डेंगु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म सात जनाको मृत्यु, पोखरा बढी प्रभावित

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०८१, बुधबार

पोखरा: गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । डेंगु सङ्क्रमणका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीय पुरुष, साउन ३१ मा कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेंगु सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ ।

पोखरा महानगरपालिकामा मात्रै हालसम्म ६ हजार ४५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माका अनुसार सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा ६ हजार ५४८ र सबैभन्दा कम मनाङमा जम्मा २ जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो ।

तनहुँमा २ हजार ८६१, पर्वतमा १ हजार १४६, गोरखामा ६६४, बागलुङमा ५३९, स्याङ्जामा ४४३, म्याग्दीमा २१३, नवलपुरमा १८१, लमजुङमा १२० र मुस्ताङमा ९ जनामाडेंगु सङ्क्रमण पुष्टि भएको छ ।

डेंगु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने चिकित्सकहर बताउँछन् ।

  • २३ आश्विन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech