नेपालगन्जः लुम्विनी प्रदेश मातहतमा रहेका १४ वटा अस्पतालहरु मध्ये बर्दिया अस्पताल पछिल्ला पाँच वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएको छ । आर्थिक वर्ष २०८०-०८१ मा पनि स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरी मुख्य-मुख्य सुचांकहरुको आधारमा गरिएको मूल्यांकनमा प्रदेश मातहत अन्तर्गत रहेका अस्पतालहरु मध्ये बर्दिया अस्पताल पहिलो हुन सफल भएको हो ।
यसअघि ७७, ७८, ८० मा पनि पहिलो भएको थियो । ७९ मा भने दोस्रो भएको थियो । स्वास्थ्य निर्देशनालय लुम्विनीले लमहीमा आयोजना गरेको प्रदेश स्तरीय वार्षिक समिक्षामा ७२.४२ प्रतिशत अंक ल्याएर बर्दिया अस्पताल प्रथम हुन सफल भएको अस्पतालका मेसु सुभाष पाण्डेले स्वास्थ्य पेजलाई जानकारी दिए ।
त्यसैगरी लुम्विनी प्रादेशिक अस्पताल ६८.०९ प्रतिशत अंक ल्याएर दोस्रो र अर्घाखाँची अस्पताल ६३.५४ प्रतिशत अंक ल्याएर तेस्रो भएका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, इमरजेन्सी, बहिरंग सेवा, फार्मेसी, प्रयोगशाला, अस्पताल प्रशासन, सुशासन, जवाफदेहिता लगायतका सूचांकका आधारमा बर्दिया अस्पताल अब्बल बन्दै आएको छ ।
५० शय्याको अस्पतालमा विशेषज्ञ जनशक्ति र उपकरणको अभावका बीच पनि अस्पतालले स्तरीय सेवा प्रदान गर्दै आइरहेको मेसु पाण्डेले बताए । जनशक्ति अभावबीच न्यूनतम जनशक्तिले पनि अत्याधुनिक प्रयोगशाला, सुत्केरी सेवा, चौविसैं घण्टा ईमरजेन्सी र फार्मेसी खुला रहने गरेको मेसु डाक्टर पाण्डेले बताए । पछिल्लो समय मिर्गौला रोगका बिरामीहरुलाई डायलाइसिस सेवा समेत अस्पतालले प्रवाह गर्दै आएको छ । उपचार सेवा राम्रो भएपछि बर्दिया अस्पतालमा विरामीको चाप बढेको छ ।