के हो डेंगु ? कसरी बच्ने ?

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०८१, सोमबार

एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।

एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।

डेंगुका लक्षणहरु ?

-डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ ।

– यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुन्छ र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ ।

-डेंगुको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ ।

-कतिपय बिरामीहरु चक्कर लागेर बेहोससमेत हुन्छन् ।

-आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्छ

-खानामा जिब्रोको स्वाद बदलिन्छ ।

-भोक कम लाग्छ ।

-टाउको तथा कम्मर दुख्छ ।

-गम्भीर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ ।

कसरी बच्ने डेंगुबाट ?

-डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ ।

-पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ,

-पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ

-कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक(दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने

-फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ

-एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ

-सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ

-घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ

-घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ

यदि डेंगु लागेको छ भने औषधिहरू जथाभावी प्रयोग गर्नु हुँदैन । पानी धेरै खाने, अरू वेलाभन्दा यो वेला शरीरमा पानी कम हुने हुदाँ तीन–चार लिटर पानी बढी खाने  गर्नुपर्दछ ।

त्यस्तैगरी, धेरै मसाला, चिल्लो भएका खानेकुरा नखाने , झोलिलो खानेकुरा प्रशस्त खाने, बालबालिका तथा वृद्धवृद्धालाई लामखुट्टे आउने ठाउँमा नपठाउनेरनराख्ने र लामखुट्टे भगाउने खालका मलम छालामा लगाइदिने  गर्नुपर्दछ । यदि डेंगु लागिहालेमा आत्तिनु हुँदैन् । डाक्टरको सल्लाहअनुसार नियमित औषधी खानुपर्दछ ।

 

  • २८ आश्विन २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech