डा.सुरेश कनोडिया सम्मानित

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०८१, मंगलवार

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका संस्थापक र निर्देशक डा.सुरेश कनोडिया सम्मानित भएका छन् । स्वास्थ्य पेज डटकमले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा डा.कनोडियालाई सम्मान गरेको हो । पश्चिम नेपालमा निजी क्षेत्रबाट स्वास्थ्य सेवाको विकास, विस्तार र प्रबद्र्धनका लागि डा.कनोडियाले अतुलनीय योगदान गरेको भन्दै उनलाई स्वास्थ्य पेजले सम्मान गरेको गरेको हो ।

पाँचौं वार्षिकोत्सव कार्यक्रमका अध्यक्ष प्रियास्मृति ढकाल र कार्यक्रमका प्रमुख अथिति नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. विनोद थापाले दोसल्ला तथा कदरपत्रले डा.कनोडियालाई सम्मानित गरेका हुन् । सम्मानित डा. कनोडियाले स्वास्थ्य पेजले गरेको सम्मानले आफुलाई थप उर्जा मिलेको बताए । उनले स्वास्थ्य पेज स्वास्थ्य पत्रकारितामा यस क्षेत्रकै लागि अब्बल भएको बताए ।

डा.कनोडियाले ४० को दशकमा नेपालगन्जमा बसेर यसक्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । उनले त्यतिबेला भेरी अस्पतालमा रहेर सेवा प्रवाह गरेका थिए । २०४०/४२ सालको समयमा एक त चिकित्सकहरु नै नगन्य थिए भने अस्पताल र गुणस्तरिय उपचारको उपलब्ध्ता पनि निकै सीमित थियो । तत्कालीन भेरी अस्पतालमा कार्यरत युवा चिकित्सक डा.कनोडियाले आफ्नो पुर्ख्यौली उद्यमशिलता, सोच र लगनको प्रयोग गरि ‘टाँगा स्ट्यान्ड’मा एउटा सामान्य पोलिक्लिनिकको स्थापना गरेका थिए। बुवासँग ऋण लिएर उनले अल्ट्रासाउन्ड मेशिन किनेको स्मरण गर्छन ।

उनी भन्छन् ‘त्यही नै मेरो जीवनकै टर्निङ पोइन्ट बन्यो ।’ २०४८ सालमा गिरिजा प्रसाद कोइराला सरकारले नेपालमा मेडिकल शिक्षाको निम्ति निजी क्षेत्रलाई खुल्ला गर्ने नीति लिएसँगै केहि भारतिय कलेजले नेपालमा लगानी गर्ने सुरुवात गरे । यसैक्रममा जि वाइ पाटिल कलेजले चिसापानीका मेडिकल कलेज सम्बन्धि प्रारम्भिक काम गरे पनि विविध कारणले त्यो बाहिरियो । भर्ना भैसकेका विद्यार्थी र भैसकेको काम अपलपत्र देखेपछि डा.कनोडिया अगाडि सरे । स्वदेशी लगानीमा मेडिकल कलेल चलाउने उनको हुटहुटी बढ्यो ।

मेडिकल कलेज संचालन गर्न चाहिने ठूलो पुँजी, काठमाडौं बाहिर दक्ष चिकित्सक र प्राध्यापकहरुलाई ल्याइ काम गराउने अनि टिकाउने चुनौती साना थिएनन । तर पनि डा कनोडियाको सबल नेतृत्वमा एउटा सत्रमा डेढ सय सम्म विद्यार्थी पढाउन सक्ने क्षमतामा मेडिकल कलेज पुग्यो । नेपालगन्ज मेडिकल कलेज, कोहलपुर मेडिकल कलेज र चिसापानीका मेडिकल स्थापनादेखि हालसम्मको अवस्थामा ल्याउन डा।कनोडियाको योगदान अतुलनीय रहेको छ ।

पछिल्लो समय यसक्षेत्रमा समाजसेवी र राजनीतिकर्मीको पहिचान समेत स्थापित गर्न सफल उनी यहाँका चिकित्सकहरुका लागि अभिभावक समेत मानिन्छन् ।

  • २२ आश्विन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech