिल्लाको कुल जनसंख्या दुई लाख ३२ हजार १९ रहेकोमा हालसम्म ६८ हजार आठ सय ३५ जनाले स्वास्थ्य बीमामा सहभागी भएको दर्ता अधिकारी जेदबहादुर घर्तिमगरले बताए । जिल्लामा २०७५ सालदेखि सुरु गरिएको स्वास्थ्य बीमा गराउन जिल्लाभर ५८ जना दर्ता सहयोगी खटिएका छन् ।
६४ वटा वडा रहेको जिल्लामा छ वटा वडामा अहिले दर्ता सहयोगी खाली रहेको घर्तिमगरले जानकारी दिए । ज्येष्ठ नागरिक, एचआईभी सङ्क्रमित, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति, कुष्ठ रोगी र घातक खालको टिबीका बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा रहेको कार्यालयले जनाएको छ ।
अहिले जिल्लाका स्थानीय तहले समेत निःशुल्क स्वास्थ्य बीमा बनाउन बजेट विनियोजन गर्दै आएका छन् । माण्डवी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र झिमरुक गाउँपालिकाले आफ्नो पालिकाका जनताको स्वास्थ्य बीमा बनाउन कार्यक्रम तथा बजेट बनाएका छन् ।
जिल्लामा प्युठान अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गा र प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा बीमा कार्यक्रम लागू भएको छ । बीमामा सहभागी धेरैजसो नागरिकले बीमा सुविधा प्रति असन्तुष्टि देखाउँदै आएका छन् ।
अस्पतालमा स्वास्थ्य बीमा बापत मिल्ने सुविधाहरु प्रभावकारी नभएका स्वास्थ्य बीमित प्युठान नगरपालिका–३ की उमा खड्काले बताए । बीमा बनाउन झण्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बीमाबाट पाउने सुविधा सहजै नपाउँदा स्वास्थ्य बीमामा सहभागी हुनेको संख्या कम देखिएको छ । जसले गर्दा ७० प्रतिशत नागरिक स्वास्थ्य बीमामा अझै जोडिन सकेका छैनन् ।