पहिलो पटक भेरी अस्पतालको व्यानरमा आर्थोस्कोपी कार्यशाला

    • प्रियास्मृति ढकाल

  • ५ आश्विन २०८१, शनिबार

नेपालगन्जः विशिष्टिकृत सेवा प्रवाह गर्दै आएको पश्चिम नेपालको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालले आफ्नो व्यानरमा पहिलो पटक आर्थोस्कोपी कार्यशालाको आयोजना गरेको छ । आर्थोस्कोपी सोसाईटी अफ नेपाल (एसोन)को सहकार्यमा देशभरका विभिन्न सहरहरुमा कार्यरत आर्थोस्कोपी सर्जन, अर्थोपेडिक सर्जन लगायतलाई नेपालगन्जमा बोलाएर आफ्नै भवनमा पहिलोपटक कार्यशाला आयोजना गरिएको अर्थोपेडिक सर्जन समेत रहेका अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिए ।

उनका अनुसार विशिष्टिकृत सेवा प्रवाहसँगै अस्पतालमा शैक्षिक गतिविधिहरुलाई पनि बढाउँदै लगिएको छ । यसले गर्दा बिरामीहरुले पनि गुणस्तरीय सेवा प्राप्त गर्ने डा.थापाको भनाइ छ । ‘अस्पतालकै व्यानरमा आयोजना गरिएको यस खालको कार्यशाला पहिलो हो डा.थापा भन्छन्–‘सेवा दिनेमात्र ठूलो कुरा होइन शैक्षिक वातावरणलाई पनि प्राथमिकता दिनुपर्छ । जसले गर्दा बिरामीहरुले सहज र स्तरीय सेवा प्राप्त गर्छन् ।’

उपचारका क्षेत्रमा आएका नवीनतम प्रविधि तथा खोज अनुसन्धानबारे चिकित्सकहरु बीच अनुभव आदानप्रदानले स्तरीय सेवामा सहजता थप्ने चिकित्सकहरु बताउँछन् । यसअघि डा.थापाकै नेतृत्वमा नेपालगन्जमा एसोसियसन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन) ले मेरुदण्ड रोग सम्बन्धी कार्यशाला गरेको थियो ।

पछिल्लो समय स्तरीय सेवासँगै विज्ञ चिकित्सकहरुलाई बोलाएर शैक्षिक गतिविधि र अनुसन्धानमुलक विषयमा विचार विमर्श गर्ने थलोको रुपमा भेरी अस्पताल बन्दै गएको पनि उनले बताए । कार्यशालाको संयोजनकारी भूमिका निर्वाह गरेका भेरी अस्पतालका अर्थोपेडिक विभाग प्रमुख डा. तिर्थेन्द्र खड्काका अनुसार उपचार पद्धतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदानका साथै आर्थोस्कोपी सर्जरीमा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामाना गर्ने भन्ने विषयलाई पनि कार्यशालाले महत्व दिएको छ ।

बि एण्ड बि अस्पतालमा कार्यरत आर्थोस्कोपी सर्जन समेत रहेका एसोनका अध्यक्ष प्रा.डा. अमित जोशी, सचिव विवेक वासुका, साइन्टिफिक अध्यक्ष निरब कायस्थ, आर्थोस्कोपी सर्जन डा. तिर्थेन्द्र खड्का, एसोनका सदस्य डा.विहानी श्रेष्ठ, एसोन सदस्य समेत रहेका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.विश्वनाथ शर्मा लगायत दर्जन बढी चिकित्सकहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

७० बढी चिकित्सकहरु सहभागि कार्यशालाका सहभागिहरु स्वागत गर्दै नेपालगन्जका बरिष्ठ अर्थोपेडिक सर्जन डा.विनोद थापाले यस्ता कार्यक्रमले चिकित्सकहरु बीचमा उपचार पद्धतिबारे नयाँ प्रविधिको प्रयोग, समस्या र निराकरणमा उपयोगी हुने बताए । उनले आफ्ना पालामा यस्ता प्रविधिको उपयोग गर्ने अवसर नपाएको पनि सुनाएका थिए । आर्थोस्कोपी सर्जरी भनेको दुरबिन पद्धतिबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्दती हो ।

सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार यो प्रविधिबाट गरिन्छ । यो विधिबाट प्रायः घुँडा (नी), कुम (सोल्जर) गोलीगाँठो (एन्कल) को उपचार गरिन्छ । भेरी अस्पतालमा घुँडाको र कुमको उपचारमा यो प्रविधिको प्रयोग भइरहेको चिकित्सकहरु बताउँछन् ।

खेलको क्रममा वा विभिन्न चोटपटक लाग्दा घुँडाको भित्रि भागको (लिगामेन्ट) नशा तथा तथा वासर (मेनिस्कस)हरु च्यातिएको खण्डमा यो पद्धतिबाट नयाँ नशा (लिगामेन्ट) बनाउने तथा च्यात्तिएको वासर (मेनिस्कस)लाई टाँका लगाएर उपचार गर्ने दुरवीन पद्धतिलाई आर्थोस्कोपी सर्जरी भनिन्छ । घुँडाको आर्थोस्कोपी सर्जरी गर्दा बिरामीलाई बेहोस बनाउनु पर्दैन। ढाडमा सुई दिएर (स्पाइनल एनेस्थेसिया) खुट्टा लठ्याएर सानो प्वाल बनाई यो सर्जरी गर्ने गरिएको अर्थोपेडिक सर्जन डा.लक्ष्मण सिक्देलले बताए ।

  • ५ आश्विन २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech