साढे तीन घण्टा लगाएर भेरीमा जटिल खालको पिट्यूटरी ब्रेन ट्युमरको सफल शल्यक्रिया

यस खालको शल्यक्रियालाई मेडिकल साइन्समा दुलर्भ तथा जटिल शल्यक्रिया मानिने गरिन्छ ।


    • स्वास्थ्य पेज

  • २४ भाद्र २०८१, सोमबार

बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै न्यूरोसर्जन डा.सुबोध गौतम । तस्विरः प्रियास्मृति ढकाल

नेपालगन्जः पश्चिम नेपालको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पताल नेपालगन्जमा पहिलो पटक नाकको प्वाल मार्फत दूरबिन विधिद्धारा पिट्यूटरी ब्रेन ट्युमरको शल्यक्रिया सफलतापूर्वक गरिएको छ । जटिल खालको पिट्यूटरी ब्रेन ट्यूमरको अत्याधुनिक प्रविधिको प्रयोग गरि नाकको प्वालमा दूरबिन छिराएर शल्यक्रिया गरिएको हो ।

न्यूरोसर्जन डा. सुबोध गौतम र ईएनटी सर्जन डा. सगुन श्रेष्ठको नेतृत्वको टोलिले बर्दिया गुलरिया नगरपालिका वडा नं.१२ भैसाहीकी ५० वर्षीया सुप्नी थारुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । यस खालको शल्यक्रियालाई मेडिकल साइन्समा दुलर्भ तथा जटिल शल्यक्रिया मानिने गरिन्छ ।

डा.गौतमले स्वास्थ्य पेजलाई भने–‘यो शल्यक्रिया काठमाडौं उपत्यका बाहिर बिरलै हुने गर्दछ । पश्चिम नेपालका सरकारी अस्पतालमा गरिएको यो पहिलो शल्यक्रिया हो ।’ उपचारमा संग्लन न्यूरोसर्जन डा.गौतमका अनुसार पिट्यूटरी म्याक्रोएडेनोमा ट्युमर दिमागको बीचमा अवस्थित पिट्यूटरी ग्रन्थीको एक प्रकारका नफैलिने खालको क्यान्सर हो ।

यस ट्युमरको आकार बढ्दा यसले वरिपरिका स्नायुतन्त्रमाथि दबाब पार्न सक्छ । जसले गर्दा बिरामीमा दृष्टि धमिलो हुने, टाउको दुख्ने, थकान महसुस हुने, हर्मोनको असन्तुलन हुने र अन्य शारीरिक समस्याहरू समेत निम्त्याउछ। अन्ततः आँखाको ज्योति नै गुम्ने खतरा समेत हुन्छ । सुप्नी थारुको अवस्था पनि गम्भीर बन्दै गएको थियो ।

सुप्नीलाई तीन महिनाअघि मस्तिष्कमा रगत जम्ने (ब्रेन हेमरेज) समस्या भएर भेरी अस्पतालमै उपचार भइरहेको थियो । डा. गौतमले भने–‘नियमित उपचार फलोअप कै क्रममा बिरामीले दृष्टि कमजोर हुँदै गएको कुरा गरेपछि  थप परीक्षण गर्दा पिट्यूटरी ट्युमर रहेको देखियो । हामीले विरामीको नाकको प्वालमा दूरविन छिराएर अप्रशेन गर्‍यौ ।अहिले बिरामीको अवस्था समान्य बन्दै गएको छ । आइसीयूबाट आजमात्रै वार्डमा सारिसकेका छौ।’

सुप्नीलाई भदौं १३ गते भेरीमा भर्ना गरिएको थियो । १६ गते शल्यक्रिया गरिएको हो । सुप्नीलाई हिडडुलमा समस्या थियो । करिव एक महिना कोहलपुर नगरपालिका वडा नं.९ भवानीपुरको कौशिल्या अस्पतालमा फिजियोथेरापी समेत गरिएको थियो । सुधार भने भएको थिएन ।

तर डा.गौतम नेतृत्वको टोलिले रोगको पहिचान गरेर शल्यक्रिया गरिएसँगै सुप्नी अहिले हिड्डुल गर्न थालेको र आँखा पनि पहिलेको भन्दै राम्रो देख्ने अवस्थामा पुगेको जवाइ गणेश चौधरीले स्वास्थ्य पेजलाई बताए । यस खालका अप्रेशनहरु नेपालमा प्राय काठमाडौँ मात्रै हुने गर्दछन् ।

सुप्नीलाई पनि चिकित्सकहरुले सुरुमा काठमाडौं जान सुझाएका थिए । तर आर्थिक समस्याका कारण उनलाई काठमाडौं लग्ने अवस्था थिएन । ‘एंडोस्कोपिक पिट्यूटरी सर्जरी जटिल र विशेषज्ञताको आवश्यकता पर्ने शल्यक्रिया हो । यसलाई सफलतापूर्वक सम्पन्न गर्नु हाम्रो टिमका लागि गौरवको कुरा हो’–शल्यक्रियामा संग्लन नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.सगुन श्रेष्ठले भने ।

करिब साढे तीन घन्टा लगाएर गरिएको उक्त शल्यक्रियामा एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डे, डा. विशाल, नर्सिङ स्टाफहरु तारा, आशा, करिमा लगायत सहभागि थिए ।

  • २४ भाद्र २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech