महिला स्वास्थ्य स्वंसेविकाहरूले अव निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०८१, शुक्रबार

काठमाडौंः महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी समेत भएको छ । कात्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाएका छन् । सो क्रममा मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाहरूले देशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण रहेको बताए ।

स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर आफूहरू चिन्तित रहेको पनि उनले बताएका छन् । महासंघका अध्यक्ष स्वाँरले आफूहरूलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यवसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत सुविधा उपलब्ध गराउने घोषणा गरे ।

मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ ।

  • २ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech