स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुन संसोधनको तयारी

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०८१, बुधबार

नेपालगन्जः अस्पतालहरुमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुन संसोधनको तयारी गरेको छ।

यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोश्रो संसोधनको मस्यौदा गरेको मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय माग्दै पत्र पठाएको छ।

प्रस्तावित विधेयकको मस्यौदामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनमा संसोधन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात भएमा तत्काल गैरजमानती गिरफ्तार ९जेल विदआउट बेल० गर्ने व्यवस्था प्रभावकारी बनाइने विषय समेटिएको छ।

चिकित्सकहरुले उपचारकै क्रममा बेलाबखत आफूहरुमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा माग गर्दै आएका छन्। यसलाई सम्बोधन गर्न गत साउन २७ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै आवश्यक नीतिगत सुधार गर्ने उल्लेख थियो।

सोही अनुसार कानून संसोधनको तयारी गर्दै मन्त्रालयले कानून मन्त्रालयसँग राय मागेको हो। संसोधन प्रस्ताव गरिएको व्यवस्थाले चिकित्सकको सुरक्षामा थप योगदान दिने मन्त्री पौडेलको सचिवालयले जनाएको छ। कानूनबाट राय प्राप्त भए पछि विधेयकको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ।

  • २६ भाद्र २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech