भौतिक पूर्वाधारको अभावमा कोल्टी अस्पताल

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०८१, बिहीबार

बाजुराः बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकामा-१ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल भौतिक पूर्वाधारको अभावमा छ ।

यहाँका स्थानीयको माग अनुसार २०८० सालमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई कोल्टी आधारभूत अस्पतालको रुपमा सञ्चालनमा ल्याएपछि अस्पताल भौतिक पूर्वाधारको अभावमा रहेको हो ।

अस्पताललाई चाहिने आवश्यक भौतिक पूर्वाधार नहुँदा यहाँ आउने बिरामीलाई सेवा प्रवाहमा निकै समस्या भएको कोल्टी आधारभूत अस्पतालले जनाएको छ ।

यहाँ आउने गरेका सघन उपचारका बिरामीलाई व्यवस्थित कक्ष नहुँदा उपचार गर्न निकै समस्या भएको कोल्टी आधारभूत अस्पतालका चिकित्सक सन्जित शाहले बताए ।

उनले भने, “दुर्गम ठाउँका स्थानीयलाई सेवा दिने गरी यहाँ आधारभूत अस्पताल सञ्चालन भए पनि सोही अनुसारको भौतिक पूर्वाधार व्यवस्थापन नहुँदा बिरामीहरुलाई सेवा दिन समस्या हुने गरेको छ ।”

अस्पतालमा स्वास्थ्य सामग्रीको व्यवस्थापन नहुँदा उपचारका लागि आउने बिरामीलाई अन्यत्रै रिफर गर्नुपरेको चिकित्सक शाह बताउँछन्।

पहिला स्वास्थ्य चौकीको रुपमा रहेको यो अस्पताल २०६३ सालमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै गत वर्षदेखि कोल्टी आधारभूत अस्पतालको रुपमा सञ्चालनमा आएको हो ।

दुर्गमका स्थानीयलाई गाउँमै सेवा दिने गरी स्थापना गरिएको यो अस्पतालमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभाव छ ।
बाजुराको पूर्वी क्षेत्रमा रहेका हिमाली, जगनाथ, स्वामिकात्तिक, बुढीनन्दा, मुगु, जुम्ला र हुम्लाबाट बिरामी कोल्टी आधारभूत अस्पतालमा आउने गर्दछन् ।

२०८० सालमा कोल्टी आधारभूत अस्पताल सञ्चालन गरेपनि भौतिक पूर्वाधार व्यवस्थापन गर्न नसक्दा बिरामीलाई उपचार गर्न समस्या हुँदै आएको बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाहीले बताए ।

उनले भने, “बुढीनन्दा नगरपालिकाका बिरामीहरुलाई मात्र उपचार गर्न सहज भए पनि अन्य पालिका र मुगु, हुम्लाबाट पनि बिरामी धेरै आउने गरेकाले उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ ।’’

कोल्टी आधारभूत अस्पताल तीन जिल्लाका स्थानीयहरुको आशा र भरोसाको केन्द्र भएकाले यसलाई चाँडै अस्पतालको रुपमा विस्तार गरी चाहिने आश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थाका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको चिकित्सक शाहीको भनाइ छ ।

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech