लुम्विनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा इन्डोस्कोपी सेवा सुरु, आइसीयू पनि छिट्टै सुरु हुने

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०८१, बुधबार

नेपालगन्जः लुम्विनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा आजदेखि इन्डोस्कोपी सेवा सुरु भएको छ । अस्पतालका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा.अच्युत विक्रम हमालले इन्डोस्कोपी सेवा सुरु गरेका हुन् । प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएपछि लक्षित बिरामीहरुलाई सहज भएको प्रहरी उपरीक्षक डा.हमालले बताए । अव छिट्टै आइसीयू सेवा पनि सुरु गर्ने तयारी भइरहेको उनले बताए ।

इन्डोस्कोपी गर्दा शरिरमा एउटा पातलो नली हालिन्छ जसमा इन्डोस्कोप क्यामरा राखिएको हुन्छ । यो क्यामराले शरिरको आन्तरिक अंगको तस्बिर खिच्ने गर्छ जुन सिधा मोनिटरमा देख्न सकिन्छ । यसको अर्थ शरिर भित्रका अंगको परिक्षण गर्नु हो । जब शरिरभित्र कुनै समस्या वा संक्रमण हुन्छ तब विभिन्न लक्षण देखिने गर्छ जुन सतहमा हेर्दा डाक्टरले बुझ्न सक्दैनन् । त्यसकारण इन्डोस्कोपीको आवश्यक पर्छ ।

साधारणतया नाकको समस्या वा साइनस, गलाको समस्या, यदि कसैलाई खानेकुरा निल्न समस्या भए, बान्ता गर्दा रगत देखिएमा, आन्द्रा सुन्निए वा पीडा हुँदा, कब्जियतबाट ग्रसित हुँदा, पित्तथैलीमा पत्थरी हुँदा, पेटको अल्सर हुँदा, गर्भाशयको जाँचका लागि, पिसाबबाट रगत आउँदा, दिसाबाट रगत आउँदा, गम्भीर शल्यक्रिया अघि, कानको रोगका लागि इन्डोस्कोपी गर्ने गरिएको चिकित्सकहरु बताउँछन् ।

प्रहरी अस्पतालमा अहिले प्रहरी र उनीहरुका आफन्तहरुको उपचार हुँदै आएको छ । अन्य नागरिकहरुलाई समेत सेवा दिने गरी प्रहरी अस्पतालले प्रक्रिया अगाडि बढाइसकेको छ । अस्पतालले अहिले ओपिडी सेवासहित इएन्टीका बिरामीलाई आवश्यक शल्यक्रिया सेवा समेत प्रवाह गर्दै आएको छ ।

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech