दशैंमा के खाने ? डाटिसियनका यस्ता छन् महत्वपूर्ण सुझाव

    • विपीन कार्की/डाटिसियन

  • २५ आश्विन २०८१, शुक्रबार

दसैं एकापसमा खुसी, माया साटासाट गरी मनाइन्छ । चाडपर्वको आगमनसँगै खानपानमा पनि परिवर्तन आउँछ । यतिबेला धेरैजसो अस्पताल बन्द हुने भएकाले स्वास्थ्यलाई ध्यान दिइ उपयुक्त खानेकुरा खानुपर्छ ।दसैंमा भेटघाटका साथै मिष्ठान्न भोजन खाने गरिन्छ ।

फूलपातीदेखि दशमीको दिनसम्म अधिक मासुका विभिन्न परिकार ( भुटन, पक्कु, फ्राई, सेकुवा) मिष्ठान्न भोजन, पेय पदार्थ परिवार आफन्तसँग बसेर खाने गरिन्छ । एकैठाउँमा बसेर धेरै चिल्ला खानेकुरा खाँदा स्वास्थ्यमा असर पर्न सक्छ ।

मासु प्रोटिनको स्रोत हो । उमेर, लिंग र शरीरको आकार र जीवनशैली अनुसार प्रोटिनको मात्रा फरक पर्छ । साधारण व्यक्तिको प्रोटिनको आवश्यकता दैनिक ० दशमलव ८ देखि १ ग्राम सम्म प्रति केजी आइडल शारीरिक तौल हो र आवश्यकता कलेजोको स्वास्थ्य प्रतिकूल हुने मानिन्छ ।

कुनै पनि आहारलाई आवश्यकता बढी उपभोग गर्दा स्वास्थ्यलाई जटिल बनाउनतर्फ उत्प्रेरित गर्छ । चाडपर्वमा सामान्यभन्दा बढी खाने प्रवृति बढ्दो हुँदा उर्जाशक्ति सकारात्मक दिशातर्फ बढ्दै मोटोपन तथा प्राणघातक रोगको जोखिम उच्च रहन्छ ।

चाडपर्वमा थालीलाई सन्तुलित बनाउँदा स्वास्थ्यस्थिति अनुकुल बन्छ र साधारणतया दैनिक ६० प्रतिशत कार्बोहाइड्रेड प्राप्त हुने स्रोत जस्तै अन्न, कन्दमूल, फापर, कोदो आलु, मकै, चामल १५ देखि २० प्रतिशत प्रोटिन प्राप्त हुने स्रोत जस्तै अण्डा, माछा, मासु, दही, दुध, गेडागुडी, चिज र बा“की फ्याट अर्थात चिल्लो प्राप्त हुने स्रोत जस्तै तेल ( तोरी, भटमा, सूयमुखी), काजु, बदाम, माछा, एभोकाडो सन्तुलित तरिकाले प्रयोगमा ल्याउनुपर्छ ।

चाडपर्वमा रातो मासुको प्रयोग अधिक हुने गर्छ । स्वास्थ्यको हिसाबले सेतो मासु स्वस्थकर हुने भएकाले सेतो मासु प्राप्त हुने स्रोत चिकन, टर्की, र माछालाई बढी प्रयोगमा ल्याउनु उचित हुन्छ । यसो गरेमा हृदयाघात, रक्तचाप र कोलस्टेरोलको जोखिम न्यून हुने वैज्ञानिक तथ्यले देखाउँछ ।

खसी, सुँगुर, राँगा, भेडा, च्यांग्राको आन्द्राभूँडी, रगत, गिदीको प्रयोग अधिक हुने गर्छ । यसलाई कम गर्नु जरुरी छ । सकेसम्म बोसो, आन्द्राभूँडी रगत र गिदीलाई प्रतिबन्ध गरेमा मुटुरोग, उक्तचाप र कोलस्टेरोलको समस्या आधा प्रतिशत न्यून हुने गर्छ । हड्डीको स्रोत जस्तै खुट्टा, टाउको करङमा एमिनो एसिड ग्लुटामिन प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरको कोषिकालाई मर्मत गर्नुका साथै प्रतिरक्षा प्रणाली दृढ बनाउँछ ।

मासुमा प्राप्त हुने आइरन ठीक ढंगले शरीरले सोस्नका लागि भिटामिन सीको आवश्यक पर्ने भएकाले मासु प्रयोग गर्दा कागती, भोगटे, टमाटर जस्ता भिटामिन सीयुक्त खानेकुरा सँगै समावेश गर्नु जरुरी देखिन्छ ।

चाडपर्वमा फर्मेनटेसन प्रणालीबाट प्रशोधित खानेकुरा जस्तै गुन्द्रुक, सिन्की, किनेमा, किम्चीको अचार सब्जीको प्रयोगले स्वस्थ ब्याक्टेरियाको संख्यामा वृद्धि बढाउनुका साथै पेटको पाचन प्रणाली दृढ बनाउँछ । पेटका लागि फाइदाजनक मानिने प्रोबायोटिक्सको मुख्य स्रोत दहीलाई पेयपदार्थको विकल्पमा लस्सी वा फलफूलसँग घोलेर खान सकिन्छ ।

दही शरीरको निम्ति हाइड्रेटिङ, रिफ्रेसिङ हुनुका साथै स्वास्थ्यवर्धक पेय पदार्थ हो । यसमा प्रोटिन, भिटामिन डी, फ्याट सन्तुलित मात्रामा प्राप्त हुन्छ । उच्च क्यालोरी भएका फलफूलका जु, पेय पदार्थको विकल्पमा दहीलाई मोही, लस्सी बनाएर पिउँदा फाइदाजनक हुन्छ ।

यतिबेला पेयपदार्थ मासुका साथमा मिठाई पनि बढी नै खाइन्छ । मिठाईमा क्यालोरी उच्च हुनुका साथै चिनी, तेलको प्रयोग गरिने भएकाले स्वास्थ्यका हिसाबले राम्रो मानिदैँन । र यसलाई डेजर्टका साटो फलफूल जस्तो अनार, स्याउ, नासपाती, खरबुजा, मेवालाई दहीसँग मिसाएर सलादका रुपमा प्रयोग गर्दा फाइदा पुग्छ । सेल, पुरीको खपत पनि यतिबेला बढी हुने गर्छ । त्यसैले स्वास्थ्यमा ध्यान दिएर कम खानु उपयुक्त हुन्छ । पेय पदार्थ अर्थात फ्रुट जुसमा सुगर सिरप अर्थात चिनीको घोल, अप्राकृतिक स्विटनर फ्लेबर अधिक प्रयोग गरिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिदिन प्रतिव्यक्तिले ५० ग्राम भन्दा कम चिनीको प्रयोग गर्नु मापदण्डमा उल्लेख छ । उच्च क्यालोरीसँगै बढी चिनी प्रयोग भएको फ्रुट जुसको विकल्पमा फाइबरयुक्त प्राकृतिक चिनी पाइने फलफूलमा बढी जोड दिनुपर्छ । मौसम अनुसारमा रंगीविरंगी फलफूल खाएमा त्यसमा प्राप्त हुने एन्टिअक्सिडेन्ट शरीरका लागि फाइदाजनक हुन्छ । पेयपदार्थलाई कोसेलीका रुपमा लैजानुको साटो फलफूल लानु उपयुक्त हुनछ ।

महत्वपूर्ण सुझाव

–प्रतिदिन प्रतिव्यक्ति ३ लिटर स्वच्छ पानी पिउनुपर्छ ।

–सोडियम कम भएका खानेकुराको सेवन कम गर्ने ।

– सलाद। रंगीविरंगी फलफूल, सागसब्जी, गेडागुडी दैनिक थालीमा प्रयोग गर्ने ।

– मासुसँगै अण्डा, दही, दुध, चिजलाई पनि सन्तुलित मात्रामा प्रयोग गर्ने ।

– बजारिया फ्रुटजुस र तेलमा तारेका खानेकुरा नखाने । मासुलाई स्टिम गरेर पकाउने ।

– रातो मासुको विकल्पमा सेतो मासुका स्रोत टर्की, चिकन, माछालाई जोड दिने ।

– राम्रो चिल्लो प्राप्त हुने खाद्यान्न बदाम, काजु, एभोकाडो, पेस्ता, ओखर दिनहुँ खाने ।

  • २५ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech