हातखुट्टा र अनुहारमा मुसा आउँदा दुख्दैन । यो मुसाको आकारमा कुनै परिवर्तन आएन भने हानि पनि गर्दैन । यस्तो मुसा आउनु सामान्य हो । तर त्यस्तै देखिने मुसा यौनाङ्ग र त्यस वरपर आएमा सामान्य रुपमा लिनु हुँदैन । किनकि यी मुसालाई सामान्य मान्न सकिंदैन ।
किन यौनाङ्गमा मुसा पलाउँछ ?
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) युक्त यौनजन्य संक्रमणका कारण यौनाङ्गमा मुसा आउन सक्छ । एचपीभीको सम्पर्कमा आएपछि यौनाङ्गमा देखिन महिनौं वा एक वर्ष पनि लाग्न सक्छ । एचपीभीका सयभन्दा बढी उपसमूह छ, जसमध्ये ४० वटा उपसमूहले यौनाङ्ग क्षेत्रलाई प्रभावित गर्न सक्छ ।
यो भाइरस असुरक्षित यौन सम्पर्कबाट एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । यो मुसा भएको व्यक्तिसँग यौन सम्पर्क गर्नेमा पनि मुसा सर्न सक्छ ।
यस्ता मुसा आउँदैमा आत्तिनु पर्दैन । किनकि यसको उपचार शतप्रतिशत सम्भव छ । तर समयमा उपचार नगराए यसले कहिलेकाहीं क्यान्सरको रुप लिन सक्छ ।
कसलाई जोखिम ?
– ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्ध खोप नलगाउनु
– कण्डम विना यौन सम्बन्ध राख्नु
– एकभन्दा बढीसँग यौन सम्बन्ध राख्नु
– अन्य यौनजन्य संक्रमण पनि हुनु
– पहिलेको यौन सम्बन्धको प्रष्ट जानकारी थाहा नभएको व्यक्तिसँग सम्बन्ध बनाउनु
– कम उमेरमै यौन क्रियाकलापमा सक्रिय हुनु
– मुसा भएका व्यक्तिले प्रयोग गरेका ‘सेक्स टोय’हरू प्रयोग गर्नु
– यौनाङ्गमा मुसा भएको अवस्थामा मुखमैथुन गर्दा ओठ, जिब्रोसँगै मुखभित्र पनि मुसा आउन सक्छ ।
– प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, गर्भवती, यौन प्रसारित रोगबाट संक्रमित, क्यान्सरको समस्या भएकाहरु यसको बढी जोखिममा हुन्छन् । उनीहरुमा मुसा आएको खण्डमा तुलनात्मक रुपमा मुसा ठूलो र छिटो बढ्ने हुन्छ ।
– एचआईभी विरुद्ध औषधि खाइरहेका तथा अंग प्रत्यारोपणपछि स्टेरोइड लगायत औषधि खाइरहेका बिरामी एवं यौनाङ्गमा मुसा भएको अवस्थामा मुखमैथुन गर्दा ओठ, जिब्रोसँगै मुखभित्र पनि मुसा आउन सक्छ ।
कुन भागमा मुसा देखिन्छ ?
मुसा विशेषगरी महिलाको योनीको माथिल्लो भाग, योनीभित्र, पाठेघरको मुखमा देखिने गर्छ । त्यस्तै, पुरुषको हकमा लिङ्ग र अण्डकोषमा बढी देखिने गर्छ ।
लक्षण
– छाला वा अन्य रङको यौनाङ्गमा सानो खालको बिमिरा पलाउनु
– काउली जस्तो आकार देखिनु
– चिलाउनु र असहज अनुभव हुनु
– यौन सम्पर्क गर्दा रगत बग्नु
कति बेला अस्पताल जाने ?
मुसा आएको छैन तर मुसा भएको साथीसँग यौन सम्बन्ध भएमा, मुसा देखिएमा जतिसक्दो चाँडो छिटो देखाउनुपर्छ ।
पहिचान तथा उपचार
मुसाको प्रकृति हेरेर सहजै मुसा आएको थाहा हुन्छ । अन्य यौनरोगको शंका भएमा प्याप र रगत परीक्षणबाट हुन्छ । मुसा भएको पुष्टि भइसकेपछि अवस्था हेरेर त्यसको उपचार हुन्छ ।
यदि मुसाहरु कम मात्रामा र सानो आकारको छन् भने लिक्विड नाइट्रोजन नामक चिसो ग्यासले सेकिन्छ । यसले घाउ नबनाई सुरक्षित तरिकाले भाइरसलाई जमाउँछ । अर्को भनेको मुसामा लगाउने मलम वा केमिकल एसिड प्रयोग गर्न सकिन्छ । चिकित्सकको निर्देशन सीमित मात्रामा सही ढंगले लगाउनुपर्ने हुन्छ ।
तर चिकित्सकलाई योनाङ्गको मुसा देखाउन संकोच मानेर आफैं सुनेको भरमा मनलाग्दी ओभर द काउन्टर किनेर लगाउनु हुँदैन । यसरी लगाएमा एलर्जी गराउने, संक्रमण बढ्ने र अन्य लगायतको घातक नतिजा देखापर्न सक्छ ।
त्यस्तै, एक सेन्टिमिटरभन्दा बढी भएमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । शल्यक्रियामा मुसा पोलेर फाल्ने र लेजर प्रविधिबाट गरिने सामान्य शल्यक्रिया हुन्छन् ।
यसरी उपचार गर्दा ९९ प्रतिशत निको हुने सम्भावना रहन्छ । यी विधिबाट पनि निको भएन र बारम्बार दोहोरिरह्यो भने मुसा आएको भाग नै शल्यक्रिया गरेर निकाल्नुपर्ने हुनसक्छ । तर यस्तो अवस्था विरलै आइपर्छ ।
‘जथाभावी उपचार नगराऔं’
यौनाङ्गमा मुसा आएपछि अत्तालिएर लुकाउन खोज्ने र उपयुक्त स्थानमा जानुको सट्टा जथाभावी उपचार गराएको पाइन्छ । जस्तो कि चाइनिज, होमियो प्याथी विधिको प्रयोग । यस्तो विधिबाट ठीक हुनुको साटो उचित उपचार नभई जटिलता अझै बढेको केसहरु थुप्रै छन् ।
कतिपय स्थानमा त कोठी जस्तो देखिने घाउको समेत मुसा भनेर अनावश्यक गलत उपचारको सिकार भएकाहरु पनि देखिन्छ ।
यसको प्रमुख कारण जनचेतनाको अभाव हो । जथाभावी उपचार गराउनुको साटो शंकास्पद केही समस्या देखिए सम्बन्धित दक्ष चिकित्सकलाई मात्र देखाउँदा समय, खर्च र समस्याको छिटो समाधान हुन्छ । चिरफार नगरी पनि सामान्य उपचारले ठीक हुन्छ ।
जटिलता
यो मुसा छिटो फैलिएर योनाङ्ग र मलद्वारको वरपर ढाक्ने हुनसक्छ । यस्तोमा दिसा तथा पिसाब गर्दा र यौन सम्पर्क गर्दा दुख्ने, पोल्ने जस्ता समस्या देखा पर्छन् ।
कसरी बच्ने ?
– किशोरावस्थादेखि नै एचपीभीको खोप लगाउने
– सुरक्षित यौन सम्पर्क गर्ने र एकभन्दा बढी यौनसाथी नबनाउने
– मुसाजस्ता शंकास्पद कोठी देखिए तुरुन्त परीक्षण गराउने ।