सामान्य रूपमा भ्रूण पाठेघरमा स्थापना हुनुपर्छ । त्योबाहेक पाठेघरको नली (ट्युब), डिम्बाशय, पेटमा गएर भ्रूण बस्यो भने त्यसलाई ‘एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ । योनि, पाठेघर र नलीको बारम्बार संक्रमण हुने महिलामा पाठेघर बाहिर बच्चा बस्ने चान्स बढी हुन्छ ।
महिलामा पेट दुख्ने धेरै कारण छन् । त्यसैले पेट दुख्नासाथ स्वास्थ्य परीक्षण गराइहाल्नु बुद्धिमानी हुन्छ । बेलैमा उपचार नभए एक्टोपिक गर्भ फुटेर रगत बग्दा महिलाको ज्यानकै खतरा रहन्छ ।
- जथाभावी औषधी सेवन नगरौँ
संसारमा नेपाल मात्र एउटा यस्तो देश होला, जहाँ जुनसुकै औषधी सजिलै किन्न मिल्छ, मानौँ पसलको चक्लेट किने जसरी । यसो गर्दा च्याउसरि उम्रेका औषधी पसललाई आम्दानी होला, बिरामीको भने सत्यानाश हुन्छ ।
पसलबाट मनलाग्दी औषधी किन्दै खाने नगर्नुहोला । औषधी पसल सञ्चालकले पनि अवस्था हेरेर मात्र औषधी दिनुपर्छ, व्यापारको नाममा मानवीय धर्म बिर्सनु हुँदैन । कैयौँ मान्छेलाई थाहा छैन, तपाईंहरूले डाक्टरलाई देखाउनुपर्छ मात्र भनिदिए पनि ठुलो धर्म हुन्छ, यस्ता दुर्घटना न्यूनीकरण गर्न तपार्ईं हामी सबैको साथ अनिवार्य छ ।
देशमा औषधी व्यवस्था विभाग छ । जथाभावी गर्ने माथि निगरानी बढाउनुपर्छ । काठमाडौँमै यस्ता घटना कैयौँ देखिन्छन्, राजधानी बाहिरको अवस्था झन् विकराल छ ।
- उपयुक्त साधनको प्रयोग गरौँ
गर्भ रोक्न कैयौँ साधन छन् । चिकित्सक तथा स्वास्थ्य संस्थाले उपयुक्त साधनबारे सम्पूूर्ण जानकारी दिन्छन् । उपयुुक्त साधनको प्रयोग गरौँ ।
अनिच्छित गर्भ भए डाक्टरलाई नदेखाईकन कुनै पनि औषधी प्रयोग नगर्नुहोला । सरकारले गर्भपतन सेवा धेरैजसो अस्पतालमा उपलब्ध गराएको र उल्टै पैसा पनि दिने गरेको छ । गर्भपतन सेवा धेरै विकास भइसकेको भए पनि हामी आम नागरिक आफैँ सजग छैनौँ, हाम्रा पनि कैयौँ कमी–कमजोरी छन् ।
- स्वास्थ्य बीमा गरौँ
सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ । कसलाई कहिले के पर्छ भन्ने थाहा हुँदैन ।
३५ सय रुपैयाँमै एक लाखसम्मको स्वास्थ्य उपचार पाउनु सामान्य कुरा होइन । वडापालिकामा बुझेर सबैले स्वास्थ्य बिमा गरौँ ।
हाम्रा सरकारी अस्पताल अब्बल छन् । सबैले विश्वास गरौँ । संसारकै सस्तो दरमा सेवा उपलब्ध हुनु हामी सबैका लागि अवसर हो ।
(डा. पाण्डे कालिकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत हुन् ।)