समयभन्दा अगावै प्रसव हुने धेरै कारण छन् । गर्भावस्थामा केही कुरामा ध्यान पुर्याएर यसबाट जोगिन सकिन्छ । प्रि-टर्म बेबी अर्थात् ३७ हप्ताभन्दा पहिले जन्मिएका शिशुको विशेष हेरचाह आवश्यक हुन्छ । शिशुलाई जन्म दिने प्रक्रिया जटिल हुन्छ तर आमा बन्ने खुसीले उक्त जटिलतालाई बिर्साइदिन्छ । प्रकृतिले महिलालाई मात्र यस्तो सौभाग्य प्रदान गरेको छ । कहिलेकाहीँ जटिल स्थितिमा प्रिमेच्योर बेबी अर्थात् अपरिपक्व शिशुको जन्म हुन्छ ।
कारण तथा लक्षण
३७ हप्ताभन्दा पहिले जन्म भएको शिशुलाई प्रिमेच्योर बेबी अर्थात् अपरिपक्व शिशु भनिन्छ । यसका धेरै स्तर हुन्छन् । शिशुको जन्म जति छिटो हुन्छ जोखिम उति बढी हुन्छ । २६ हप्ताभन्दा पहिले जन्मिएका बालबालिकामा त्यस्तो खतरा अझ बढी हुन्छ । ४० हप्तापछि जन्मिएका बालबालिका फूल टर्म तथा ३७ हप्ताभन्दा पहिले जन्मिएका बालबालिकालाई प्रिमेच्योर बेबी भनिन्छ । जुन शिशु ३४ हप्ताभन्दा पहिले जन्मन्छ उसमा अनेकौं समस्या देखा पर्न सक्छन् ।
समयअघि प्रसव हुने कारण
– गर्भवतीको संक्रमण तथा गर्भाशयमा कुनै संक्रमण
– मल्टिपल प्रिग्नेन्सी (जुम्ल्याहा तथा तिम्ल्याहा शिशु भए)
– आइभीएफ विधि (कृत्रिम गर्भधारण)
– गर्भावस्थामा तनाव, दबाब तथा उच्च रक्तचाप
– मधुमेह, धूम्रपान तथा अल्कोहलको समस्या
– टिनएज तथा ढिलो उमेरमा गर्भधारण
– पाठेघरमा समस्या, बिनाकारणको पीडा तथा ज्वरो
– सालमा समस्या तथा समयअगावै गर्भ तुहिनु ।
समयअगावै गर्भाशयमा पीडा हुने, योनिको मुख खुल्ने तथा रगतको धब्बा देखिने, योनिबाट पानी बग्नेजस्ता समस्या भए समयअगावै प्रसव भएको मानिन्छ ।
शिशुलाई जन्डिस भए
नवजात शिशुलाई जन्डिस हुनु सामान्य हो । थोरै मात्र जन्डिस देखिए नियन्त्रण हुन्छ । सामान्य जन्डिस भएको अवस्थामा बिहानीपखको घाममा राखे रोग आफैं निको हुनसक्छ । धेरै जन्डिस देखिए शिशुलाई फोटोथेरापी तथा लाइटथेरापी दिनुपर्ने हुन्छ । यसमा सफ्ट मास्क लगाइदिएर शिशुको शरीरलाई कडा प्रकाशमा राखिन्छ । यसो गर्दा जन्डिसको केमिकल कम हुन्छ । कतिपय शिशुमा कलेजो इन्फेक्सनका कारण पनि पहेंलो रोग अर्थात् जन्डिस देखापर्छ ।
यसका लागि अलग उपचार आवश्यक हुन्छ । लाइट थेरापी दिनुअघि शिशुको रगत जाँच गराउनुपर्छ । कुनै शिशुमा जन्मको दुई हप्तासम्म पहेंलो रोगको लक्षण देखापर्छ । समयअगावै जन्मिएको शिशुमा भने तीन हप्तासम्म यस्तो समस्या देखिनसक्छ । अस्पतालबाट घर आएपछि तथा दुई हप्तापछि जन्डिसको लक्षण देखिए चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।
मुटुको समस्या
कतिपय अवस्थामा मुटुको समस्यासँगै शिशुको जन्म हुन्छ । चिकित्सकहरूका अनुसार कुनै शिशुमा जन्मजात नै मुटुको समस्या हुन्छ । नवजात शिशुको मुटुमा प्वाल पर्ने समस्या धेरै देखिन्छ । सानो शिशुको अप्रेसन जटिल हुन्छ । समस्या नियन्त्रणभन्दा बाहिर भए शिशुको उपचार अप्रेसनबिना नै गर्नुपर्ने हुन्छ । गम्भीर अवस्थाको मुटुको समस्या भए ओपन हर्ट सर्जरी नै गर्नुपर्ने हुन्छ ।
विशेष हेरचाह जरुरी
समयअगावै जन्मिएका शिशुको विशेष हेरचाह अस्पतालमै गर्नुपर्छ । साधारण पोस्टनेटल वार्डका अतिरिक्त स्पेसलिस्ट न्युबर्न एरियामा शिशुको हेरचाह गर्नु आवश्यक हुनसक्छ । यस्ता शिशुलाई विशेष उपचार चाहिने भएकाले नियोनेटल विभागमा राखिन्छ ।
– ३४ हप्ताभन्दा पहिले जन्मिएको शिशुलाई तातो राख्नुपर्छ भने श्वासप्रश्वास तथा स्तनपानसम्बन्धी खास विधि अपनाउनुपर्छ ।
– यस्ता शिशुको वजन सामान्य शिशुको भन्दा कम हुन्छ ।
– यस्ता शिशुलाई संक्रमण हुन सक्छ ।
– आमालाई मधुमेह तथा शिशुलाई जन्डिस हुन सक्छ ।
– कतिपय मामिलामा भने अप्रेसन नै गर्नुपर्ने हुन्छ ।
फिडिङ
प्रि-टर्म बेबीले स्तनपान गर्न सक्दैनन् । त्यसैले सुरुमा फिडिङ ट्युबको सहायताले दूध ख्वाउनुपर्छ । आमाको दूध पर्याप्त मात्रामा आएन भने पनि यही विधिद्वारा शिशुलाई दूध ख्वाउनुपर्छ । समयअगावै जन्मिएका शिशु अस्पतालबाट डिस्चार्ज भएपछि मात्र स्तनपान गर्नसक्ने तथा बोतलको दूध चुस्न सक्ने हुन्छन् । यस्ता शिशुलाई छिट्टै संक्रमण हुनसक्ने भएकाले घर लगेपछि पनि विशेष हेरचाह गर्नुपर्छ । समयअगावै जन्मिएका शिशुलाई ट्युबद्वारा फिडिङ गराउनुपर्छ । बालबालिकाको तौल सामान्य शिशुको जस्तो नभएसम्म तथा आमाको स्तनपान गर्ने नभएसम्म ट्युब फिडिङ गराइरहनुपर्छ ।
शिशुलाई सुरक्षित राखौं
नवजात शिशुलाई तातोको आवश्यकता पर्ने भएकाले अस्पतालमा उसलाई इक्युबेटरमा राखिएको हुन्छ । घरमा आएपछि आमाको स्पर्शले शिशुलाई तातो राख्छ । शिशुलाई न्याना कपडा लगाइदिनुका साथै आमाको तातो स्पर्श पनि आवश्यक हुन्छ । शिशुलाई बोक्नुअघि राम्रोसँग हात धुनुपर्छ । जुत्ता-चप्पल कोठाबाहिर नै खोल्नुपर्छ । यस्ता शिशुलाई संक्रमण हुने सम्भावना बढी भएकाले बाहिरका मानिसलाई आवतजावत गर्न नदिनु नै वेश हुन्छ । शिशुसँग आमाले बारम्बार कुरा गरिरहनुपर्छ । यसो गर्दा शिशुले सुरक्षित महसुस गर्छ ।
जोखिमबाट बच्न
गर्भधारण गर्नुअघि श्रीमान्-श्रीमतीको पूर्णरूपमा स्वास्थ्य जाँच गराउनुपर्छ । यसैगरी गर्भावस्थामा पनि बारम्बार चिकित्सकसँग सल्लाह लिनुपर्छ । ब्लड ग्रुप जाँच, पिसाब जाँच, मधुमेह, हेमोग्लोबिन, थाइराइड, भाइरल संक्रमण आदि जाँच गराउनु आवश्यक हुन्छ । चिकित्सकको सल्लाहमा पाठेघर तथा ओभरीको अल्ट्रासाउन्ड गराउनुपर्छ । यसो गर्दा बालबालिकाको स्थिति सही भए नभएको पत्ता लाग्छ । समयपूर्वको प्रसवबाट जोगिनका लागि निम्न उपाय अपनाउन सकिन्छ-
– स्वस्थ खानेकुरा तथा जीवनशैली
– रक्तचाप तथा मधुमेह नियन्त्रण
– मद्यपान तथा धूम्रपानबाट अलग
– योनिको संक्रमण, एसटिडी तथा युटिआइको जाँच एवं उपचार
– नियमित एन्टिनेटल अल्ट्रासाउन्ड गराउने
– तनाव तथा दबाबबाट टाढा रहने
– चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि नखाने । अन्तिम ट्राइमेस्टर (अन्तिम तीन महिना) मा लामो यात्रा नगर्ने ।
– काममा सक्रिय रहने तर कठिन काम नगर्ने ।
चिकित्सकको सल्लाहमा डाइट सप्लिमेन्ट लिनुपर्छ । गर्भावस्थामा पर्याप्त आराम जरुरी हुन्छ । गर्भावस्था सुरक्षित भए मात्र प्रसव सुखद् तथा सहज हुन्छ ।