नागरिक अस्पतालको ४३ प्रतिशत सेयर किनेसँगै ह्याम्स अस्पतालको नयाँ व्यवस्थापनद्धारा ओपीडी सेवा सुरु

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०८१, बिहीबार

काठमाडौंः नागरिक अस्पतालको ४३ प्रतिशत सेयर किनेसँगै ह्याम्स अस्पतालले ओपीडी सेवा सुरु गरेको छ । भक्तपुर गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलको सेयर किनेको ह्याम्स अस्पतालले आजबाट औपचारिक रुपमा नयाँ भवनबाट ओपीडी सेवा सुरु गरेको हो ।

ह्याम्सले नागरिक अस्पतालको सेयर किनेपछि व्यवस्थापन पनि परिवर्तन भएको छ। नागरिक अस्पतालका नवनियुक्त अध्यक्ष आरएस भण्डारीसहित नागरिक अस्पताल बोर्डमा ह्याम्सबाट ६ जना बोर्ड सदस्य भएका छन्। भण्डारी ह्याम्स अस्पतालका अध्यक्ष हुन् । नागरिकमा ह्याम्स समूह भित्रिएपछि शैलेन्द्रमोहन झा, अरुण पाण्डे, सुरेश श्रेष्ठ, डा श्वेता झा, नागेन्द्र झा, डा शिवेन्द्र झा बाहिरिएका छन्।

उनीहरुले आफ्ना सम्पूर्ण सेयर बेचेर बाहिरिएका हुन्। नागरिकको ४३ प्रतिशत सेयर किन्न ह्याम्सले ९ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ। उक्त स्थानमा नयाँ भवन निर्माण गर्दै कर्पोरेट अस्पताल बनाइने लक्ष्य ह्याम्स समूहले लिएको छ। समूहले नयाँ अत्याधुनिक भवन निर्माण गरेर सेवा थप विस्तार गर्ने काम पनि अगाडि बढाइसकेको छ।

अध्यक्ष भण्डारीले बिहीबार नागरिक अस्पतालको नयाँ भवनबाट ओपीडी सेवा सुरु गरेको जानकारी दिए । भण्डारीले भक्तपुरमा कर्पोरेट अस्पतालका रुपमा विकास गर्न नागरिक अस्पतालको सेयर लिएको पनि बताए। नागरिक अस्पताल एक सय शय्या क्षमताको छ। अस्पतालसहित नागरिक अस्पतालसँग नागरिक कलेज अफ हेल्थ साइन्स र १२ रोपनी जग्गा समेत रहेको छ। कलेजमा नर्सिङ र एचए कार्यक्रम सञ्चालनमा छ।

  • १७ आश्विन २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech