सुत्केरीको मृत्युपछि प्रदेश अस्पताल सुर्खेतमा तनाव

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०८१, सोमबार

सुर्खेत: प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा एक सुत्केरीको मृत्यु भएपछि स्थिति दिनभर तनावग्रस्त बनेको छ । सुत्केरीको मृत्युको विषयलाई लिएर आफन्तले विरोध जनाएपछि प्रदेश अस्पताल परिसर आज दिनभर तनावग्रस्त बनेको हो ।

सुत्केरी व्यथा लागेपछि सामान्य अवस्थामै अस्पतालमा भर्ना भएकी शर्मिलाको उपचारका क्रममा चिकित्सकको लापरवाहीले मृत्यु भएको आफन्तको आरोप छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर–६, कि १९ वर्षीया सुत्केरी शर्मिला कुमालको गएराति उपचारको क्रममा मृत्यु भएपछि आफन्त आन्दोलित भएका हुन् ।

अस्पतालले रक्तस्राव बढी भएपछि आईसीयूमा राखेर उपचार गरिकोमा सोमबार बिहान ३ बजे शर्मिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत्युपछि शर्मिलाका आफन्तहरुले दोषी चिकित्सकलाई कारबाही गर्नु पर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

अस्पताल प्रशासनले भने सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी शर्मिलाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको जनाएको छ । यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार अहिले पीडित पक्षसँग अस्पताल प्रशासनले छलफल गरिरहेको छ ।

कुनै अप्रिय घटना हुन नदिन अस्पताल परिसरमा बाक्लो मात्रामा प्रहरी परिचालन गर्नुका साथै मृतकका आफन्तहरुसँग छलफल भएपछि आन्दोलन शान्त बनिरहेको उनको भनाइ छ ।

  • ७ आश्विन २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech