नेपालगन्ज: भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु)को कार्यभार सम्हाले लगत्तै डा.निराजन सुवेदीले अस्पतालमा पोष्ट ग्य्राजुयट (पिजी) कार्यक्रमलाई संस्थागत बनाउने प्रयास थालेका छन् ।
पिजी कार्यक्रमका लागि यसअघिका मेसुहरुले प्रयास गरेपनि सार्थकता भने पाउन सकेको थिएन् । नेशनल ऐकेडमी अफ मेडिकल साइन्स (न्याम्स)सँग पिजी कार्यक्रमका लागि सम्झौता पत्रमा आज हस्ताक्षर भएसँगै भेरी अस्पतालमा एमडी÷एमएस अध्ययनको बाटो खुलेको छ ।
न्याम्सका उपकुलपति डा.भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ‘भेरी र न्याम्सबीचको यो सम्झौता पत्रलाई एकेडेमिक काउन्सिलको आजको बैठकमा पेस गरिएको छ डा.सुवेदीले स्वास्थ्य पेजलाई भने–‘सम्भवतः आजै पारित हुन्छ । र, २१ गते न्याम्सको सिनेटले डिसिजन गर्नेछ ।’
तीन वर्ष अघि तत्कालीन मेसु डा.प्रकाश बहादुर थापा र तत्कालीन उपकुलपति गणेश गुरुङबीच पनि भेरी अस्पतालमा एमडी/एमएस अध्ययनका लागि सम्झौता भएको थियो । सिनेटबाट पारित भने भएको थिएन ।
सम्झौताकै आधारमा न्याम्सले भेरी अस्पतालका तत्कालीन अर्थोपेडिक विभाग प्रमुख डा.विनोद थापालाई प्रोफेसर बनाएको थियो । थापा, अर्थोपेडिक सर्जनद्धय तिर्थेन्द्र खड्का र प्रकाश बहादुर थापाको अण्डरमा रहनेगरी न्याम्सले ८ जना विद्यार्थी अध्ययनका लागि भेरीमा पठाएको थियो ।
सरकारले शैक्षिक दरवन्दी नपठाउँदा यो कार्यक्रम बीचमै रोकिएको थियो । भेरी अस्पतालमा संस्थागत हुन नसकेको पिजी कार्यक्रमलाई प्रमुख मेसु डा.सुवेदीले आफ्नो प्रमुख एजेण्डा बनाएर सार्थक बनाउने प्रयासमा छन् ।
तीन सय वेडमाथिका संघीय अस्पतालहरुमा पिजी कार्यक्रम सञ्चालन गर्ने नेपाल सरकारको नीति छ । सिनेटले सम्झौता पारित गरे भेरी अस्पतालका कन्सल्टेन्ट चिकित्सकहरुले फ्याकल्टी पोष्ट प्राप्त गर्नेछन् । शैक्षिक एकेडेमीका हिसाबले यो भेरी अस्पतालका लागि सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हुनेेेछ ।
‘भेरी अस्पतालको गुणस्तरीय सेवा प्रवाहलाई सकारात्मक प्रभाव पार्नका निमित्त पनि अस्पतालमा शैक्षिक गतिविधिलाई बढाउन आवश्यक छ उनले भने–‘यो सम्झौताले मापदण्ड पूरा गरेका कन्सल्टेन्ट चिकित्सकहरुले प्राध्यापक, सह–प्रध्यापक लगायतका पोष्टहरु पाउनेछन् ।’ त्यसैको आधारमा न्याम्सले एमडी/एमएस अध्ययनका लागि भेरी अस्पताललाई विद्यार्थी संख्या पठाउने छ ।