नेपालगन्जः बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०/०८१ मा १७ हजार बढीलाई ओपिडी सेवा दिएको छ । आइएनएफ नेपालद्धारा सञ्चालित उक्त अस्पतालबाट एक वर्षको अवधिमा १७ हजार २६५ जनाले ओपिडी सेवा लिएको अस्पताल प्रमुख मंगल थारुले जानकारी दिए ।
उनका अनुसार छाला सम्वन्धी १४ हजार २९७ जनाले सेवा लिएका थिए भने २ हजार ९६८ जना कुष्ठरोगीका बिरामीले सेवा लिएका थिए । यो अस्पतालमा छाला र कुष्ठरोगका बिरामीले सेवा लिने गरेका छन् । १२२ जना कुष्ठरोगका बिरामी भर्ना भएका थिए । कुष्ठरोगका बिरामीहरुको नि:शुल्क उपचार हुने गरेको छ ।

विरामीको स्वास्थ्य जाँच गर्दै अस्पतालका स्वास्थ्यकर्मी
कुष्ठरोगको जटिलताको अवस्था हेरेर अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको प्रमुख थारुले जानकारी दिए । ‘हामीले कुष्ठरोगी सबैको निःशुल्क उपचार गर्दै आएका छौं उनले भने–‘जटिल प्रकारका बिरामीहरुलाई एक देखि डेढ महिनासम्म अस्पतालमै भर्ना गरेर निःशुल्क उपचार गरेर पठाउने गरेका छौं ।’ साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०/०८१ मा १४६ जना कुष्ठरोगीको रोग निदान गरेको छ । ती मध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका ५ जना र १२ जना अन्य जिल्लाका रहेका छन् । गएकोे आर्थिक वर्ष २०७९÷०८० मा १२६ जना रोगीको रोग निदान भएको थियो । यो अघिल्लो आर्थिक वर्ष भन्दा २० जनाले बढी हो ।
२४ शैयाको यो अस्पतालले ओपिडी, अन्तरंग, ल्याब्रोटरी, फार्मेसी लगायतको सेवा दिँदै आएको छ । गएको आर्थिक वर्ष कुष्ठरोग निदानका लागि छालाको स्मेर जाँच सेवा ८३८ जनाले लिए भने १२ हजार १६९ जनाको ल्याव टेस्ट गरिएको छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा भारतबाट बिरामीहरु उपचारका लागि अस्पताल आउने गरेको प्रमुख थारुले बताए ।

अस्पताल प्रमुख मंगल थारु
कुष्ठरोगको जोखिम अहिलेपनि कायमै रहेको उनले बताए । बाँके जिल्लाका खजुरा, डुडुवा, नरैनापुर र नेपालगन्जमा केसहरु बढी देखिएको उनको भनाइ छ । बिरामी समयमै उपचार गर्न नआउँदा उपचारको समय पनि लम्विने र बिरामीले समेत दुख पाउने गरेको उनले सुनाए ।
दातृ निकायबाट आउने अनुदान घटबढ हुँदा अस्पताललाई चुनौति रहेको उनको भनाइ छ । सरकारले समेत कुष्ठरोगी बिरामीलाई यातायात खर्च वाफत दिँदै आएको एक हजार रुपैयाँ यो वर्ष कटौती गरेको छ । यो बिरामीका लागि समस्या हो । कम्तिमा उपचार गरेर घर फर्किदा यातायात खर्च नियमित हुनुपर्नेमा थारुको जोड छ ।
यस्तै स्वास्थ्य चौकीमा पाउनु पर्ने औषधि समेत नियमित नहुँदा बिरामीहरुले अनावश्यक दुख पाउनु परेको गुनासो सुनाउने छन् ।