आज राष्ट्रिय कण्डम दिवसः एक वर्षमै बाँकेमा १० लाख बढी कण्डम खपत

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०८१, शनिबार

नेपालगन्जः बाँकेमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय कण्डम दिवस मनाइएको छ । यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाले गाउँ तथा सहरहरुमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी कण्डम दिवस मनाएका हुन् । यस वर्षको कण्डम दिवसको नारा ‘कण्डमको सहि प्रयोगले दिन्छ एचआइभी, यौन रोग र नचाहेको गर्भ, सबैबाट सुरक्षां’ भन्ने तय गरिएको छ ।

दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने, कण्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लागयतका विषयमा जानकारी दिने काम गरिएको स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र साहले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा, भेरी अस्पताल, परिवार नियोजनसहित अन्य संघसंस्थाहरुको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।

यो दिवस नेपालमा कोजाग्रत पूर्णिमा पछिको पहिलो शनिबार मनाइँदै आइएको छ । यो ३० औं राष्ट्रिय कण्डम दिवस हो । कण्डम दिवसको अवसरमा यसको जानकारी दिन तथा वितरण गर्न नेपालगन्जको त्रिभुवन चोकमा स्टल नै राखिएको थियो ।

कण्डम स्टल राखेर यसको प्रयोग, प्रयोगबाट हुने फाइदा, प्रयोग गर्ने तरिकाको जानकारी दिनुका साथै निःशुल्क वितरण गरिएको परिवार नियोजन संघ बाँकेका प्रमुख रश्मी श्रेष्ठले जानकारी दिइन् ।

दिवसको अवसरमा एचआइभी जाँच समेत गरिएको छ । बाँकेमा गएको वर्ष १० लाख ६ हजार ६२९ वटा कण्डम वितरण गरिएको स्वास्थ्य कार्यालयका एचआइभी फोकल पर्सन साहले बताए ।

चालु आर्थिक वर्षको साउनमा भने १७ हजार ३२५ वटा कण्डम वितरण गरिएको छ । भदौ र असोज महिनामा वितरण गरिएको कण्डमको संख्या भने रुजु गर्ने काम भइरहेको छ ।

कतिपयले निजी मेडिकलहरुबाट पनि कण्डमको किनेर प्रयोग गर्ने गरिएकाले त्यसको संख्या भने नजोडिएको उनले बताए । स्वास्थ्य कार्यालयले जिल्लामा रहेका स्वास्थ्य चौकी र विभिन्न सामाजिक संघसंसस्था मार्फत निशुल्क कण्डम वितरण गर्दै आएको छ ।

  • ३ कार्तिक २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech