नेपालगन्जः गोपाल–नीना फाउण्डेशन, नेपालगन्जद्वारा शनिवार बृहत् रक्तदान कार्यक्रम गरिएको छ । बाँके जिल्लामा अहिले रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान गरौंः जीवन उपहार दिउँ” भन्ने नाराका साथ गरिएको रक्तदान कार्यक्रममा १० जना महिला सहित ५७ जनाले रक्तदान गरेको गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले जानकारी दिए ।
फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठका अनुसार स्वास्थ्यकर्मी, चिकित्सक, फाउण्डेसनका कर्मचारी, औषधि वितरक प्रतिनिधि तथा अन्य स्वास्थ्य संस्थाहरुमा कार्यरत व्यक्तिहरुले रक्तदान गरेका हुन् । गोपाल–नीना फाउण्डेशनका अभिभावक सुप्रसिद्ध वरिष्ठ फिजिसियन डा. गोपाल श्रेष्ठ र सुप्रसिद्ध वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नीना श्रेष्ठले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिकलाई रगत संकलन गर्ने पाकेट हस्तारण गरी रक्तदान कार्यक्रमको सुभारम्भ गरेका थिए ।

डा.गोपाल श्रेष्ठ र डा.नीना श्रेष्ठ ।
कार्यक्रममा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, बरिष्ठ अधिवक्ता लोक बहादुर शाह,फाउण्डेसनका कार्यालय प्रमुख दिलिप गिरी, डा. आलिया गुफरान, डा. सविन श्रेष्ठ, डा. चन्दन कुमार साह, डा. चन्दन कुमार सिंह, डा.नैमुद्दीन अन्सारी लगायतले रक्तदान गरेका थिए । सो अवसरमा फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले प्राविधिक सहयोग गर्ने प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्ज, समन्वयकारी भूमिका निर्वाह गर्ने हेल्थ याद आयो, औषधि वितरक प्रतिनिधि, औषधि व्यवसायीहरु तथा रक्तदाताहरुलाई प्रशंसा पत्र र टिशर्ट प्रदान गरेका थिए ।
रक्तदान कार्यक्रममा डा. विनोद कुमार थापा, डा. कल्पना थापा, डा. रोमन किदवाई, समाजसेवी सेमराज शाक्य, जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुके, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल लगायतको सहभागिता रहेको थियो ।