दशैं, नेपाली अनि मासु: निरोगी खसी-बोका कसरी छान्ने ?

    • लक्ष्मणप्रसाद भण्डारी

  • २२ आश्विन २०८१, मंगलवार

नेपालीको राष्ट्रिय पर्व बडादशैं जहाँ बलि प्रथाले ओतप्रोत पर्वको रुपले पनि जानिन्छ । त्यति मात्रै नभएर मान्यजनहरुको हातबाट टीका र आशीर्वाद थाप्ने र मीठो-मसिनो खाने पर्वका रूपमा यसको चिनारी रहँदै आएको छ । यो पर्वमा नयाँ नयाँ लुगा लगाउने र आफनो मनोकामना पूर्तिको लागि सिङ्गै खसी, राँगा, कुखुरा कोटदेवी, देउराली मठहरुमा बलि दिने र त्यो मासुलाई प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।

दशैं, नेपाली अनि मासु

चाँडपर्व मनाउँदा खानपानमा ध्यान नपुर्‍याउँदा यानिकी स-साना लापरवाहीले गर्दा बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था आउँछ । त्यसैले दशैंमा मासुका परिकार बनाउदा सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न जान्नुपर्छ । मासु एक पौष्टिक आहार हो, जसमा १४ देखि २० प्रतिशत प्रोटिनका साथै जिङ्क, भिटामिन बी, पोटासियम जस्ता तत्व पनि पाइन्छन् ।

मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिंदैन । हामीले राम्रोसँग सुरक्षित ढंगले राख्न नजानेमा त्यही मासुबाट विभिन्न किसिमका रोग उत्पन्न हुन्छ । खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसको संवेदनशील अंग मुटुमा असर पर्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ ।

मासुसँगै हरियो सागपात, मुला पनि प्रयोग गर्ने हो भने पाचनक्रियामा सहजता त ल्याउछ नै, थोरै मासु खाएर शरीरलाई चाहिने धेरै तत्व प्राप्त गर्न सकिन्छ । त्यसैले होला पश्चिमा देश, कोरियन तथा जापानीहरुको प्लेटमा मासुसँगै हरियो साग, सलाद र तरकारी सजिएको हुन्छ ।

मासुका लागि खसी, बोका कसरी छान्ने ?

हेर्दै नाम्ले परे जस्तो अति दुब्लो,आँखा आवश्यकता भन्दा बढी रसिलो भएको, झोक्राएर बसेको साथै फनफनी घुम्ने खसी बोका छान्नु हुँदैन । बजारमा काटेको मासु हलुका गुलाबी रङको छ भने सम्झनुहोस् त्यो प्रयोग गर्नलायक छैन ।

यदि मासु हरियो तथा प्याजी रङको भएको छ भने त्यो खान योग्य मानिंदैन । मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध आउनु हुँदैन । मासु काट्दा र समाउँदा च्याप च्याप लाग्ने, तन्केको जस्तो हुनु हुँदैन । मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, तराजु र लगायतको पोशाक सफा छ कि छैन ध्यान दिनुपर्छ ।

मासु भण्डारण कसरी गर्ने ?

काँचो मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यत्तिकै राख्नु हुँदैन, छोपेर राख्नुपर्छ । कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन । माथिल्लो भागमा राख्दा मासुमा भएका कीटाणु मासुमै हुने तरल पदार्थ फ्रिजमा सर्कुलर हावा मार्फत तल्लो सतहमा झर्न सक्छ । तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी, शाकाहारीका लागि तयार पारिएका (छुट्याइएका परिकार, फलफूल तथा तरकारीमा पर्न सक्ने खतरा हुन्छ । काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु हुँदैन ।

मासु खाँदा ध्यान दिनुपर्ने कुरा

दशैं भनेर धेरै मासु खाने चलन छ तर यो गलत प्रवृत्ति हो । स्वस्थ मानिसले दिनभरमा १५० ग्राम मासु खानु उपयुक्त हुन्छ ।

– फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानुहोस् ।

– बासी तथा खुल्ला स्थानमा राखेको मासु नखाने ।

– काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा नखाने ।

– राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासु मात्र खाने । हामीमा मासु पखाल्नु हुन्न भन्ने मान्यता छ त्यो गलत हो ।

– बोसो तथा छालारहित मासुको प्रयोगमा धेरै जोड दिने ।

– मसला तथा तेलीय पदार्थ थोरै प्रयोग गर्नुपर्छ । लसुन, अदुवा र हरियो खुर्सानी प्रयोग गर्ने ।

– मासु खाँदा सलाद मुला, सलादपात र पुदिना बढी प्रयोग गर्नु राम्रो मानिन्छ, जसले पाचनक्रियामा सहजता ल्याउँछ ।

– मासु खाने बित्तिकै आइसक्रिम, दूध, दही, क्रिमका परिकार खानु उचित हुँदैन ।

  • २२ आश्विन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech