विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वमा वर्षेनी ५९ हजार मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ । जसमध्ये ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् । संक्रमित जनावरबाट फैलिने रेबिज विरुद्ध खोप समयमा लगाएमा यसको संक्रमण र मृत्यु हुने जोखिमबाट बच्न सकिन्छ । यति हुँदाहुँदै पनि कुकुरले एक पटक टोकेकै भरमा हजारौंले ज्यान गुमाउनुको कारण भनेको रेबिजबारे जानकार नहुनु हो । सोही रेबिजबारे विस्तृतमा बुझाउन अनलाइनखबरले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनसँग सोधेको २० प्रश्नोत्तर :
रेबिज भनेको के हो ?
रेबिज भनेको एक प्रकारको जनावरको टोकाइबाट सर्ने भाइरजन्य संक्रमण हो । यदि रेबिज लागेको जनावरले टोकेमा यस विरुद्ध खोप नलगाएमा रेबिज संक्रमण जनावरबाट मानिसमा सर्न सक्छ । यो रोग लागिसकेपछि निको हुन असम्भव छ ।
सबै किसिमको जनावरबाट रेबिज लाग्न सक्छ ?
सामान्यतया तातो रगत भएको र स्तनधारी जनावरको टोकाइबाट रेबिज लाग्न सक्छ । तर जनावरको टोकाइबाट मृत्यु हुनेको तथ्यांक केलाउँदा सबैभन्दा बढी कुकुरको टोकाइबाट रेबिज संक्रमण भएको पाइन्छ । तर घोडा, खरायो, मुसाले टोकेको खण्डमा रेबिज विरुद्ध खोप दिइँदैन । नेपाल सरकारकै मापदण्डमा पनि यी जनावरले टोकेमा रेबिजको जोखिम नहुने हुँदा रेबिज लगाउन नपर्ने उल्लेख छ । तर विगतमा ती जनावरहरूमा पहिला शंकास्पद बहुला कुकुर वा बहुला जनावरले टोकेको छ भने रेबिज विरुद्ध खोप लगाउन आवश्यक छ ।
कुकुरले टोक्नासाथ रेबिज लाग्छ ?
संक्रमित कुकुरले टोक्ने बित्तिकै रेबिज लागेर मृत्यु भइहाल्ने हुँदैन । रेबिज विरुद्ध खोप नलगाए टोकेको एकदेखि तीन महिनाको समयमा संक्रमण भएपछि लक्षण देखिन्छ । टोकाइ अत्यधिक गहिरो र घाँटीभन्दा माथि, नङको टुप्पो र अन्य अङ्गमा भएपनि गहिरो र गम्भीर टोकाइ भएमा एक महिनाअघि नै लक्षण देखिन थाल्छ । नेपालमा भने औसतमा ६ देखि आठ महिनाको हाराहारीमा रेबिज लागेको केसहरू पनि छन् ।
बाटोमा हिंड्दा कुनै कुकुरले टोकेमा पनि रेबिज लाग्ने डर हुन्छ ?
बाटोमा हिंड्दा कुनै कुकुरले टोकेमा रेबिज लाग्ने सम्भावना उच्च रहन्छ । किनकि त्यो कुकुरमा रेबिज लागेको छ कि छैन भनेर टुङ्गो लगाउन कठिन हुन्छ । त्यसैले यदि कुनै अपरिचित कुकुरले टोकेमा रेबिज विरुद्धको खोप लगाउनु नै उचित हुन्छ ।
खोपको पहुँच नेपालभर छ ?
नेपाल सरकारले स्वास्थ्य चौकी, जिल्ला तथा प्रादेशिक अस्पतालहरूमा यस विरुद्ध खोपको व्यवस्था गरेको छ । र, यो खोप पायक पर्ने सरकारी अस्पताल र स्वास्थ्य चौकीमा निःशुल्क लगाउन पाइन्छ ।
कुकुरले टोकेको कति अवधिसम्म खोप लगाइसक्नुपर्छ ?
कुकुर वा जनावरले टोकेपछि जतिसक्यो छिटो खोप लगायो त्यति छिटो काम गर्ने हुँदा तुरुन्त लगाउनु उचित हुन्छ । तर कुनै कारणवश ढिला हुँदा पनि थाहा पाउने बित्तिकै वा खोपको उपलब्धता हुने बित्तिकै लगाउनुपर्छ । किनकि रेबिजको लक्षण बहुला कुकुरले टोक्ने बित्तिकै नदेखिएर महिनौंदेखि वषौं समय लाग्न पनि सक्ने हुँदा ढिलै खोप लगाए पनि रेबिजको संक्रमणको असर कम गर्न सकिन्छ ।
रेबिज विरुद्ध के कस्ता खोप पाइन्छ ?
रेबिज विरुद्ध रेबिज इम्युनोग्लोबिन र एन्टी रेबिज गरी दुई प्रकारको खोप पाइन्छ । टोकाइको प्रकृति गम्भीर खालको टोकाइ भएमा रेबिज इम्युनोग्लोबिन खोप दिइन्छ । रेबिज इम्युनोग्लोबिन पनि दुई प्रकारका हुन्छन्- इक्विनरेबिज इम्युनोग्लोबिन र ह्युमन इम्युनोग्लोबिन (एचआरआईजी) । ह्युमन इम्युनोग्लोबिन (एचआरआइजी) तुलनात्मक रूपमा महंगो खोप भएकाले इक्युनरेबिज सुलभ र सुरक्षित पनि मानिने अधिकतर इक्युनरेबिज खोप दिइन्छ । संक्रमित टोकाइले बनेको घाउमा भाइरसको वृद्धि विकास हुनसक्छ । यो खोपले भाइरस भएको स्थानमै निष्क्रिय पार्छ । त्यस्तै, अर्को खोप एन्टी रेबिज भने पाखुरामा दिइन्छ । त्यो खोपलाई काम गर्न कम्तीमा पनि एक साता लाग्छ । यो खोपले गम्भीर प्रकृतिको घाउमा तुरुन्तै प्रभाव नपार्ने हुँदा गम्भीर घाउमा इक्युनरेबिज खोप दिइने गरिन्छ । पछिल्लो समय खोप दिने तरिकामा पनि फरकपन आएको छ ।
कति पटक खोप लगाउने ?
सन् २०१९ मा परिमार्जन गरिएको नेपाल सरकारले रेबिज खोपबारे निर्देशिका अनुसार खोप चार पटक लगाए पुग्छ । खोप लगाउने पनि दुई तरिका छन् । एउटा मासुमुनि चार पटक लगाउने र अर्को छालामुनि दुईपट्टि गरी लगाउने । मासुमुनि लगाउने खोप पहिलो दिन त्यसपछिको तीन, सात र चौध दिनमा दिइन्छ । त्यस्तै, छालामुनि लगाउने खोप तालिमप्राप्त स्वास्थ्यकर्मीले मात्र लगाउँछन् । जसको अवधि एक सातामै सकिन्छ । यो पहिलो खोप लगाएको तीन दिन र सात दिनको दिन लगाइन्छ ।
खोप सुरु गरेर बीचमा लगाउन छुटेमा के हुन्छ ?
सुरुको खोप लगाइसकेपछि तोकेको समयमा अर्को खोप लगाउन छुटेको खण्डमा खोपले गर्ने काममा दखल पर्ने हुँदा तोको अवधिमा नछुटाई लगाउनुपर्छ । किनकि खोपको काम गर्ने क्षमता र प्रभावकारिताको आधारमा नै खोप लगाउने मिति र त्यसमा राख्नुपर्ने अन्तर तोकिएको हुन्छ । रेबिजले शतप्रतिशत मृत्यु गराउँछ । रेबिज लागिसकेपछि कोही बाँचेको रेकर्ड नेपालमा छैन । त्यसैले कुनै पनि डोज नछुटाई लिनुपर्छ ।
घरपालुवा कुकुरले टोकेमा खोप लगाउनुपर्छ ?
अहिले कुकुर पाल्नेको सौख बढेको छ । विगतको दशकभन्दा अहिले घरपालुवा कुकुरबाटै टोकेर आउनेको संख्या बढेको छ । खोपको सहज र सुलभ उपलब्धता हुँदाहुँदै पनि रेबिजकै कारण मृत्यु हुने संख्या पनि बढेको देखिन्छ ।
कारण भनेको घरमै पाले पनि २४ घण्टामा कुकुर कता-कता पुग्छ थाहा नहुन सक्छ । गाउँघरतिर त कुकुर नजिकैको जङ्गलमा जाने वा जङ्गली जनावर नै आएर टोकेको अवस्थामा रेबिज लाग्न पनि सक्छ । त्यो कुकुरले समुदायमा अरूलाई पनि टोक्दा संक्रमण सर्न सक्छ ।
सहरतर्फकै कुरा गर्ने हो भने घरको सदस्यले बाहिर लैजाने र नियमित खोप लगाइएको छ भने डराउनुपर्ने आवश्यक रहँदैन । कुकुरलाई एक्लै खेल्न पठाउने बानी छ भने अन्य कुकुरसँग घुमफिर वा झडप भएमा सम्भावना हुन पनि सक्छ । यसले नजानिंदो तरिकाले विकराल समस्या गराइरहेको छ ।
कुकुरको सानो बच्चाले टोक्दा रेबिज लाग्छ ?
कुकुर जन्मिएको तीन महिनापछि मात्रै रेबिज विरुद्ध खोप कुकुरलाई दिइन्छ । कुकुर घरमै सबैको निगरानीमा छ भने डराउनु पर्दैन । तर समुदायमा घुमिरहने कुकुरको बच्चालाई अन्य कुकुरले टोकेको खण्डमा सो बच्चा कुकुरले मानिसमा टोक्छ भने पक्कै पनि रेबिजको जोखिम रहन्छ । सानो कुकुर वा सानो घाउले रेबिज लाग्दैन भन्ने मानसिकताकै कारण ज्यान गुमाएका केसहरू पनि धेरै देखिएको छ ।
कुकुरले टोक्ने बित्तिकै के गर्ने ?
कतिपय रगत बगिरहेको अवस्थामै हतार-हतार अस्पताल पुग्ने गरेको देखिन्छ । तर त्यतिसम्म हतारिनु पर्दैन । कुकुरले टोकिहालेको अवस्थामा नजिकैको बगिरहेको धाराको पानीले १५ मिनेट जति पखाल्ने हो भने घाउमा लागेको भाइरस केही मात्रामा पखालिन्छ वा रेबिज लाग्ने सम्भावना केही घटेर जान्छ । त्यसपछि नजिकैको अस्पताल वा स्वास्थ्य चौकी जाँदा उचित हुन्छ ।
संक्रमित कुकुरलाई छुँदा वा सुमसुम्याउँदा रेबिज सर्छ ?
यदि छालामा कुनै किसिमको घाउ छैन भने संक्रमित कुकुरलाई छुँदैमा एकबाट अर्कोमा रेबिज सर्दैन । तर छोएको भाग साबुनपानीले धुनुपर्ने हुन्छ ।
रेबिज लाग्नु अगावै यसबाट बच्न खोप लगाउने व्यवस्था छ ?
अहिलेसम्म यस्तो अभ्यास कतै छैन । कुकुरको स्याहारसुसार खटिएमा, पशु चिकित्सक, रेबिज विषयमा अध्ययन तथा अनुसन्धान गर्नेहरू र जनावर हिंड्डुल गर्ने बाटोमा दैनिक हिंड्नुपर्नेमा रेबिजको जोखिममा पर्छन् । उनीहरूले चाहे भने यो खोप दिन सकिन्छ । नेपाल र भारत जस्ता देशमा आउँदा विदेशीहरूले यस विरुद्ध खोप लगाएर आएको पाइन्छ ।
यद्यपि, सबैले लगाउनुपर्छ भन्ने छैन । जोखिमपूर्ण अवस्था भएमा लगाउन उचित नै हुन्छ ।
कुकरले टोकेपछि रेबिज विरुद्ध खोप लगाएको केही दिनमा अर्को कुकुरले टोकेमा पुन: खोप लगाउनुपर्छ कि पर्दैन ?
यस्तो अवस्थामा खोप लगाउनुपर्दैन । किनकि रेबिजको सम्भावित जोखिमबाट बच्न नै खोप लगाइन्छ । खोप लगाएपछि पुन: टोक्यो भन्दैमा डबल, तेब्बर खोपको आवश्यकता पर्दैन । लगाइरहेको खोप लगाउन बाँकी छ भने खोपलाई निरन्तरता दिन सकिन्छ ।
एक पटक लगाएको खोपले कति समय धान्छ ?
एक पटक खोप अवधि सक्काएको तीन महिनासम्म यसको प्रभाव रहन्छ । रेबिज विरुद्ध खोपको निर्देशिका अनुसार तीन महिनापछि पुनः कुकुरले टोकेको खण्डमा दुई पटक बुस्टर (थप मात्रा) को रूपमा लगाउनुपर्छ ।
रेबिज लागेको जनावरको दूध पिउँदा यस विरुद्ध खोप लगाउनुपर्छ ?
धेरैले यस्तै प्रश्न लिएर अस्पताल आउँछन् । तर दूध पिउँदैमा रेबिज सर्दैन । किनकि दूध उमालेर खाइने हुँदा भाइरस रहेछ भने पनि मर्छ । ७० डिग्री सेल्सियसभन्दा माथि पुगेमा रेबिज भाइरस निष्क्रिय हुन्छ ।
टिटानस सुई लगाएमा रेबिजबाट बच्न सकिन्छ ?
यस्तो केस मैले नै देखेको छु । कुकुरले टोकेपछि नजिकैको फार्मेसीमा गएर टिटानसको खोप हालेर बस्दा पछि रेबिजले ज्यान नै गएको छ । टिटानसले रेबिज विरुद्ध काम गर्दैन । शंकास्पद जनावर र कुकुरले टोके रेबिजविरुद्ध खोप लगाउनुपर्छ ।
कुकुरलाई रेबिजको संक्रमण गराउने स्रोत के हो ?
रेबिजको संक्रमणको स्रोत यही हो वा यसको बिन्दु यही हो भन्ने ठोस आधार छैन । किनकि यसबारे धेरै अध्ययन भएको छैन ।
तर संक्रमित फ्याउरोले टोकेको कुकुरले एकले अर्कोलाई टोकेर समुदाय स्तरमा गएर भने संक्रमण फैलाउन सक्छ ।
रेबिज संक्रमणले लक्षण देखिएपछि बचाउन सकिंदैन ?
रेबिजले संक्रमणको लक्षण देखिएपछि मृत्यु निश्चित छ । त्यसैले कुनै पनि शंकास्पद जनावरले टोकेमा रेबिज विरुद्ध खोप जतिसक्दो चाँडो लगाउनु नै यसबाट बच्ने एक मात्र तरिका हो ।