गिजाको समस्या यस्तो समस्या हो, जुन जटिल अवस्थामा पुगिसक्दा पनि बिरामीहरूले ध्यान दिएका हुँदैनन् । गिजाको समस्या निम्तिने मुख्य कारण भनेको मुखको स्वास्थ्यमा ध्यान नदिनु हो । यदि गिजामा कुनै प्रकारको रोग लागेमा यसले दाँतमा पनि नराम्रो असर पार्न सक्छ । त्यसैले गिजा स्वस्थ रहनु धेरै महत्त्वपूर्ण छ ।
गिजाको समस्या निम्तिने प्रमुख कारण दाँत तथा गिजामा अड्किएको फोहोर हो । हरेक पटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिने हुन्छ । केही सेकेन्डमा नै पातलो तह बन्छ । यो प्रक्रिया दुई-चार घण्टादेखि सुरु भएर करिब चार दिनसम्ममा दाँतबाट ननिस्किने दन्ते लेउमा परिवर्तन हुन्छ । जसले गर्दा गिजाको क्रोनिक इन्फेक्सन हुन्छ ।
इन्फेक्सनको कारण गिजा सुन्निने, रगत आउने, खानेकुरा चपाउँदा दुख्ने हुन्छ । समस्या बढ्दै गएपछि दाँत नै हल्लिने र झर्ने समेत हुन्छ ।गिजा दाँतको लागि सुरक्षा कवच हो । यसमा समस्या आयो भने दाँतमा पनि समस्या निम्तिने भएकाले गिजाको हेरचाहमा ध्यान दिनुपर्छ । केही समस्या भएमा समयमै उपचार गर्नुपर्छ ।
गिजाको समस्या निम्तिने कारण
गिजाको समस्या निम्तिने मुख्य कारण त मुखको सरसफाइमा ध्यान नदिनु नै हो । अन्य कारणले भने गिजाको समस्यालाई प्रोत्साहन गर्छ । शरीरमा भएका विभिन्न रोगहरू जस्तै- मधुमेह, रगतसम्बन्धी विभिन्न समस्या, हर्मोनल गडबडीले गिजामा नकारात्मक असर पारिरहेको हुन्छ । मधुमेहको समस्याले आँखा, मिर्गौलामा असर गर्छ भनेको त हामीले धेरै सुनेका छौं । तर यसले गिजामा पनि समस्या निम्ताउँछ । त्यसैले मधुमेहका बिरामीले गिजाको स्वास्थ्यमा ध्यान दिनुपर्छ ।
रजोनिवृत्ति हुने बेलामा महिलामा मुख सुक्ने, मुखमा खटिरा आउने समस्या हुन्छ, जसले दाँतमा कीरा लाग्ने र गिजाको समस्या निम्तिने सम्भावना हुन्छ । गिजाको समस्या निम्तिने अर्को कारण वंशाणुगत पनि हो । यदि आमाबुबा र हजुरबुबा-हजुरआमामा गिजाको समस्या थियो भने उनीहरूको बच्चामा पनि यो समस्या निम्तिन सक्छ ।
आजभोलि हाम्रो जीवनशैली परिवर्तन भएको छ, बाहिरको प्याकेट बन्द खानेकुरा बढी खाने, गुलियो खानेकुरा खाने, चुरोट, रक्सी, गुट्का खानाले पनि गिजाको र दाँतको समस्या निम्तिन्छ ।
कसैको बानी रातको समयमा केही न केही खाने हुन्छ । राति विभिन्न खानेकुरा खाने र दाँत नमाझी, मुख कुल्ला नगरी सुत्ने बानी हुन्छ । त्यसले दाँत र गिजाको समस्या ल्याउँछ ।
गिजाको समस्यालाई सामान्य रुपमा हेर्नुहुँदैन
गिजाको समस्या भएर दाँत हल्लिन थाल्यो र दाँत अगाडितिर उछिट्टिन थाल्यो भने सबैभन्दा पहिले त मान्छेको मनोबल नै कमजोर हुन्छ । गिजाको समस्याको कारणले दाँत झरेर गयो भने खाना राम्ररी चपाएर खान मिल्दैन, प्रष्ट बोल्न मिल्दैन । खाना राम्ररी चपाएर निलिएन भने आन्द्रामा गएर ब्लक हुने जोखिम हुन्छ । राम्ररी नचपाएका कारण त्यो खाना शरीरमा राम्ररी अवशोषित भएन भने शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वको कमी हुन्छ ।
गिजा तथा दाँतको समस्या देखा पर्यो भने मान्छेहरूमा तनाव सिर्जना हुन्छ । तनावको कारण पनि गिजा र दाँतको समस्या निम्तिन सक्छ । पछिल्लो समय तनाव एकदमै धेरै बढेको छ । स्कुल जाने बालबालिका, अफिस जाने युवा र बुढाबुढी सबैलाई तनाव छ । त्यो तनावले दन्त स्वास्थ्यलाई असर गर्छ ।
तनावमा भएको व्यक्तिले मुखको स्वास्थ्यलाई ध्यान दिन पाउँदैनन् । जसले गर्दा दाँत र गिजा बिग्रिने सम्भावना बढी हुन्छ । कसैले मानसिक रोगको औषधि सेवन गरिरहेका छन् भने त्यसले मुख एकदमै सुक्खा हुने हुन्छ । जसकारण पनि दाँत र गिजालाई असर गर्छ ।
तनावमा हुने व्यक्तिले ‘दाँत किट्ने’ तल र माथिको दाँतलाई कडा रुपमा जोड्ने गर्छन् । यसरी दाँत किट्दा दाँत तथा मांसपेशीमा धेरै दबाब पर्छ, जसले गर्दा गाला गल्ने, कन्चट गल्ने र टाउको भारी हुने समस्या हुन्छ ।
दाँत र टाउकोको दुखाइ सरेर घाँटी, काँध र ढाडसम्म पनि पुगेको भेटिन्छ । तनावले दाँत किट्ने समस्याले गर्दा जाँत एकापसमा रगडिएर दाँत खिइने र दाँत चर्किने समस्या समेत हुनसक्छ । हरेक व्यक्तिको दाँत बुढेसकाल लागेपछि झर्छ भन्ने होइन । पहिलेदेखि गिजाको समस्या थियो र त्यसको उपचार नगर्दा दाँत झर्ने समस्या हुन्छ ।
समयमै उपचार भएन भने थप जटिलता
गिजाबाट रगत आउँछ, चिलाउँछ, सुन्निएको छ, खानेकुरा चपाउँदा दुख्छ, दाँत उछिट्टिएको छ, फाटिएको छ र हल्लिन्छ भने गिजा रोगको लक्षण हो । यसको उपचार भएन भने हेलचेक्र्याइँ गरे गिजाले दाँतलाई छोड्दै जान्छ, जसलाई क्रोनिक अवस्था भनिन्छ । जसमा ‘पी जिन्जिभाइलस’ भन्ने कीटाणु हुन्छ । त्यो कीटाणु रगतमा पुगेर शरीरको अन्य भागको संक्रमणमा प्रोत्साहन गरेको पाइएको छ । यो कीटाणु मुटु र फोक्सोमा पुगेर संक्रमण गरेको र अल्जाइमर तथा डिमेन्सिया भएको व्यक्तिको मस्तिष्कसम्म पुगेको पाइएको छ । मुखको संक्रमणमा हुने अर्को कीटाणु ट्रेपोनेमा डेंटिकोलाले म्याट्रिकको समस्या निम्त्याएको पनि पाइएको छ ।
गिजाको समस्याबाट बच्ने उपाय
सकेसम्म वर्षको दुई पटक ६-६ महिनाको फरकमा दन्त चिकित्सक वा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुका साथै दाँत सफा गराउनुपर्छ । दिनको दुई पटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्नुपर्छ । दाँत माझ्नुका साथै हरेक पटक खाना खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्ते लेउ जस्तो फोहोर बस्न दिंदैन ।
दाँतको बीच-बीचमा रहेका फोहोरहरू ब्रस गर्दा ननिस्किन सक्छ । त्यसैले दिनको एक पटक डेन्टल फ्लसको प्रयोग गरेर निकाल्नुपर्छ । प्रशस्त मात्रामा पानी पिउनुपर्छ । दाँतमा टाँसिने वा गुलिया खानेकुराहरू एकदमै कम मात्रामा खानुपर्छ । सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन । सन्तुलित खाना खानुपर्छ ।