क्यान्सरका कारण मुटुमा कसरी समस्या हुन सक्छ ?

    • डा. समिम अख्तर/ कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट

  • २७ भाद्र २०८१, बिहीबार

क्यान्सर यसै पनि एक प्राणघातक रोग हो । समयमा पहिचान नभएमा यही रोगले गर्दा अन्य स्वास्थ्य समस्या ल्याउँछ । जसमध्ये एक हो मुटुरोग । क्यान्सरको रोग र मुटुमा हुने रोग फरक-फरक तर जटिल रोग हुन् । फरक रोग भएपनि क्यान्सरले मुटुमा असर गर्न सक्छ ।त्यसअघि दुवै रोगबारे बुझौं ।

क्यान्सर रोग खानपान, क्यान्सरजनक विषालु तत्व तथा कोषिकाहरुको अनियन्त्रित वृद्धि र वंशाणुगत कारणले लाग्न सक्छ । त्यस्तै, मुटुरोग विशेषगरी बोसोजन्य खाद्यपदार्थ, रक्तसञ्चार, मुटुको रक्तनली, मुटुको भल्ब, मुटुको विद्युतीय तरंगबाट नियन्त्रित गति, मधुमेह र रक्तचाप, मुटुको भित्तामा बोसो जम्नु र मोटोपनका कारण लाग्न सक्छ । केही वंशाणुगत पनि हुन्छ ।

मुटुको भित्ताहरुबीच पानी जम्नु र मुटुको धड्कन गर्दा पूरा फुक्न नसक्नु दुई प्रमुख किसिमका अवस्था प्रायजसो क्यान्सरका बिरामीमा देखा पर्छन् । यस बाहेक मुटुको गतिमा कमी आउनु र मुटुको कार्यमा सन्तुलन बिग्रनु लगायत पनि देखा पर्छन् ।

मुटुरोग प्रत्येक १० जना क्यान्सर रोगमध्ये एकजना रोगीलाई हुने गर्छ ।

निम्न क्यान्सरका रोगहरुमा मुटुको रोग प्राय: धेरै देखा पर्छ ।

– फोक्सोको जटिल क्यान्सर

– छालाको मेलानोमा क्यान्सर

– स्तन क्यान्सर

– रगत सम्बन्धी ल्युकेमीया क्यान्सर

– लिम्फ गाँठो सम्बन्धी लिम्फोमा क्यान्सर

– अन्य क्यान्सर

क्यान्सरका बिरामीलाई केमोथेरापी र विकिरणबाट उपचार गर्दा पनि मुटुको अवस्था बिग्रन सक्छ । केमो औषधि र विकिरणको साइड-इफेक्टले पनि यस्तो हुनसक्छ । यस्तोमा मुटुमा पनि समस्या भएको पुष्टि भएमा केमो औषधि उपचार र विकिरण उपचार बन्द गर्नुपर्ने हुन्छ ।

कस्ता औषधिले मुटुमा असर गर्छ ?

– डक्सोरुबीसीन

– इपीरुबीसीन

– साइक्लोफसफामाइड

यदि कुनै बिरामीलाई क्यान्सर रोग हुनुअघि नै मुटुको रोग पहिलादेखि नै छ भने माथिका औषधि प्रयोग गर्नु हुँदैन । मुटुरोग विशेषज्ञसँग परामर्श गर्नुपर्छ । र, अन्य औषधिको विकल्प खोज्नुपर्छ ।

क्यान्सर भएकालाई मुटुमा समस्या हुँदा देखिने लक्षण

सास फेर्न गाह्रो हुनु, दम हुनु, स्वाँस्वाँ हुनु, खोकी लाग्नु, जुरुक्क उभिंदा चक्कर लाग्नु वा सास बढ्नु, थकान महसुस हुनु, आत्तिनु, डराउनु र मुटुको धड्कन अनियमित हुनु लगायतका लक्षण देखिन सक्छ ।

माथि उल्लेखित लक्षण अन्य रोगहरुमा पनि देखा पर्न सक्छन् । तसर्थ, बिरामीले उपचार पाइराख्नु भएको चिकित्सक र क्यान्सर रोग विशेषज्ञलाई यस्ता लक्षण देखिए बताउनु आवश्यक छ । ताकि, चिकित्सकले निरीक्षण र परीक्षणपछि आवश्यक उपचारअघि बढाउनु सहज होस् ।

के कस्ता परीक्षण गरिन्छ ?

– रगतको परीक्षण

– मुटुको इसीजी र इको

– छातीको एक्स-रे

– एन्जियोग्राफी

मुटुको भित्ताबीच जमेको पानीको परीक्षण

मुटुको समस्या भएमा तत्काल समस्या देखा पर्दैन । क्यान्सर रोगको उपचारको क्रममा वा उपचार सकेको केही दिन, महिना वा वर्षपछि देखा पर्न सक्छ । यो मुटुको रोग हुनुमा बिरामीको खानपिन, कमजोर स्वास्थ्य अवस्था, शरीरमा आएको परिवर्तन, नजिकैको अंग फोक्सो वा स्तनमा बढेको क्यान्सर स्वयं पनि हुनसक्छ । परीक्षणहरु गर्दा रगतमा रातो कोषिकाहरुको कमी, सेतो कोषिकाहरु घटेको वा बढेको देखिन सक्छ ।

मुटुको इसीजीमा विद्युतीय तरंगका रेखाहरु असमान्य तथा अनियन्त्रित देखिन सक्छ । मुटुको इको इजेक्सन फ्र्याक्सन ५० प्रतिशत भन्दा कम, मुटुको भित्ताहरु पानी जमेर मोटाएको मुटु पूर्ण रुपमा फुक्ने खुम्चिने प्रक्रिया अवरुद्ध भएको, मुटुको भल्बहरु पूर्ण रुपमा खुल्ने र बन्द हुने प्रक्रियामा समेत अवरोध आउँछ ।

यदि अन्य अङ्ग फोक्सो, स्तन आदिको क्यान्सर मुटुमा फैलिएको छ भने मुटुको पर्खालको पानीमा क्यान्सरका कोषिकाहरू भेटिन सक्छन् ।

क्यान्सरका बिरामीलाई मुटु सम्बन्धी समस्या देखा परेमा गरिने उपचार

– रोगको कारक तत्व हटाउनु वा बन्द गर्नुपर्छ

– बिरामीलाई  आईसीयू, वार्ड, मेडिकल अन्कोलजी जी वार्डमा भर्ना गर्नुपर्छ ।

– बिरामीको उपचार मुटुरोग विशेषज्ञ र क्यान्सर रोग विशेषज्ञ मेडिकल अन्कोलजिस्ट दुवैको दैनिक प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्छ ।

माथि उल्लेखित क्यान्सर रोग र मुटु रोग जो कोहीलाई हुनसक्छ । यी दुवै रोगबाट बच्न राम्रो उपाय भनेको यी रोग लाग्न नै नदिनु हो ।

रोग लाग्न नदिन खानपान, रहनसहनलाई सन्तुलित राख्न, चुरोट, रक्सी र जोखिमयुक्त धुम्रपान नगर्न र बेला बेलामा स्वास्थ्य जाँच परीक्षण गर्नु सबैभन्दा राम्रो हो ।

  • २७ भाद्र २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech