रुकुमपूर्वः रक्तस्राप नरोकिएपछि र सालनाल नखसेपछि रुकुमपूर्वको सिस्ने गाउँपालिका-१ भट्टेचौरबाट हेलिकप्टरमार्फत एकजना सुत्केरीको उद्धार गरिएको छ ।
मंगलबार बिहान ८ः ४० मा बच्चा जन्माएकी २० वर्षीया रेजिना बुढाको रक्तस्राप भएको र सालनाल नखसेका कारण थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको स्थानीय स्वास्थ्य चौकीकी अनमी लक्ष्मी गिरीले जानकारी दिइन् ।
बच्चा जन्मिए पनि पाठेघरबाट रगत बग्न नरोकिएको र आमाको अवस्था गम्भीर रहेको भन्ने खबर आएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।
स्थानीय स्वास्थ्य संस्थाबाट प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको उनले बताए । सोमबार साँझबाट श्रीमतीलाई सुत्केरी ब्यथा लागेको र आज बिहान स्वास्थ्य चौकी ल्याइपुर्याएको रेजिनाका श्रीमान् दुर्गेमले बताए ।
बच्चा जन्मिँदासम्म रेजिनाको अवस्था सामान्य नै थियो । पछि गाह्रो भएपछि स्वास्थ्य चौकी पुर्याइएको उनले बताए ।