३६ वर्षीय युवा डा.निराजनको काँधमा भेरी अस्पतालको जिम्मेवारी, के छन् योजना ?

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०८१, मंगलवार

नेपालगन्ज: प्रमुख कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजिष्ट हुन् डा.निराजन सुवेदी । कलिलै उमेरमा विशिष्टिकृत तहको एमसीएच अध्ययन गरेका उनै डा.निराजनको काँधमा अहिले भेरी अस्पतालको जिम्मेवारी छ । प्रशासकीय नेतृत्वका हिसाबले यो उनको अग्नी परीक्षा हो । उनी यसअघि वीर अस्पतालको ग्याष्ट्रो सर्जरी विभागमा विभागिय प्रमुखको जिम्मेवारीमा थिए ।

निराजन वि.स २०४५ साल जेठको ३ गते घोराही उपमहानगरपालिका–१८ रझेना दाङमा जन्मिएका हुन् । घोराहीको शान्तिसुधा आवासीय माविबाट उनले वि.स २०६० मा एसएलसी गरे । एसएलसीपछि उनी अध्ययनका लागि काठमाडौं गए । काठमाडौंको कालिमाटिस्थित क्यापिटल उच्च मावि (सीसीआरसी)बाट उनले वि.स २०६२ सालमा प्लस टु गरे । त्यतिबेला सम्म उनलाई डाक्टर बन्छु भन्ने सोंच थिएन् । बुवा दधिराम सुवेदी पत्रकार थिए ।

मुलुक सशस्त्र द्धन्द्धको चरम उत्कर्षमा थियो । दधिरामकै नेतृत्वमा तत्कालीन मध्य र सुदूरपश्चिममाअञ्चलको पहिलो रेडियो स्वर्गद्धारी एफएम घोराहीबाट प्रशारण भइरहेको थियो । वि.स २०५८–५९ सालतिर सेना र माओवादीको त्यो घटनासँग साक्षात्कार गरिरहेका दधिरामलाई छोराछोरीको सुरक्षित पेसा चिकित्सक बाहेक अरुमा सम्भव नहुने देख्दै थिए, त्यही भएर उनलाई छोराछोरीलाई डाक्टर नै बनाउनु पर्छ भन्ने मनमा लागिसकेको थियो ।

प्लस टु गरेपछि निराजन आइएल्स गरेर विदेश जाने मनस्थितिमा थिए । किनभने उनका अधिकांश साथीभाइहरु त्योबेला विदेश गइरहेका थिए । विदेश जानेको लहर नै थियो । तर बुवा दधिरामले विदेश जाने निराजनको आग्रह इन्कार गरिदिए । नेपालमै बसेर डाक्टर पढ्न छोरा निराजनलाई सम्झाए । निराजनले पनि नाइनास्ती गरेनन् । र, उनी काठमाडौंको जोरपाटीस्थित रहेको काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि सन् २००७ मा भर्ना भए ।

सन् २०१२ मा उनको एमबीबीएस अध्ययन पूरा भयो । डा. निराजनलाई थप अध्ययन गर्नु त छँदै थियो । उनले फटाफट अध्ययन गरे । प्लस टु सम्म सामान्य विद्यार्थी निराजन एबीबीएस उर्तिणपछि भने मेधावी बन्दै गए । जति उनी अगाडि पढ्दै गए त्यति धेरै आनन्द मिल्न थाल्यो ।‘ खासमा डाक्टर पढाइँ भनेको त मेरै लागि रहेछ भन्ने फिल हुँदै गयो’–उनी सम्झन्छन् ।

एमबीबीएस अध्ययनको क्रममा शल्यक्रियापछि अधिकांश बिरामी ठिक भएको देख्थे । त्यो बेला नै सर्जन भनेको त खत्रा डाक्टर रहेछ भन्ने उनको मनमा परिसकेको थियो । त्यसैले उनलाई यो विषयमा नै रस बस्दै गयो । अनि उनले यही विषय अध्ययन गर्ने निर्णय गरे । सर्जन नै बन्ने निर्णय गर्दै उनले भारतको दिल्लीमा पुगेर चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि करिब एक वर्ष प्रवेश परीक्षाको लागि तयारी गरे ।

डा. निराजनले भारतको चण्डिगढस्थित पोष्ट ग्राजुयट इन्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्ज (पीजीआई)मा छात्रवृत्तिमा स्नातकोत्तर तहको जनरल सर्जरी (मास्टर्स इन जनरल सर्जरी/एमएस) विषयको अध्ययन गर्ने मौका पाए। उनले सन् २०१४ मा जनरल सर्जरी (एमएस) अध्ययनका लागि भर्ना भए। सन् २०१६ मा उनको एमएस अध्ययन पूरा भयो । एमएस अध्ययनपछि डा. निराजन नेपाल फर्किए ।

कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा जनरल सर्जन तथा लेक्चररका रूपमा काम गर्न थाले । मेडिकल कलेजमा उनले करिब एक वर्ष काम गरे । डा. निराजनलाई थप अध्ययनको भोक मरेकै थिएन । त्यसैले उनी चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसमा सर्जिकल ग्याट्रो इनटेरोलोजी (जीआई) विषयमा एमसीएच अध्ययनका लागि सन् २०१८ मा भर्ना भए।

उनले सन् २०२१ मा छात्रावृत्तिमा सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजी विषयमा तीन वर्षे एमसिएच गरे । यो विशिष्टिकृत (सुपरस्पेशलाइजेशन) तहको विद्यावारिधि सरहको अधययन हो । डा. निराजनले सरकारी छात्रवृत्ति कोटामा एमसीएच गरेका हुनाले दुई वर्ष छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो । त्यसैले उनी एमसीएच अध्ययनपछि छात्रवृत्ति करारमा काम गर्नका लागि भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पताल पुगे ।

डा. निराजनले कलिलै उमेरमा चिकित्सा शास्त्रको विशिष्टिकृत तहको अध्ययन मात्रै गरेनन् उनी ११ औं तहको स्थायी चिकित्सकका रूपमा सरकारी जागिरमा प्रवेश समेत गरे । भक्तपुर क्यान्सर अस्पतालमा काम गरेको करिब एक वर्षमा डा. निराजन लोकसेवा परीक्षामार्फत २०७९ मा खुला तर्फबाट सिधै एघारौँ तहको ‘प्रमुख कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजिष्ट’ स्थायी चिकित्सकका रूपमा सरकारी जागिरमा प्रवेश गरेका हुन् ।

उनकी दिदी नीलम सुवेदी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी ग्राण्डीमा काम गर्छिन् । बुवा दधिराम र आमा कल्पना सुवेदीको कोखबाट जन्मिएका डा.निराजन दुई वर्ष अघि रश्मी पन्थीसँग विहेवारी गरेका थिए । पश्चिम नेपालको सबैभन्दा पुरानो विरासत बोकेको प्रेषण अस्पतालका रुपमा रहेको भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालेको तीन हप्ता भयो । वि.स २०८१ असोज ०९ गते भेरी अस्पतालको जिम्मेवारी सम्हालेका उनै डा.सुवेदीसँग स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकालले भेरी अस्पतालको योजनाबारे कुराकानी गरेका छन् ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदी

भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हाल्नु भयो, के छन् योजना ?

अव मेरो पहिलो प्राथमिकता भनेको भेरी अस्पतालमा स्नातकोत्तर तह अन्तर्गतको एमडी÷एमएस (पिजी) कार्यक्रम सञ्चालन गर्ने नै थियो । त्यसले सार्थकता प्राप्त गरेको छ । यसअघिका मेसु, अस्पताल विकास समिति लगायतले प्रयास प्रारम्भ गरिरहकै थिए । मेरो पनि पिजी कार्यक्रम प्राथमिकतामा नै थियो । भेरी अस्पतालको जिम्मेवारी सम्हाले लगत्तै यसले एउटा गति लिएको छ ।

एमडी/एमएस अध्ययनका लागि चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को सिनेट बैठकले फ्याकल्टी दरबन्दी नै निर्धारण गरिसकेको छ । अर्को वर्षदेखि एमडी/एमएस पढाइ भेरीमा प्रारम्भ हुन्छ । अर्को कुरा अस्पतालको सेवालाई थप गुणस्तरीय बनाउँदै बिरामीहरुलाई छिटो छरितो र सहज उपचारको पहुँच उपलब्ध गराउने सवालमा पनि गर्नुपर्ने आवश्यक कामहरुलाई प्राथमिकता दिनेछु ।

पिजी कार्यक्रम सञ्चालनको आवश्यकता किन ?

यसका तीन चार वटा कारण छन् । पहिलो कारण भनेको नेपालमा अहिले एमबीबीएस कोर्ष पूरा गर्ने डाक्टर सावहरु ६/७ हजार हुनुहुन्छ होला । पिजी अध्ययन गर्नाका लागि केवल एक हजारको सिटमात्रै छ । यस्तो अवस्थामा कतिपय डाक्टरहरु सिट नपाएर त्यसै समय खेर फाल्नुपर्ने अवस्था छ भने अर्कोतर्फ पैसा तिरेर अध्ययनका लागि विदेश जानुपर्ने अवस्था छ ।

त्यसकारण जुन यो खाडल देखिएको छ । यसलाई सम्वोधन गर्नका लागि यो कार्यक्रमले केही हदसम्म सघाउ पु¥याउँछ । दोस्रो कारण, अस्पतालमा अहिले जनशक्तिको अभाव छ । एमडी र एमएस कार्यक्रम सुरु भएपछि थप जनशक्ति अस्पतालमा आउने भयो । यसले गर्दा जनशक्तिको अभावलाई पनि टार्ने र बिरामीले पनि गुणस्तरीय सेवा चौविसैं घण्टा प्राप्त गर्ने अवस्था बन्छ ।

तेस्रो कारण भनेको अस्पतालका चिकित्सकहरुको एकेडेमीमा पनि वृद्धि हुने भयो । सरकारी अस्पतालका चिकित्सकहरुलाई वीरमा गएपछि मात्रै एकेडेमिकपोष्ट प्राप्त हुनेगर्छ । तर एमडी/एमएस कार्यक्रम अव भेरी अस्पतालमै सुरु हुने भएपछि यहाँका कन्सल्टेन्ट डाक्टरहरुलाई एकेडेमिक पोष्ट हामी यहीनै दिन सक्ने भयौं । एउटा चिकित्सकका लागि एकेडेमिक पोष्ट प्राप्तीको रहर पनि हुन्छ त्यो पनि पूरा हुने भयो ।

चौथौं कारण भनेको एमडी/एमएस कार्यक्रम सुरु हुने भयो भने समग्र अस्पतालकोनै एकेडेमिक वृद्धि हुन्छ । किनभने रेजिडेन्ट डाक्टरहरुलाई पढाउनु पर्छ । पढाउनका लागि आफुले पनि पढ्नु प¥यो । जव अस्पतालमा एकेडेमिक गतिविधि बढ्न थाल्छन् त्यसले सेवा प्रवाहमै सकारात्मक प्रभाव पार्छ । पिजी कार्यक्रम सुरु भएपछि बिरामी, चिकित्सक तथा समग्र अस्पतालकै लागि फाइदाको कुरा हो ।

भेरी अस्पतालका सेवाहरुलाई थप विशिष्टिकृत बनाउने बारे के योजना छ ?

भेरी अस्पताल विशिष्टिकृत सेवा प्रवाह गर्दै आएको अस्पताल हो । मुटु, मिर्गौला, हाडजोर्नी, न्युरो, युरो, ग्यास्ट्रोसर्जरी लगायतका विभागबाट विशिष्टिकृत सेवा प्रवाह भइरहेका छन् । पश्चिम नेपालका सरकारी अस्पतालहरुमा यतिधेरै विशिष्टिकृत सेवाहरु दिने सम्भवतः भेरी अस्पताल मात्रै होला । अव यसमा दुईवटा कुरा छन् एउटा भनेको भएका सेवाहरुलाई दीर्घकालीन बनाउने र अर्को भनेको थप सेवाहरु विस्तार गर्दै लैजाने ।

भेरी अस्पतालमा अहिले छात्रवृत्तिका लागि आउनु भएका डाक्टरहरुले विशिष्टिकृत सेवाहरु दिँदै आउनुभएको छ । कार्डियोलोजी सेवा पहिल्यैंदेखि भएपनि अन्य सेवाहरु भने छात्रवृत्तिकै डाक्टरहरुले दिइरहनुभएको छ । प्रवाह भइरहेका विशिष्टिकृत सेवाहरुलाई दीर्घकालीन बनाउन सरकारले स्थायी दरवन्दी पठाउनै पर्छ । भेरी अस्पताल न्युनतम कार्य सम्पादन मूल्यांकनमा लगातार उत्कृष्ट हुँदै आएको छ ।

यसको समेत मूल्यांकन गरेर सरकारले स्थायी दरवन्दीको अभाव टार्नु पर्छ । भेरी अस्पताल कर्णाली र सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पताल थियो । अहिले छिमेकी जिल्ला दाङमा एमबीबीएस पढाइ हुन थालिसक्यो । कर्णालीमा एमबीबीएस पढाइ सुरु भइसक्यो । पिजी कार्यक्रम पनि सञ्चालन हुन थालिसक्यो । हामी त्यहाँ पुग्न सकिरहेका छैनौ । तर हामीसँग सम्भावना नभएर नभएको होइन् । सरकारले स्थायी दरवन्दी सिर्जना गर्नुपर्छ । त्यसो भयो भने थप विशिष्टिकृत सेवाहरु अगाडि बढाउन सकिन्छ ।

बिरामीहरुको गुनासो छ घण्टौं लाइन बस्नु पर्छ ?

लाइन व्यवस्थापनको सवालमा मेरो फरक मत छ । मैले भारतको पीजीआई कलेजमा पढें ।पीजीआई कलेज एम्सपछिको सबैभन्दा ठूलो संस्था हो । त्यहाँ विहान तीन बजेदेखि नै लाइन हुन्थ्यो । भन्नुको अर्थ तपाई संस्थालाई जति राम्रो बनाउन सक्नु हुन्छ लाइन त्यति धेरै बढी लाग्छ ।सेवाको गुणस्तरीयता बढ्दै गयो भने लाइन घट्ने होइन बढ्दै जाने हो । लाइन बढ्नुको अर्थ हो संस्थाप्रति आम सेवाग्राहीको भरोसा छ ।

भेरी अस्पतालमा लाग्ने लाइन पनि अस्पतालको सेवाप्रति बिरामीको भरोसा हो । जुन ठाउँमा काम हुँदैन । नागरिकको विश्वास हुँदैन । त्यहाँ कहाँ भिड हुन्छ ?अस्पतालले आफ्ना सेवा सुविधालाई जति बढाउँदै जान्छ । भीड पनि बढ्दै जान्छ । लाइन घट्नु भनेको अस्पतालप्रतिको भरोसा घट्यो भन्ने अर्थमा बुझ्नु पर्छ । त्यसैले लाइनलाई घटाउन सक्ने अवस्था रहदैन । तर व्यवस्थापन गरिनु पर्छ । र, म गर्छु । भिड हुने भनेको ३–४ वठा ठाउँमा हो ।

पर्चा काट्ने, ब्लड निकाल्ने, पैसा तिर्ने र फार्मेसीमा । यी ठाउँमा जनशक्ति अभाव छ भने त्यहाँ जनशक्ति थप्ने लगायतका कामहरु गर्न सकिन्छ । अर्को कुरा लाइनलाई व्यवस्थित गर्न अनलाइन टिकेटिङलाई सुदृढ बनाउने हो । अव डाक्टरहरुलाई भेट्नका लागि जुन किसिमको लाइन लाग्ने गरेको छ त्यसको विकल्प भनेको त पिजी कार्यक्रम लागु गर्ने र दरवन्दी थप्ने नै हो ।

स्वास्थ्यमन्त्रीको निर्देशन छ अस्पताल समय अवधिमा चिकित्सकहरु निजी क्लिनिकमा नजानु । र, अस्पतालमै बसेर सेवा दिनु । भेरीमा त्यसको कार्यान्वयन हुन सकिरहेको छैन । यसमा तपाइँको भूमिका के हुन्छ ?

भेरी अस्पतालको स्थिति के छ त्यो मलाई थाहा छैन । अस्पतालमा हाजिर भएको महिना दिननै पुगेको छैन । अनाहकमा चिकित्सक साथीहरुप्रति यो आरोप लगाउन चाहदैन । त्यसैले यो कुरा मैले बुझन पाएको छैन । अहिले विस्तारै बुझ्दै गइरहेको छु । स्वास्थ्यमन्त्री ज्यूले नै निर्देशन दिइसकेपछि स्वभाविक रुपमा त्यसको पालना हामी सबैले गर्नै पर्छ । त्यो हाम्रो जिम्मेवारी पनि हो ।

ओपिडी दुई शिफ्टमा लैजान मन्त्री ज्यूले अस्पतालहरुलाई निर्देशन दिइसक्नु भएको छ । कतिपय अस्पतालहरुले कार्यान्वयन पनि गरिसकेका छन् । भेरीमा कार्यान्वयन हुन सकिरहेको छैन । यसमा तपाइँको भनाइ के छ ?

मन्त्री ज्यूले निर्देशन दिनुभएको छ । तपाइँले भनेजस्तै केही अस्पतालहरुमा कार्यान्वयन पनि भइसकेको छ । यसमा के गर्न सकिन्छ ? अस्पतालका सिनियर चिकित्सकहरुसँग बसेर एउटा निर्णय गरिएला । अस्पतालसँग सीमित जनशक्ति छ । चिकित्सकहरुलाई अनावश्यक प्रेसर दिन सकिदैन ।

प्रेसरमा चिकित्सकले गुणस्तरीय सेवा दिन सक्दैनन् । किनभने एउटा चिकित्सकले बिरामीलाई दिने सेवा भनेको त अत्यन्तै संवेदनशील कुरा हो । त्यसैले यो बिषयमा सबैसँग समन्वय, सहकार्य र सुझावका आधारमा निर्णय लिनु पर्ने हुन्छ ।

  • २९ आश्विन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech