क्यान्सर दीर्घकालीन रोग हो । शरीरमा लाग्ने अन्य रोगभन्दा क्यान्सर प्राणघातक रोग मानिन्छ । क्यान्सरको समयमा उपचार नभएमा बिरामीको ज्यान नै जान सक्छ । यो रोगले बिरामी शारीरिक दुर्बलता, मानसिक विक्षिप्तता र तनावमा बाँच्न विवश हुन्छ ।
क्यान्सर पीडितका भावनाहरु सूक्ष्म रुपमा संवेदनशील हुँदै जान्छन् । यो अवस्थामा उपचार मात्र होइन क्यान्सर लागेकालाई निरन्तर परिवारको सहयोग र भावनात्मक साथको पनि खाँचो पर्छ ।
उनीहरु यसै पनि शारीरिक रूपमा दुर्बल र कमजोर हुन्छन् । यतिसम्म कि रोगको अन्तिम चरणमा ओछ्यानमा कोल्टे पल्टिन पनि सक्दैनन् । बिस्तारै शरीर गल्दै जान्छ । एक त भोक लाग्दैन अर्को लागे पनि खाना खान र पचाउन सक्दैनन् । बिस्तारै तौल घट्छ । अन्तिम अवस्थासम्म पुग्दा शरीरमा हाड र त्यसलाई ढाकेको सुकेको छाला बाहेक केही रहँदैन ।
यतिमै सीमित छैन, क्यान्सर रोगको व्यथा । क्यान्सर रोगको निदानदेखि बिरामीको मृत्युवरण नभएसम्म सयौं पटक दर्दनाक प्रक्रियाबाट गुज्रिनुपर्छ ।
एक पटक रगत झिक्दा पनि रगत झिकेको भागमा दुख्छ । तर क्यान्सर भएकालाई एक पटक मात्र होइन, कैयौं पटक रगत झिकिन्छ । आईभी क्यानुला लगाउन मात्र सातदेखि आठ पटक घोचिन्छ । रोग पत्ता लगाउन कैयौं पटक छाला छिर्नुपर्छ । ट्युमर क्यान्सर चिरेर फाल्न जटिल शल्यक्रिया धेरै भइसकेका हुन्छन् ।
क्यान्सर यस्तो रोग हो, जो बिरामीले सुरुकै दिनबाट अबका दिनहरु दर्दनाक र बाँच्नका लागि संघर्षपूर्ण हुन्छ भन्ने थाहा पाउँछन् । मृत्युसँग लड्न चाहेर वा नचाहेर पनि उनीहरु तयार हुनैपर्छ ।
क्यान्सर लागेपछि अस्पतालको चक्कर
क्यान्सर भएको थाहा भएपछि उपचार नगराई सुख छैन । कसरी क्यान्सरलाई विफल बनाउने, कस्तो उपचार गर्ने ? कहाँ गर्ने ? यसकै दौडधुप सुरु हुन्छ ।
नेपालमा क्यान्सरका सीमित अस्पताल छन् । अस्पताल धाएर पुग्यो तर उपचार गराउन समय पाउन कठिन भएको अवस्थाबाट कतिपय बिरामी गुज्रिन्छन् ।
यस्तोमा कतिपय छिमेकी, आफन्तले देश बाहिर लग्ने सुझाव दिन्छन् । सबैले आफूले जाने, सुने र बुझेका अनुसार सल्लाह र सहयोग दिन्छन् । उपचार सुरु भएपछि समय र खर्चको खाका लम्बिंदै जान्छ । हजारौंबाट सुरु भई लाखौं खर्च हुन्छ ।
प्रत्येकपटक अस्पतालभित्र पाइला टेक्दा थोरैथोरै गर्दै परिवार बिस्तारै आर्थिक रुपमा टाट पल्टिंदै जान्छन् ।
परिवार पनि वाक्कदिक्क भएर थाकिसक्छन् । तर यो भावना बिरामी अगाडि देखाउन सक्दैनन् । यस्तोमा क्यान्सरका बिरामीलाई घरमै हेरचाह गर्ने व्यवस्था ‘होम केयर’ पनि नेपालमा छ ।
कस्तो अवस्थामा आवश्यक होम केयर ?
क्यान्सरका बिरामी र परिवार अस्पताल जान सम्भव नहुन सक्छ । अस्पताल लगेर पनि बिरामी भर्ना गरेर केही बिरामीको स्वास्थ्य सुधार हुँदैन भने यो सेवा प्रभावकारी हुन्छ ।
यदि अस्पतालको खर्च धान्ने अवस्था नहुँदा, हेरचाह गर्ने व्यक्ति नहुँदा र उपचारले पनि सुधार हुन नसक्ने अवस्थामा बिरामीले होम केयर चाहन्छन् । होम केयर सेवा तीन खालका हुन्छन् ।
होम हेल्थ केयर
दक्ष लाइसेन्स भएको चिकित्सक, नर्स वा स्वास्थ्यकर्मीले घरमा आएर औषधि उपचार गरिन्छ । जसमा रगतको नमुना संकलन, आवश्यक सल्लाह र सहायता समावेश हुन्छ ।
पर्सनल केयर
यस अन्तर्गत तालिमप्राप्त सहयोगीले बिरामीको दैनिकी कार्यमा मद्दत गर्छन् । जस्तो कि समयमा औषधि खुवाउने, लुगा फेरिदिने, नुहाइदिने, घाउ सफाइ गरिदिने, ओछ्यानमा सुताउने, उठ्न, बस्न, हिंडन मद्दत गर्ने, बेड मिलाइदिने र खाना खुवाउने काम पर्छन् ।
होस्पाइस केयर : बिरामीको न्यूनतम दैनिक आवश्यकता पूरा गर्ने, खान सक्ने जति खान खान दिने, बिरामीलाई ओछ्यानमा कोल्टे फेर्न मद्दत गर्ने, बिरामीको दिसा-पिसाबको व्यवस्था गरिदिने हुन्छ ।
फाइदा
– अस्पतालमा अनिवार्य जान र भर्ना हुनु नपर्ने
– पारिवारिक वातावरणमा न्यूनतम उपचार पाउने
– आफ्नै घरभित्र सुरक्षित महसुस गर्ने
– बिरामी डिप्रेसनमा नजाने
– आर्थिक खर्च न्यून हुने
– अस्पतालको कोलाहलको वातावरण झेल्नु नपर्ने
– परिवारका सदस्यले आफ्नो दैनिक रोजगार वा जागिर जान पाउने
– परिवारका सदस्यले स्वास्थ्य सम्बन्धी नयाँ सीप र ज्ञान सिक्न पाउने
– बिरामी र परिवारका सदस्यको मनोबल बढ्ने
– बिरामी र कुरुवाको यातायात खर्च बच्ने ।
तर यो भन्दा प्रभावकारी उपचारका लागि भने अस्पतालको उपचार नै सर्वमान्य हुन्छ ।
बेफाइदा पनि
– बिरामी अस्पतालको विशेष सुविधाबाट वञ्चित हुने
– विशेष रगत परीक्षण, एक्स-रे, अल्ट्रासाउण्ड, इको जस्ता सेवा घरमा गर्न नमिल्ने
– आकस्मिक सेवा घरभित्र दिन सम्भव नहुने
होम केयर सर्भिस लिने कि नलिने भन्ने निर्णय नितान्त बिरामी र परिवारका सदस्यको हुन्छ । बिरामीको अवस्था, समय र परिस्थिति जे भए पनि सेवा लिने र स्वास्थ्य सेवा दिने दुवैले आफ्नो समझदारी र यकिन साथ कार्य गर्नुपर्छ । कुनै पनि पक्षले आफ्नो धर्म छाड्नु हुँदैन ।