सरकारी डाक्टरमाथि लुम्विनी प्रदेश सरकारद्धारा निगरानीमा कडाइ

मन्त्रीले प्रत्येक महिना नेपालगन्ज, बुटवल, भैरहवा, कपिलवस्तु, दाङजस्ता ठूला सहरहरूमा नियमित अनुगमन गर्ने तालिका बनाएको स्वकीय सचिव सुदर्शन पाण्डेले बताए ।


    • स्वास्थ्य पेज

  • ५ आश्विन २०८१, शनिबार

नेपालगन्जः लुम्बिनी प्रदेश सरकारको निर्देशनपछि सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले निजी क्लिनिकमा टाँगेका नेमप्लेट हटाउन थालेका छन् । सरकारी डाक्टरहरूद्वारा निजी क्लिनिकको प्रचारले बुटवलको सरकारी स्वास्थ्य सेवाप्रति अविश्वास बढ्न थालेको भन्दै प्रदेश सरकारले निगरानीमा कडाइ गर्न थालेपछि हटाउन थालेका हुन् ।

सरकारी अस्पतालमा कार्यरत डाक्टरले बोर्ड, ओपीडी टिकटदेखि सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट निजी क्लिनिकको प्रचार गर्दै आएका थिए । सरकारी अस्पतालमा आएका बिरामीलाई समेत निजी क्लिनिकमा सिफारिस गर्ने गरेको गुनासो बढेपछि लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले कार्यालय समयभित्र निजी क्लिनिकमा बिरामी नहेर्न र कुनै पनि क्लिनिकमा सरकारी डाक्टरको नाम नराख्न निर्देशन दिएको थियो ।

स्वास्थ्य मन्त्री खेमबहादुर सारुले साउन २८ गते नै मन्त्रीस्तरीय निर्णय गर्दै निजी क्लिनिकमा सरकारी डाक्टरको नाम प्रचार गर्ने कार्य बन्द गर्न निर्देशन दिएका थिए । स्वास्थ्य मन्त्रालयका सचिव डा. वासुदेव उपाध्यक्षयले लुम्बिनी प्रादेशिक अस्पताललाई पत्र लेख्दै मन्त्रीस्तरीय निर्णय कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

मन्त्री र सचिवको निर्देशनपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरहरूले निजी क्लिनिकबाट नाम हटाउन सुरु गरेका हुन् । सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम राखेर निजी अस्पताल तथा स्वास्थ्य संस्थाले प्रचार गरेमा त्यस्ता संस्थालाई तत्काल कारबाही गर्ने मन्त्रीको निर्देशन थियो ।

सरकारी अस्पतालमा जागिर खाने तर निजी स्वास्थ्य संस्थामा आफ्नो नाम झुन्ड्याएर दिन बिताउने परिपाटीलाई अन्त्य गरिने मन्त्री सारुले बताए । ‘एक महिनाअघिको निर्देशन कार्यान्वयन भए/नभएको अहिले अनुगमन सुरु गरेका छौं,’ उनले भने, ‘बुटवलका अधिकांश निजी क्लिनिकबाट डाक्टरको नाम र प्रचार हटेको पाइयो ।

तर, ओपीडी टिकटदेखि संचार माध्यममा अझै देखिएकाले तत्काल हटाउन निर्देशन दिएका छौं ।’ मन्त्रीले प्रत्येक महिना नेपालगन्ज, बुटवल, भैरहवा, कपिलवस्तु, दाङजस्ता ठूला सहरहरूमा नियमित अनुगमन गर्ने तालिका बनाएको स्वकीय सचिव सुदर्शन पाण्डेले बताए । लुम्बिनी प्रादेशिकमा मात्र झण्डै १ सय डाक्टर कार्यरत छन् ।

  • ५ आश्विन २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech