नाइट्रोसमाइन, फ्लाभिनोइडस, ट्यानिन, तार, एरिकोलाइन, एलोप्याथिक हाइड्रोकार्बन, निकोटिन, कटेच्य, चुना पत्थर र बेन्जिन जस्ता तत्व मिसिएको हुन्छ, जसले क्यान्सर गराउँछ । चुना पत्थर र माथि उल्लेखित तत्वले प्रयोग गर्दा मुखभित्र प्रतिक्रियात्मक असर गराउँछ । जसले गर्दा गिजा, गाला, भित्री छाला, जिब्रो र ओठमा क्षति पारी घाउ बनाउँछ । कालान्तरमा यो मुख तथा जिब्रोको घाउ बिस्तारै क्यान्सरमा परिणत हुन्छ ।
क्यान्सरका प्रकार
जिब्रो तथा मुख क्यान्सरको स्कावमस सेल कार्सिनोमा र सार्कोमा लिम्फोमा गरी मुख्य दुई प्रकार हुन्छ । धुम्रपानले ९० प्रतिशतमा स्कावमस सेल कार्सिनोमा गराउँछ । १० प्रतिशतमा भने सार्कोमा लिम्फोमा हुन्छ । सार्कोमा लिम्फोमा दुर्लभ क्यान्सर मानिन्छ ।
लक्षण
सुरुको अवस्थामा मांसपेशी सुन्निने र रातो हुन्छ । त्यसपछि मुखभित्रको छाला सेतो हुने, मुख खोल्न गाह्रो हुने, दुख्ने, दाँतमा खत बस्ने, दाँत पहेलो हुने, बांगोटिंगो हुने, मुख, गिजा र जिब्रोमा डल्लो आउने घाउ जस्तो फुलेर आउने र त्यसबाट रगत र पिप आउने लक्षण देखिन थाल्छ ।
यस्तो अवस्थामा खाना चपाउन नसक्ने र पछि बोलीचाली पनि बिग्रिंदै जान्छ ।
परीक्षण
– विशेषज्ञ चिकित्सकद्वारा परीक्षण
– रगत परीक्षण
– नाक, मुख तथा घाँटीको एमआरआई
– टाउको तथा घाँटीको सिटी स्क्यान
मुखको क्यान्सरको चरण
मुखको क्यान्सरको चरण शून्यदेखि चारसम्म तोकिएको छ ।
चरण ‘०’: (कार्सिनोमा इन सी टु अर्थात्, क्यान्सरपूर्वको अवस्था माथिल्लो छालामा मात्र सीमित हुन्छ ।
चरण ‘१’ : ट्युमर दुई सेन्टिमिटर वा त्योभन्दा सानो हुन्छ ।
चरण २ : ट्युमर दुई सेन्टिमिटर भन्दा ठूलो तर चार सेन्टिमिटरभन्दा सानो आकारको हुन्छ ।
चरण ३ : ट्युमर चार सेन्टिमिटरभन्दा ठूलो भई घाँटीतर्फ सरेको हुन्छ ।
चरण ४ : यो ट्युमर अन्य भागमा सरेको अवस्था हो । जस्तो कि हड्डीमा, गालाको बाहिरी छालामा, घाँटी वा फोक्सोमा सरिसकेको हुन्छ ।
उपचार
सुरुको अवस्थामा रोगको पहिचान भएमा शल्यक्रिया गरेर मात्र पनि निको हुन्छ । कतिपय बिरामीलाई अवस्था अनुसार विकिरणबाट सेकाउने, केमो औषधि उपचार चाहिन सक्छ । पछिल्लो समय इम्युनोथेरापीले पनि क्यान्सरको उपचारमा प्रभावकारी नतिजा देखाएको छ ।
क्यान्सरको कारण आवाज सुकेको छ भने स्पीच थेरापी दिनुपर्छ । त्यस्तै, खाना निल्न नसक्ने बिरामीलाई घाँटीमा प्वाल बनाएर पाइपको माध्यमबाट खुवाउनुपर्छ ।
धुम्रपान निरुत्साहित गर्न नसक्दा क्यान्सरको जोखिम
धुम्रपानको स्वास्थ्यमा प्रतिकूल असरबारे थाहा नभएको अशिक्षित व्यक्तिहरुलाई सचेत गराउने र कानुनी प्रावधान कडा बनाएर धुम्रपान सेवन निरुत्साहित गर्न सकिन्छ । स्कुले विद्यार्थीहरुलाई धुम्रपान नगर्न सचेत गराउन र शिक्षा दिन सहज छ । तर बुझेर पनि बुझपचाएका र शिक्षित व्यक्तिलाई बुझाउन असम्भव छ ।
फलस्वरुप, नेपालको सन्दर्भमा कुल जनसंख्याको २० प्रतिशत व्यक्ति तम्बाकुको सेवनकै कारण क्यान्सर लागेर अकालमा मृत्युवरण गर्छन् । जसमा आगो सल्काएर चुरोट पिउनेहरू र सुर्ती लगायतका सामग्री गिजाबीच च्याप्नेहरु बढी छन् ।
प्राणघातक मुख र जिब्रोको क्यान्सरबाट बच्न चुरोट, गुट्खा, सुर्ती र तम्बाकुबाट टाढा रहनु प्रमुख र उचित उपाय हो ।