मुटु स्वास्थ्यबारे सचेतना फैलाउन नेपालगन्जमा र्‍याली

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०८१, आईतवार

नेपालगन्ज: मानिसले स्वस्थ खानपिन गर्ने, व्यायाम गर्ने र आफ्नो जीवनशैलीमा ध्यान दिएमा मुटुरोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । नेपाल चिकित्सक संघ भेरी शाखा नेपालगन्जले विश्व मुटु दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वस्थ जीवनशैली अपनाउने हो भने मुटुसम्बन्धी समस्याबाट बच्न सकिने बताएका हुन् ।

कार्यक्रममा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा.कृष्ण अधिकारीले खासगरी उच्च रक्तचाप, मधुमेह लगायतका समस्यालाई नियन्त्रणमा राख्न सके मुटुरोगबाट निम्तने खतरा टर्न सक्ने बताए । उनले विश्व मुटु दिवस मनाउने भनेकै यो रोग के हो ? र, कसरी बच्न सकिन्छ भनेर जानकारी बढाउनका निमित्त भएकाले यस्ता कार्यक्रमको उपयोगिता महत्त्वपूर्ण रहेको बताए ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले मुटुरोगी भई उपचारका लागि अस्पतालसम्म पुग्नुभन्दा सचेत भई रोग लाग्नै नदिन स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे ।

यस्तै भेरी अस्पताल नेपालगन्जका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.विकास नेपालले विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग कै कारण हुने गरेको र करोडौ यसबाट पीडित भईरहेको भन्दै यसको हानीबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुको विकल्प नभएको बताएका छन् ।

यो एउटा प्रकोपकै रूपमा देखा परिरहेको भन्दै उनले विश्वव्यापी रुपमै मुटुरोग केन्द्रित विभिन्न योजनाहरु बनाउन र जनचेतना फैलाउन आवश्यक रहेको बताए । मुटुरोगबाट बच्नलाई उच्च रक्तचाप नियन्त्रण गर्न, धुमपानको आदत त्याग्न, तौल घटाउन, मुटु स्वस्थ बनाउन रातो मासु नखान, थोरै नुन खान, खाना र पेयमा राखिने चिनिको मात्रा घटाउन र तनावमुक्त भई सक्रीय रहन डा.नेपालले सबैमा आग्रह गरेका छन् ।

यस्तै भेरी अस्पतालका सूचना अधिकारी डा.संकेत रिसालले जनमानसमा जनचेतना जगाई मुटुरोगबाट निम्तने खतरा टार्न यसखालका कार्यक्रमलाई व्यापकता दिन आग्रह गरे । संघका अध्यक्ष डा.बिनोद थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु, औषधि कम्पनीका बजार प्रतिनिधि,पत्रकार लगायतको उपस्थिति थियो ।

ग्लेनमार्क कम्पनीको सहकार्यमा ओयोजित कार्यक्रमका सहभागीहरुले संघको कार्यलयबाट गणेशमानचोकसम्म विभिन्न जनचेतनामुलक सन्देश सहितका प्लेकार्डका साथ र्‍याली निकालेका थिए । यस्तै दिवसकै अवसरमा नेपालगन्ज मेडिकल कलेजले पनि र्‍याली निकालेको थियो ।

सूचनामूलक प्लेकार्ड सहित अस्पतालमा कार्यरत चिकित्स्क, स्वास्थ्यकर्मी लगायत र्‍यालीमा सहभागी थिए । हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्वभर नै विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी विश्व मुटु दिवस मनाउने गरिन्छ । यो वर्ष ‘युज हार्ट फर एक्सन’ भन्ने नाराका साथ दिवस मनाईदै छ ।

 

 

  • १३ आश्विन २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech