गुल्मीः गुल्मीमा तीन सय जनाभन्दा बढीमा एचआइभी सङ्क्रमण देखिएको छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा ३४७ जनामा एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पताल तम्घासको तथ्याङ्कमा उल्लेख छ । भदौ मसान्तसम्म यस जिल्लाका सङ्क्रमितरुमध्ये २०४ जनाले गुल्मी अस्पताल अन्तर्गत रहेको एचआइभी तथा एड्स एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) सेन्टरबाट एचआइभी प्रतिरोधात्मक औषधी सेवन गर्नुभएको एआरटी फोकल पर्सन पुष्कर घिमिरे जानकारी दिए ।
विशेषगरी आप्रवासी वा रोजगारीका लागि विदेशिनेहरुबाट र तीनका जीवनसाथी, जेलकैदी बन्दी, आमाबाट बच्चालगायतमा एचआइभी सङ्क्रमण फेला परेको छ । यस जिल्लामा सामुदायिक हेरचाह केन्द्र र घर समुदायमा आधारित कार्यक्रमअन्तर्गत एचआइभीको जोखिम समूहलाई एचआइभी परीक्षण गरिँदै आइएको छ । अहिले औषधीले काम गरेको नगरेको हेर्नका लागि गुल्मी अस्पतालमा भाइरल लोड परीक्षण सेवा सञ्चालनमा ल्याइएको छ । यहाँ आर्थिक वर्ष २०७९-०८० मा १८२ जनाले परीक्षण गराउनुभयो । आर्थिक वर्ष २०८०- ०८१ मा १३४ जनालाई परीक्षण गर्दा १३३ जनामा भाइरल लोड सप्रेषण रहेको अर्थात औषधीले काम गरिरहेको उनले बताए।
आव २०७८-०७९ मा २० जना, आव २०७९-०८० मा १५ जना र आव २०८०-०८१ मा १३ जनामा नयाँ सङ्क्रमित पत्ता लगाइएको तथ्याङ्कमा उल्लेख छ । अस्पतालमा एचआइभी परीक्षण र परामर्श सेवा, एन्टिरेट्रोभाइरल थेरापी, एसटीआइ परीक्षण र उपचार सेवा, टिबी स्क्रिनिङ र जीनएक्पट जाँच सेवा, अवसरवादी सङ्क्रमणको उपचार, भाइरल लोड लगायतका सेवा यहाँबाट दिइने बताइएको छ ।
यहाँ राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल, हाम्रो जीवन प्लस र इपिक नेपालले एचआइभी परीक्षण गर्दै आएका छन् भने सङ्क्रमित हो होइन भनी गुल्मी अस्पतालले प्रमाणित गर्ने एआरटी सेन्टरका फोकल पर्सन घिमिरे बताए । नियमित औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति वृद्धि भई अवसरवादी सङ्क्रमणबाट जोगाउनुका साथै शरीरमा भाइरलको सङ्ख्या नगण्य भएको अवस्थामा एचआइभी अरुमा नसर्ने अवस्थामा पुग्ने र मृत्युदर कम गर्ने एन्टीरेट्रो भाइरल थेरापीले सहयोग गर्ने उनको भनाइ छ ।