आज २१ सेप्टेम्बर, ‘टाइम टु एक्ट डिमेन्सिया’ भन्ने नाराका साथ विश्व अल्जाइमर्स डे मनाइँदैछ । अल्जाइमर्स अर्थात् बिर्सने रोग । विश्वभर मानिसको औसत आयु बढेसँगै यो रोगबाट प्रभावितको संख्या पनि बढ्दै गएको छ ।
विश्व अल्जाइमर्स एसोसिएसनका अनुसार अहिले विश्वमा ५ करोड ५५ लाख मानिस यो रोगबाट पीडित छन् । नेपालमा यसको यकिन तथ्यांक छैन । तर अस्पतालमा जँचाउन पुग्ने ६५ वर्षभन्दा माथिका व्यक्तिमध्ये १० प्रतिशतमा बिर्सने समस्या देखिएको छ । अर्थात् नेपालमा पनि यो रोगको समस्या बढिरहेको छ ।
लक्षण के के हुन्छन् ?
बुवाआमा तथा आफन्तले बुढ्यौलीतिर ढल्किंदै जाँदा बिस्तारै पुराना कुरा भुल्ने गरेको हामी सबैले देख्दै–भोग्दै आएका छौं । ‘यो सबै उमेरका कारणले त हो नि’ भनेर बेवास्ता गर्ने गरिन्छ । तर बेवास्ताभन्दा पनि समयमा पहिचान गरेर राम्रो हेरचाह आवश्यक हुन्छ ।
यो रोग लागेका मानिसमा आफूलाई रोग लागेको थाहा हुँदैन । रोगको पहिचान नै परिवारजन, छिमेकी, साथीभाइले गर्ने गर्छन् । बिरामीले सुरुमा हालका कुरा बिर्सने, तर पुराना कुरा सम्झिने हुन्छ । व्यवहार र सामाजिक शैलीमा परिवर्तन आउँछ । त्यसपछि बिस्तारै धारा खुला छाड्ने, शौचालय फ्लस गर्न बिर्सने, पूजापाठ गर्न अप्ठेरो हुने, खाना पकाउने तरिकामा परिवर्तन हुने हुन्छ । समस्या बढ्दै गएपछि आफन्त बिर्सने, सामान किन्न जाँदा अलमलिने, आत्मविश्वास घट्दै जाने हुन्छ । कहिलेकाहीं एकछिनअघि खाना खाएको समेत बिर्सने हुन्छ ।
यो रोगले तत्काल ज्यानको जोखिम हुँदैन । तर लामो समय ओछ्यानमा रहने, शारीरिक क्रियाकलाप तथा हिंडडुल कम गर्ने जस्ता कारणले निमोनिया तथा संक्रमणको जोखिम बढी हुने, खाना सर्कने जस्ता कारणले मृत्युको जोखिम बढ्दै जान्छ । तर प्रत्यक्ष रुपमा यसकै कारण मृत्यु हुँदैन ।
अल्जाइमर्सको कारण
अल्जाइमर्सका बारेमा नागरिक सचेतना निकै न्यून छ । प्राय: यसलाई मानसिक समस्याका रुपमा चित्रित गर्ने गरिन्छ । तर यो मानसिक नभई मस्तिष्कमा लाग्ने रोग हो । प्रोटिन शरीरका लागि अन्त्यन्त आवश्यक हुन्छ । तर नचाहिने प्रोटिनहरु मस्तिष्कको नसामा जम्मा भएको अवस्थामा यसका कोषिकाहरुले नै काम गर्न सक्दैनन् । यसरी मष्तिस्कमा केही न केही खराबी भएका कारण अल्जाइमर्स रोग लाग्छ ।
तर यसको यकिन कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ६५ वर्षभन्दा कम उमेरका व्यक्तिमा अल्जाइमर्स देखिनु वंशाणुगत कारण मानिन्छ, जसलाई ‘अर्ली अन-सेट अल्जाइमर्स’ भनिन्छ । तर प्राय: ६५ वर्षभन्दा बढी उमेरका मानिस यो रोगको जोखिम समूहमा पर्छन् । साथै जीवनशैली राम्रो छैन, स्वस्थकर खाना छैन, नियमित शारीरिक अभ्यास छैन भने अल्जाइमर्स हुने जोखिम बढ्छ । वातावरणीय हिसाबले पनि अल्जाइमर्स हुने प्रवृत्ति घटबढ हुनसक्छ ।
परिवारको भूमिका के ?
अल्जाइमर्समा सबैभन्दा ठूलो भूमिका नै परिवारको हुन्छ । बिरामीलाई चौबीसै घण्टा निगरानी गर्नुपर्ने हुनसक्छ । दिसापिसाबमा समस्या आउन सक्छ । परिवारले राम्रो हेरविचार गर्यो भने बिरामीलाई पनि सहज हुन्छ । तर रिस देखायो, बिरामीकै गल्ती देखाइयो, बिरामीमा चिडचिडाहटको स्थिति सिर्जना गरियो भने रोग अझ बढ्दै जाने हुन्छ । कहिलेकाहीं बाटो नै बिर्सने भएकाले यस्ता बिरामीलाई एक्लै घरबाट बाहिर जान दिनुहुन्न ।
नेपाली समाजमा वृद्ध उमेरका व्यक्तिका लागि खासै धेरै गतिविधि गरिंदैनन् । तर सानातिना काममा व्यस्त बनाइराख्ने, सामाजिक अन्तरक्रिया बढाउने हो भने सुरुवाती अवस्थाका बिरामीलाई केही हदसम्म समस्या कम हुनसक्छ ।
नियमित शारीरिक अभ्यास, योगा, राम्रो जीवनशैली र खानपान भयो भने केही रोकथाम गर्न सकिन्छ । रोग बढ्न नदिन औषधि पनि चलाउने गरिन्छ । तर महत्वपूर्ण कुरा भनेको जीवनशैलीमा सुधार तथा सचेतना नै हो ।
सरकारले सम्बोधन नगरेको अल्जाइमर्स
६५ वर्षभन्दा माथिका उमेर समूह बढी जोखिममा पर्ने गरेका र समस्या दिनहुँ बढ्दै गए पनि यो रोगलाई सरकारले नीतिगत रुपमा केही सम्बोधन गरेको छैन । कुनै अध्ययन, अनुसन्धान पनि भएका छैनन् । तर हामीले आफ्नो तहबाट प्रयास गरिरहेका छौं । अध्ययन गर्न पनि विदेशकै पद्धतिमा भर पर्नुपर्ने अवस्था छ ।
हामीले अहिले युनिभर्सिटी अफ मिसिगनसँग मिलेर अध्ययनका लागि आफ्नै पद्धति विकास गर्ने प्रयास गरिरहेका छौं । किनभने बिर्सने रोग लाग्नेबित्तिकै अल्जाइमर्स भन्न मिल्दैन, त्यसका लागि परीक्षण गर्नुपर्छ । त्यसका लागि नेपालमै मिल्दोजुल्दो अध्ययन पद्धतिको विकास गरिरहेका छौं ।