नरैनापुरमा जापानीस इन्सेफलाइटिस देखियो, बिरामीको भेरीमा उपचार चल्दै

जापानीज इन्सेफलाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जीउ काम्ने र वान्ता लागेको जस्तो लक्षण देखापर्ने भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे बताउँछन् । जापानीज इन्सेफलाइटिसको निश्चित कुनै उपचार नभएको डा. पाण्डे बताउँछन् । उनका अनुसार यसको लक्षण अनुसारको उपचार गरिन्छ ।


    • प्रियास्मृति ढकाल

  • २४ भाद्र २०८१, सोमबार

नेपालगन्जः बाँकेको नरैनापुरका एक जना बालिकामा जापानीस इन्सेफलाइटिस पुष्टि भएको छ । नरैनापुर गाउँपालिका वडा नं.१ मतहनिया गाउँकी ९ वर्षीया बालिकामा जापानीस इन्सेफलाइटिस पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिए ।

भदौ ८ गते टाउको दुख्ने, ज्वरो आउने लगायतको स्वास्थ्य समस्या देखिएपछि ती बालिकालाई स्थानीय मेडिकलमा उपचार गरिएको थियो । तर बालिकाको स्वास्थ्यमा सुधार नआएपछि दुई दिन पछि भदौ १० गते उनलाई भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।

जापानीस इन्सेफलाइटिससँग मिल्दोजुल्दो लक्षण देखिएपछि ल्याव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको शाहीले बताए । भेरी अस्पतालको पेडियाट्रिक वार्डमा उपचारत उनको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्काले स्वास्थ्य पेजलाई जानकारी दिइन् । ‘अहिले बालिकाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ’ उनले भनिन् ।

ती बालिकालाई करिव एक हप्ता आइसीयूमा राखेर उपचार गरिएको थियो । उनलाई आइतवार वार्डमा सारिएको हो । ‘अस्पताल ल्याउँदाको अवस्था भन्दा केही सुधार भएको छ उनले भनिन्–‘एमआरआइ वा सिटिस्क्यान गर्ने तयारीमा छौं । त्यसपछि थप कुरा भन्न सकिन्छ ।’

ती बालिकालाई जापानीस इन्सेफलाइटिस विरुद्धको खोप लगाएको/नलगाएको बारे थाहा हुन नसकेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीको भनाइ छ । जापानीस इन्सेफलाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइनु सक्नु पर्ने हुन्छ । तर स्वास्थ्य क्षेत्रको पहुँच भन्दा बाहिर जस्तै रहेको विकट यो ठाउँका अधिकांश मानिसहरुले खोप लगाए/नलगाएको बारे स्वयम स्वास्थ्यकर्मीहरु समेत जानकार छैनन् ।

नरैनापुरमा केही दिन अघि मृत्यु भएका ५ जना व्यक्तिहरुमा पनि मृत्यु अघि उच्च ज्वरो, टाउको दुखाई, वान्ता र झाडापखालाको लक्षण चिन्ह देखिएको थियो । उनीहरुको मृत्युको ठोस कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । न त उनीहरुको कुनै जाँच गरियो । न त पोष्टमार्टम । केवल परिवारले दिएको विवरणका आधारमा झाडापखालाकै कारण मृत्यु भएको भनिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

उस्तै चिन्ह लक्षण देखिएको ती बालिकामा जापानीस इन्सेफलाइटिस पुष्टि भएपछि भने स्वास्थ्यकर्मीहरुले उनीहरुको मृत्यु पनि झाडापखालाबाटै हो भन्ने अवस्थामा शंका उत्पन्न भएको बताएका छन् । ‘पानीको ल्याव परिक्षण गर्दा किटाणु रहित छ । हैजा पनि छैन कार्यालय प्रमुख शाहीले भने–‘झाडापखालाका कारण तत्काल मृत्यु हुने अवस्था रहँदैन । उनीहरुको मृत्यु पनि कतै जापानीस इन्सेफलाइटिस हुन सक्छ यद्यपी कुनै चेकजाँच नगरिएकाले पुष्टि गर्ने अवस्था छैन ।’

जापानीस इन्सेफलाइटिसका केसहरु नदेखिरहेको अवस्थामा बाँकेको विकट नरैनापुरकी बालिकामा पुष्टि भएसँगै स्वास्थ्यकर्मीहरुको ध्यान खिचिएको छ । सुँगुर र चराहरुमा जापानीज इन्सेफलाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ ।

यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने चिकित्सकहरु बताउँछन् । जापानीज इन्सेफलाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जीउ काम्ने र वान्ता लागेको जस्तो लक्षण देखापर्ने भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे बताउँछन् ।

गम्भीर रुपमा असर पारेमा कोमा (बेहोस अवस्था) मा पुर्‍याउन सक्ने हुन्छ । जापानीज इन्सेफलाइटिसको निश्चित कुनै उपचार नभएको डा. पाण्डे बताउँछन् । उनका अनुसार यसको लक्षण अनुसारको उपचार गरिन्छ ।

यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरुमा लाक्षणिक उपचारपछि बिस्तारै ठीक हुन्छन् । तर जसको प्रतिरोधात्मक क्षमता कम छ । एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणालीलाई हमला गर्ने रोग भएकाहरुमा भने आईसीयुदेखि भेन्टिलेसनमै जाने सम्भावना हुन्छ ।

प्रतिरोध क्षमताले लड्न सक्ने र समयमै उपचार पाइएन भने ज्यानै जाने जोखिम समेत रहने उनको भनाइ छ । यो भाइरस विरुद्ध लड्ने एउटै बलियो संयन्त्र जापानी इन्सेफलाइटिस विरुद्धको खोप रहेको उनको भनाइ छ । ‘रोग लाग्नै नदिनका लागि खोप लगाउने हो उनी भन्छन्–‘लागि सकेपछि लाक्षणिक उपचार नै गर्ने हो ।’

जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाएर यो रोगको जोखिम कम गर्न सकिने चिकित्सकहरु बताउँछन् । यसका लागि खोपहरू पनि उपलब्ध छन्, जसले संक्रमणको जोखिम कम गर्न वा संक्रमण भएमा गम्भीर रोगको जोखिमबाट जोगाउन मद्दत गर्न सक्छ । यस बाहेक लामो बाहुलाको सर्ट र प्यान्ट लगाउने, घर वरपर सरसफाइ गरी लामखुट्टेको प्रजनन् वृद्धि रोक्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

  • २४ भाद्र २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech