के हो फाइब्रोसिस्टिक ब्रेस्ट सिस्ट ?

    • डा. मनिष थापा / इन्टरभेन्सनल रेडियोलोजिस्ट

  • १५ आश्विन २०८१, मंगलवार

स्तन वरपर छाम्दा गाँठागुठी देखियो भने चिकित्सकलाई देखाउनुपर्छ । किनकि महिलामा देखिने यस्ता गाँठागुठीले कहिलेकाहीं क्यान्सरको रुप लिन सक्छ । तर गाँठागुठी छ भन्दैमा डराउनु भने पर्दैन । किनकि स्तनमा देखिने ८० प्रतिशत गाँठागुठी क्यान्सररहित हुन्छ । यी क्यान्सररहित गाँठागुठीलाई चिकित्सकीय भाषामा ‘फाइब्रोसिस्टिक ब्रेस्ट सिस्ट’ भनिन्छ ।

के हो फाइब्रोसिस्टिक ब्रेस्ट सिस्ट ?

स्तनको दुवै भाग वा एकपट्टि देखिने स-साना गाँठागुठीलाई फाइब्रोसिस्टिक सिस्ट भनिन्छ । यी गाँठाहरु हानिकारक हुँदैनन् । तर पनि छुँदा दुख्न सक्ने हुँदा महिला तथा किशोरीहरूमा तनावको स्थिति हुनसक्छ । यस्तो गाँठो आएमा चुप लागेर परीक्षण नगराई बस्नु भने हुँदैन । चिकित्सकले परीक्षण नगरी कस्तो खालको गाँठो हो भनेर पत्ता लाग्दैन ।

किन देखिन्छ यस्तो समस्या ?

यो समस्या देखा पर्छ भन्ने ठोस कारण पत्ता लागेको छैन । विशेषगरी एस्ट्रोजेनको स्वरुपमा हुने गडबडले यो समस्या गराएको हुनसक्ने विज्ञहरूको अनुमान छ । वयस्क महिलामा मात्र नभई किशोरीहरुमा पनि तनाव, हर्मोनको गडबडी र जीवनशैलीका कारण स्तनको वरपर प्रायः गिर्खा देखिइरहेको हुनसक्छ ।

जुन महिनावारी हुँदा आकारप्रकार अलि बढ्ने र सकिएपछि घट्ने हुन्छ । यस्ता गिर्खामा क्यान्सर हुँदैन । यो समस्या भइसकेपछि मदिरापान र क्याफिनको सेवनले भने गाँठोको आकारमा परिवर्तन गराउन बढावा दिन्छ ।

के यो स्तनसम्बन्धी रोग भन्न सकिन्छ ?

पक्कै होइन, यो अवस्थालाई विगतका दिनमा फाइब्रोसिस्टिक ब्रेस्ट डिजिज भनिन्थ्यो । तर अहिलेको अवस्थामा भने स्वास्थ्यकर्मीले यसलाई रोग मान्दैनन् । किनकि फाइब्रोसिस्टिक ब्रेस्ट हुनु सामान्य हो, यसले कुनै ठूलो हानि गर्दैन । यो धेरैमा देखा पर्ने समस्या हो ।

कसले अनुभव गर्न सक्छन् ?

२० देखि ५० वर्ष उमेर समूहका ५० प्रतिशत महिलाले यो समस्या अनुभव गर्न सक्छन् । रजोनिवृति भएका महिलामा यो समस्या न्यून मात्रामा देखिन्छ । कहिलेकाहीं स्तनपान नगराउँदा, महिनावारी अनियमित हुँदा स्तनमा सिस्ट (पानीको फोका) देखिन सक्छ । यो चलाउँदा हल्लिने र नरम खालको हुन्छ ।

स्तनलाई कसरी प्रभाव पार्छकस्तो देखिन्छ लक्षण ?

यो समस्या भएमा सुरुमा एक वा दुवै स्तनमा गाँठागुठी देखिन सक्छ । जुन छाम्दा हल्का सुन्निएको र दुखेको अनुभव हुन्छ । सो गाँठो गोलो वा अण्डाकार आकारको हुन्छ । गाँठो सार्दा वरपर सर्ने खालको हुन्छ । महिनावारीमा हुने हर्मोन असन्तुलनको यसै पनि सामान्य अवस्थामा पनि स्तनमा गाँठो देखिने र दुख्ने गर्छ ।

यस्तोमा पहिलेदेखि नै गाँठो भएमा महिनावारी हुनुअघि नै थप दुखाई हुनसक्छ । किनकि यो समयमा सिस्ट बढेर स्तनको तन्तुमा दबाब दिन्छ । अरुबेलामा छाम्दा दुख्न सक्छ । कहिलेकाहीं काखीमुनि पनि दुखेको अनुभव हुनसक्छ । यी लक्षण ३० वर्षको उमेर पछि थप जटिल बन्ने र ३५ वर्ष पछि सामान्य हुँदै आउन सक्छ । तर दुई इन्चभन्दा ठूलो भएमा भने शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

पहिचान

आफ्नो स्तन आफैं जाँच्ने

१८ वर्ष उमेरभन्दा माथिका महिलाले प्रत्येक महिना महिनावारी भएको पाँचदेखि सात दिनमा आफ्नो स्तन आफैं जाँच गर्नुपर्छ । महिनावारी सुकिसकेका महिलाले प्रत्येक महिनाको एउटै दिनमा आफ्नो स्तन जाँच गर्नुपर्छ ।

स्तनको आकार तथा प्रकारमा हुने परिवर्तनका बारेमा सुरूको अवस्थामा थाहा पाउनुपर्छ । केही परिवर्तन भेटिएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।

मेडिकल परीक्षण

यदि आफैं परीक्षण गर्दा गाँठोको अनुभव भएमा चिकित्सकको परामर्शपछि अल्ट्रासाउन्ड गर्न सकिन्छ । अल्ट्रासाउन्डबाट नै सिस्टको आकारप्रकारको अवलोकन गरी क्यान्सर हो वा फाइब्रोस्टिक सिस्ट हो भन्ने कुरा पत्ता लाग्छ ।

शंकास्पद लागे चिकित्सकले बायोप्सी वा एफएनएसी गर्न सुझाउँछन् । सिस्ट देखा परेमा ६-६ महिनामा स्तनको परीक्षण गराउनुपर्छ । आकारमा फेरबदल भए सो अनुसारको सावधानी अपनाउन सकिन्छ ।

उपचार

फाइब्रोसिस्टिक सिस्ट भएको पत्ता लागेमा यसमा उपचारको आवश्यकता पर्दैन । तर आफूलाई असहज भयो र दुखाइ बढिरहेको छ भने त्यसका लागि सामान्य उपचार र जीवनशैलीमा परिवर्तन गरेमा लक्षण कम गर्न सकिन्छ ।

यदि फाइब्रोसिस्टिक सिस्ट एकदमै सानो छ भने प्राथमिक उपचार र खानपानमा ध्यान दिएर नियन्त्रण गर्न सकिन्छ ।

त्यसका लागि अत्यधिक दुखाइ भएमा दुखाइ निवारक औषधि खाने, सहज खालको ब्रा लगाउने, सहन सक्ने तातो वा चिसो पस्तुले सेक्न सकिन्छ । त्यस्तै, अत्यधिक मात्रामा नुन, क्याफिनयुक्त खानेकुरा कम गर्नुपर्छ । केही अध्ययनले फ्ल्याक्स सिड खाने वा साँझमा तेलले मसाज गर्ने र भिटामिन ई सप्लिमेन्टले पनि सिस्टको लक्षण रोक्न मद्दत गर्ने देखाउँछ ।

यदि सिस्ट दुई इन्चभन्दा बढी छ भने चिकित्सकले फाइन निडल एसपिरेसन (एफएनएसी) गरी सिस्टमा भएको तरलपदार्थ सुकाउन सकिन्छ । अत्यधिक ठूलो र सहन नसक्ने खालको डल्लाडुल्लीलाई शल्यक्रिया गरी निकाल्न सकिन्छ ।

  • १५ आश्विन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech