सरकारले बीमा वापतको रकम नदिँदा राप्ती स्वास्थ्य प्रतिष्ठानलाई समस्या

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०८१, बुधबार

नेपालगन्जः दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले संघीय सरकारले स्वास्थ्य बीमा वापतको रकम समयमै उपलब्ध गराउन नसकेको जनाएको छ । बीमा रकम नदिएका कारण बिरामीलाई दिनुपर्ने औषधि र उपचार सामग्री खरिद गर्न समस्या भएको पनि अस्पतालले जनाएको छ ।

सरकारले प्रतिष्ठानलाई बीमा उपचार सेवा तथा डायलासिस र सिकलसेल उपचारवापत १२ करोड १५ लाख ८४ हजार ४६७ रुपैयाँ भुक्तानी दिन बाँकी छ । सरकारले यो रकम नदिंदा औषधि र उपचार सामग्री सप्लायर्सलाई प्रतिष्ठानले भुक्तानी दिन नसकेपछि सप्लायर्सले आपूर्ति रोक्दा उपचार सेवा र बिरामी प्रभावित भएका प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेले बताए। प्रतिष्ठानले औषधि सप्लायर्सहरुलाई १३ करोड ४२ लाख रुपैयाँ तिर्न बाँकी छ ।

सप्लायर्सहरुलाई भुक्तानी दिन नसकेका कारण औषधि र उपचार सामाग्री नै नपाउने अवस्थाले उपचार रोकिने अवस्था आएको प्रतिष्ठानका रजिस्ट्रार प्रा। श्याम लम्सालले बताए । स्वास्थ्य बीमाकै लागि प्रतिष्ठान एक करोड बढी ऋणमा गएको भन्दै लम्सालले कर्मचारीलाई तलब दिने अवस्था समेत नभएको बताए । रसायन तथा सर्जिकल एशोसिएसन दाङका अध्यक्ष बालकुमार घर्तीले आफूले प्रतिष्ठानबाट ६ करोड रकम भुक्तानी पाउन बाँकी रहेको बताए ।

दाङका राजनीतिक दलहरूले भने प्रतिष्ठानलाई सेवा नरोक्न आग्रह गरेका छन् । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले संघीय सरकारबाट पाउनुपर्ने भुक्तानीका लागि आफूहरुले सक्दो समन्वय गर्ने भन्दै उपचार रोकिन नहुने बताए । प्रतिष्ठानमा वार्षिक एक लाख ६३ हजार २७३ बिरामीले सेवा लिइरहेका छन् । जसमध्ये ४७ हजार ७१९ बिमाको सेवा लिने बिरामी छन् । दैनिक ३०० बिरामीले ओपिडि सेवा लिन्छन् ।स्वास्थ्य बीमा बोर्ड दाङका प्रमुख बसन्त लामिछानेका अनुसार जिल्लामा हालसम्म ५९ हजार १७१ जनाको स्वास्थ्य बीमा भएको छ । यो जिल्लाको कुल जनसंख्याको ८ प्रतिशतमात्रै हो ।

  • १६ आश्विन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech